साप्ताहिक संवाददाता
अन्डरडग टिम
उद्घाटन खेलकै क्रममा पनि त्यो देखियो । समूह ‘ए’मा रहेको रसिया फिफा बरियतामा सबैभन्दा पुछार अर्थात् ७० औं स्थानको टिम थियो । मैले उक्त उद्घाटन खेल लुजनिकी स्टेडियममा प्रत्यक्ष हेरें । उक्त खेलमा रसियाले साउदी अरेबियामाथि ५–० को जित निकाल्यो, त्यो खेल सबैका लागि अप्रत्याशित थियो । दोस्रो खेलमा रसियाले इजिप्टमाथि ३–० को जित निकाल्यो । स्पेनजस्तो टिकीटाका शैलीको उत्कृष्ट फुटबल खेल्ने तथा सन् २०१० को विश्वविजेता स्पेनलाई पनि रसियाले नकआउट चरणबाटै घर पठायो । यस्तै अर्जेन्टिनालाई ३–० को अन्तरले हराउने क्रोएसिया पनि अन्डरडग टिमका रूपमा देखा पर्यो । धेरैको अपेक्षाविपरीत क्रोएसिया फाइनलसम्मै पुग्यो ।
यस्तै, एसियाली देश जापानले पनि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्यो । समूह चरणको पहिलो खेलको चौथो मिनेटमा कोलम्बियाका खेलाडीले रेडकार्ड तथा जापानले पेनाल्टी पाए । कोलम्बियामाथि २–१ को जितपछि जापान दक्षिण अमेरिकी टिमलाई हराउने पहिलो एसियाली टिम बन्यो । जापान नकआउट चरणमा बेल्जियमसँगको खेलमा पनि एसियाली टिमहरू युरोपेली टिमभन्दा कम नभएको छाप छोड्न सफल भयो । अर्को एसियाली टिम इरानले पनि उत्कृष्ट प्रदर्शन गर्यो । उसले समूह चरणमा मोरोक्कोलाई पराजित गर्यो भने सन् २०१६ को युरोपेली च्याम्पियन पोर्चुगलसँग बराबरी खेल्यो ।
दक्षिण कोरियाले सन् २०१४ को विश्व च्याम्पियन जर्मनीलाई २–० ले पराजित गर्दै सनसनी मच्चायो । सन् २०१६ को युरोकपदेखि कम जनसंख्या भएको देश आइसल्यान्ड ब्रेक वालजस्तो डिफेन्स भएको गोल गर्न एकदम गाह्रो टिमका रूपमा चर्चित भएको थियो । पहिलो खेलमा अर्जेन्टिनासँग १–१ को बराबरी गरेर आइसल्यान्डले त्यही छाप देखायो । त्यसैले विश्वकप–२०१८ मा रसिया, क्रोएसिया, दक्षिण कोरिया, जापान तथा आइसल्यान्ड अन्डरडग टिम रहे ।
खेलाडीहरूको उदय
प्रतिभावान युवा खेलाडीका रूपमा फ्रान्सेली टिमबाट केलियन एमबाप्पेको उदय भयो । एमबाप्पेले फाइनल समेत गरेर चार गोल गर्दै आफू उत्कृष्ट युवा खेलाडी भएको दरिलो प्रमाण दिए । पेरुविरुद्धको जितमा एमबाप्पेको गोल निर्णायक रह्यो । नकआउट चरणमा भेट भएका फ्रान्स र अर्जेन्टिना दुवैलाई यो विश्वकपको दाबेदार मानिएको थियो ।
फ्रान्सको टिमवर्क उत्कृष्ट भए पनि अर्जेन्टिना सजिलै हार्दैन भन्ने अपेक्षा थियो । यो विश्वकपको वान अफ द बेस्ट गेम नै त्यही हो । त्यही खेलबाट एमबाप्पे असाधारण खेलाडीका रूपमा उदाए । उनी सन् १९५८ पछि पहिलो पटक पेलेसँगै युवा उमेरमै गोल गर्ने खेलाडीका रूपमा स्थापित भए । एमबाप्पेको दुई गोलको मदतले फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेर क्वाटरफाइनलमा पुग्यो । एमवाप्पेले लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेयमारजस्ता खेलाडीहरूको प्रदर्शनलाई छायाँमा पारे । फ्रान्सका एन्टोनियो ग्रिजम्यानले त विश्वकपभरि नै फ्रान्सका लागि ‘आर्किटेक्ट’को भूमिका निर्वाह गरे । उनले पनि विश्वकपमा फ्रान्सका लागि ४ गोल गरे ।
