आधुनिक समाजबाट विरक्तिएका जापानका मासाफुमी नागासाकीले एक निर्जन टापुमा २९ वर्ष बिताएका छन् । कुनै बेला मनोरञ्जनको क्षेत्रमा कार्यरत नागासाकी सन् १९८९ देखि जापानकै एक टापुमा जीवन बिताइरहेका थिए । ८२ वर्षीय नागासाकीले जापानको सोतोबानारी टापुलाई आफ्नो बासस्थान बनाएका हुन् । मुटु आकारको उक्त द्वीप आधा किलोमिटर मात्र फराकिलो छ ।
पिउने पानी र खानाको व्यवस्था नभएको उक्त द्विपमा उनलाई चाहिने खाना र पानी लिन भने उनी नजिकको मानवीय बस्ती पुग्थे ।
टापुमा कोही नभएका कारणले भन्दा पनि प्रकृतिले मानिसलाई निर्वस्त्र बस्न नै लगाएका कारण उनी त्यहाँ निर्वस्त्र बस्छन् । आफू त्यहाँ पुगेको केही समयपछि द्वीपमा आएको आँधीले उनका सबै सामान उडाएपछि उनी निर्वस्त्र बस्न थालेका हुन् ।
स्थानीय माझीहरू पनि जान डराउने उक्त द्वीपमा एउटा वृद्ध मानिस बसोबास गर्ने चर्चा चलेपछि सन् २०१२ मा उनको समाचार बाहिर आएको हो । एक पर्यटकले उनी बिमारी परेको खवर प्रहरीलाई सुनाएपछि हालै उनको उद्धार गरेर सरकारी अस्पतालमा पुर्याइएको छ ।