साप्ताहिक संवाददाता
नक्षत्र साउनको प्रभुत्व रहेको महिना साउन चतुर्मासको पहिलो महिना भएकाले व्रत, उपासना तथा विशेष पूजा गर्ने प्रचलन छ ।
चतुर्मासको चार महिना सकेसम्म शाकाहारी खाना खानुपर्छ । नसके साउन महिनाभर, त्यो पनि नसके साउनको सोमबार मांसहार बार्ने विधान छ ।
पशुपन्छी एवं जलचरहरूको अण्डा पार्ने र बच्चा हुर्काउने समय भएकाले पशुपन्छी नमारी वृद्धि गर्ने उद्देश्यले पनि शाकाहारी खाना आवश्यक मानिएको हो ।
साउन महिनाको पूर्णिमामा नरिवलको दुग्ध शिवलाई चढाएर प्रसाद खाइन्छ ।
शाकाहारी खाना, दूध, दही, नरिवल खाने तर मुला, गान्टेमुला नखाने चलन छ । यसैगरी यो महिनामा गोलभेंडा, कुभिन्डो, भान्टा, लसुन, प्याज आदिलाई पनि बिटुलो मानिन्छ ।
साउनको पहिलो आइतबार दम्पतीले वीरपस्ली व्रत बसेर सम्पूर्ण जनावरको भलाइको कामना गर्दै साँझ फलफूल खाने चलन छ । वीरपस्ली व्रत साउन महिनामा शुद्ध शाकाहारी खाना खाएर बसिने व्रत हो । यो व्रत भारतमा बढी बसिन्छ ।