यस्तै, स्वर्णिम पुस्ता मानिएको बेल्जियमका गोल्डेन ग्लोब्स विजेता गोलकिपर थिवाउट कोर्टिज, इडेन हाजार्ड तथा केभिन ब्रुइन पनि चम्किए । कोस्टारिकाका गोलकिपर नाभासले वान म्यान सोजस्तै प्रदर्शन गरे, जसका कारण कोस्टारिकाले कम गोल खायो ।
क्रोएसियाका लुका मोड्रिचले सबैलाई प्रभावित तुल्याए । त्यसैले उनले विश्वकपकै उत्कृष्ट खेलाडीका घोषित हुँदै गोल्डेन बल जिते । यस्तै क्रोएसियाकै इभान राकाटिच, पेरिसिस आदि खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरे । कोलम्बियाका युरिन मिनाले यो विश्वकपमा हेडमार्फत ३ गोल गरेर आफूलाई नयाँ स्टारमा रूपमा उभ्याए । इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डको प्रदर्शन पनि उत्कृष्ट रह्यो । गोल्डेन बुट विजेता हेरी केनको प्रदर्शन पनि हेर्न लायक थियो । केन सन् १९९० पछि इंग्ल्यान्डका लागि विश्वकपमा ह्याट्रिक गर्न सफल भए । प्रतियोगितामा दुई वटा ह्याट्रिक भए, एउटा रोनाल्डो र अर्को हेरी केनको ।
फ्लप स्टार
विश्वकपमा १० गोल गरिसके पनि जर्मनीका थोमस मुलर यो विश्वकपमा फ्लप सावित भए । सन् २०१० को विश्वकपमा गोल्डेन बुट जितेका मुलरको टिम समूह चरणबाटै बाहिरियो । सन् २०१४ को गोल्डेन बुट जितेका कोलम्बियाका जेम्स रोग्ड्रिग्वेज चोटका कारण मैदानमा ओर्लन सकेनन् । त्यसैले उनीबाट पनि अपेक्षा अनुरूपको प्रदर्शन भएन ।
पोल्यान्डका रोबर्ट लेवाडोस्की पनि असफल भए । स्पेनका गोलकिपर डेभिड डे गिया चर्चित क्बल म्यानचेस्टरका गोलकिपर भए पनि उनले प्रभाव जमाउन सकेनन् । अर्जेन्टिनाका निकोलस ओटामेण्डी पनि असफल रहे ।
अर्जेन्टिनाका प्लेमेकर मेसी तथा ब्राजिलका स्ट्राइकर नेयमारले चर्चाअनुसार प्रदर्शन गर्न सकेनन् । रोनाल्डोले एक ह्याट्रिकसहित ४ गोल गरेर सकारात्मक चर्चा बटुले पनि समग्रमा उनको प्रदर्शन पनि चर्चाअनुसार भएन । मेसीका लागि विश्वकप उति राम्रो रहन सकेन । भलै, अर्जेन्टिनालाई नकआउट चरणमा पुर्याउन नाइजेरियाविरुद्धको खेलमा उनले उत्कृष्ट गोल गरेका थिए ।
आशा गरिएका टिम
यो विश्वकपमा सबैभन्दा आशा गरिएका टिम अर्जेन्टिना, ब्राजिल, जर्मनी, बेल्जियम, फ्रान्स तथा स्पेन नै हुन् । विश्व च्याम्पियन बन्ने आशा गरिएका टिमहरूबाट नै विजेता निस्कियो । आशा गरिएका टिम बाहिरबाट अनपेक्षित रूपमा एउटा अन्डरडग टिम फाइनल पुग्यो— क्रोएसिया । इंग्ल्यान्डले फाइनल खेल्ने अपेक्षा गरिएको थियो, उसले त्यो आशा पूरा गर्न सकेन् । ब्राजिल क्वाटरफाइनलबाट बाहिरियो । अझ स्पेन त नकआउट चरणबाटै बाहिरियो । यो विश्वकपमा सबैभन्दा असफल टिम जर्मनी रह्यो । जर्मनीले समूह चरण नै पार गर्न सकेन् । हरेक फुटबलप्रेमीले फ्रान्सबाट आशा गरेका थिए । युवा टिम फ्रान्सले त्यहीअनुसारको नतिजा निकाल्यो । आशा गरिएको अर्काे मुख्य टिम बेल्जियम थियो, जसको प्रदर्शन अपेक्षाअनुकूल नै रह्यो ।
सेमिफाइनलको सनसनी
