अघिल्लो वर्षको भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामै अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीले निकट भविष्यमै विवाह बन्धनमा बाँधिने कुरा सार्वजनिक गरेका थिए । दुवैले साप्ताहिकसग अन्तरंग कुराकानी गर्दै केही समयभित्रै इन्गेज्मेन्ट गर्ने अनि त्यसको केही समयपछि विवाह गर्ने घोषणासमेत गरेका थिए । उक्त अभिव्यक्ति दिएको झन्डै चार महिनापछि उनीहरूले परिवारका सदस्यहरूको उपस्थितिमा औंठी साटासाट गरेका छन् ।
चलचित्र ‘कथा काठमाडौं’ को छायांकनका क्रममा नजिकिएको यो जोडी पछिल्लो एक वर्षदेखि खुलम–खुल्ला प्रेममा थियो । शनिबार इन्गेज्मेन्ट गरेको यो जोडीको विवाह अर्को वर्ष मात्र हुने बताइएको छ । इन्गेज्मेन्ट गरेको भोलिपल्टै गत शनिवार अमेरिका उडेकी प्रियंका अझै एक साताभन्दा बढी उतै रहनेछिन् । प्रियंका अमेरिकामा अर्को साता हुने मिस नेपाल भुटान प्रतियोगिताको कोरियोग्राफी गर्न अमेरिका पुगेकी हुन् । इन्गेज्मेन्टपछि साप्ताहिकका कृष्ण भट्टराईसँग अनलाइन वार्ता गर्दै प्रियंकाले इन्गेज्मेन्टदेखि विवाह सम्मका केही योजना सार्वजनिक गरेकी छिन् ।
इन्गेज्मेन्ट गरेपछि औपचारिक रुपमा बन्धनमा बाँधिनुभयो हैन ?
इन्गेज्मेन्टपछि हाम्रो सम्बन्धले औपचारिक रुप पाएको छ अर्थात् इन्जेग्मेन्ट समाजका लागि सम्बन्धको औपचारिक रूप हो । सम्बन्धलाई नाम दिने चलन छ हाम्रो समाजमा । त्यो नाम छ अब हामीसँग ।
विवाहको मितिका बारेमा केही बताउन सक्नुहुन्छ ?
विवाहको मिति फिक्स भैसकेको छैन । हाम्रो परिवारका धेरैजसो सदस्य विदेशमा हुनुहुन्छ । हाम्रो विवाहमा सबैलाई समेट्ने योजना छ । त्यसका साथै यो वर्ष मेरो र आयुष (आयुष्मानलाई प्रियंका मायाले आयुष भन्छिन्) को वर्क सेड्युल पनि पूरै प्याक छ । त्यसैले अर्को वर्ष सबैको समय मिलाएर विवाहको तिथि जुराउने छौं ।
इन्गेज्मेन्ट जस्तै विवाह पनि गुपचुप हुने कि झकिझकाउ शैलीमा गर्ने योजना छ ?
हामीले ‘डेस्टिनेशन वेडिङ’ (केटा पक्ष र केटी पक्ष आफ्नो सहर वा देशभन्दा बाहिर कुनै निश्चित स्थानमा गएर गरिने विवाह) गर्ने प्लान बनाएका छौं । हाम्रो विवाह गुपचुप शैलीमा हुँदै हुँदैन, मज्जाले अनाउन्समेन्टका साथ हुनेछ ।
विवाहपछि अभिनयमा सक्रिय हुने–नहुने विषयमा के सोच्नुभएको छ ?
अभिनय त कहिले पनि छुट्दैन । मेरो काम मेरो पहिलो प्रेम हो । विवाह गर्दैमा केही पनि परिवर्तन हुँदैन । म केवल एउटा औपचारिक बन्धनमा बाँधिनेछु, बाँकी केही चेन्ज हुँदैन ।
इन्गेज्मेन्टपछि आफूमा केही परिवर्तन पाउनुभएको छ कि ?
इन्गेज्मेन्टपछि आफूमा खासै केही परिवर्तन आए को पाएकी छैन । आफूले मन पराएको मान्छेलाई छिट्टै जीवन साथी बनाउँदैछु, त्यसले थप हौसला, शक्ति र कन्फिडेन्स दिएको छ । बाँकी त पहिलेजस्तै सामान्य नै छ ।