फ्रान्स र बेल्जियमको सेमिफाइनल साँच्चिकै गाह्रो थियो । उक्त खेल अघि फ्रान्स ४–२–३–१ मा खेलिरहेको थियो भने बेल्जियम ३–४–३ मा खेलिरहेको थियो । दुवै टिम फेबरेट र ५०/५० प्रतिशत अवसर भएका टिम थिए । फ्रान्सलाई रोक्नलाई हुन सक्छ बेल्जियमले आफ्नो रणनीति बदल्दै ३–५–२ को रणनीति अँगाल्दै हाजार्ड र लुकाकुलाई मात्र फरवार्डमा राख्यो । एमबाप्पेलाई फलानी र चार्लीले डबल मार्किङ गर्न थाले । त्यही कारणले उनीहरू आफ्नो स्वभाविक लयबाट वञ्चित भए । त्यसकारण त्यो दिन बेल्जियमले आफ्नो स्वभाविक खेल खेल्न सकेन् । फ्रान्सले ५१ औं मिनेटमा स्यामुअल उम्टीको गोलबाट अग्रता लियो र त्यही गोल नै निर्णायक सावित भयो ।
इंग्ल्यान्ड र क्रोएसियाबीचको अर्को सेमिफाइनलमा इंग्ल्यान्डले ५ औं मिनेटमा गोल गर्दै अग्रता लियो । क्रोएसियाले अघिल्ला दुई खेलमा संघर्षपूर्ण जित हासिल गरेको थियो, खेलाडीहरू पनि थाकेका थिए । जसका कारण इंग्ल्यान्डले जित्ने अनुमान धेरैको थियो, तर क्रोएसियाले ६८ औं मिनेटमा गोल फर्काएर बराबरी गर्यो । त्यसपछि इङ्ल्यान्डले चाहेर पनि केही गर्न सकेन । साउथगेटले सही निर्णय लिन सकेनन् । फलस्वरूप खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयमा क्रोसियाले काउन्टर एट्याकका क्रममा गोल हान्यो, जुन निर्णायक सावित भयो । खेलको सुरुदेखि नै इङ्ल्यान्ड जितको हकदार त थियो तर हुन सकेन ।
फाइनलको महाभिडन्त
क्रोएसिया संघर्ष गरेर फाइनलससम्म पुगेको थियो । फ्रान्स तुलनात्मक रूपमा कम संघर्षमै फाइनल पुगेको थियो । फ्रान्सले दुई अमेरिकी टिम उरुग्वे र अर्जेन्टिनालाई हराएको थियो । बेल्जियमजस्तो सबै हिसाबले मिलेको टिम पनि सेमिफाइनलमा उसको सिकार भयो । दुई पूर्व विजेता तथा एउटा अहिलेको सबैभन्दा उम्दा टिमलाई हराउनु चानचुने कुरा थिएन् । सुरुदेखि नै विश्वकपका दाबेदारहरूलाई उपाधि होडबाट एकपछि अर्को गर्दै पछारेपछि फ्रान्स विश्वकप उपाधिको हकदार भयो । फ्रान्सको टिममा अनुभवी साथै प्रतिभावान युवा खेलाडीको समिश्रण थियो । पूरै फ्रान्सेली टिममा खोट लगाउने ठाउँ थिएन । क्रोएसिया मिडफिल्ड कम्प्याक्ट गरेर खेल्ने टिम हो । सबैले सोचेकै जस्तो खेल भएको हो । सुरुको १० मिनेट फ्रान्स निकै दवावमा थियो । कारण फ्रान्समा जित्नैपर्छ भन्ने भावना थियो । उक्त दबाबकाबीच १८ औं मिनेटमा फ्रिकिकबाट हानेको बल आत्मघाती गोलमा परिणत भयो जसले फ्रान्सेली टिमको दबाब कम गर्यो । यद्यपि त्यसको १० मिनेटमै क्रोएसियाले गोल फर्कायो ।
क्रोएसियाले दबाब दिए पनि एट्याकिङको हिसाबले फ्रान्स खतरनाक देखियो । भिआरको माध्यमबाट फ्रान्सले पेनाल्टीको मौका पायो ३८ औं मिनेटमा जसलाई ग्रिजम्यानले चुकाएनन् । क्रोएसियनहरूले यति चाँडै आफ्नै पोष्टमा बल आइपुग्छ भनेर सोचेका थिएनन् । त्यो पेनाल्टी गोल नै क्रोएसियाका लागि दुर्भाग्य सावित भयो । हाफटाइमपछि फ्रान्सले थप २ गोल गर्दै क्रोएसियालाई खेलमा फर्कने मौका नै दिएन । ७९ औं मिनेटमा क्रोएसियाले फ्रान्सका किपरको गल्तीमा गोल गरे पनि त्यतिबेलासम्म धेरै ढिला भैसकेको थियो । यो सँगै फ्रान्स ४–२ गोलको अन्तरमा विश्वकप जित्ने चौथो देश बन्यो । यसअघि १९३० मा उरुग्वे, १९३४ मा इटाली तथा १९६६ मा इंग्ल्यान्डले ४–२ को अन्तरमा विश्वकप जितेका थिए ।
(कुराकानीमा आधारित)