एउटा झोला हुन्थ्यो, जसलाई बोकेर जहीँतहीँ लगिन्थ्यो । लुगाफाटा, ब्रस, क्यामेरा, काइँयो, कपालमा लगाउने तेल, मुखमा लाउने क्रिम, चप्पल, आदि–इत्यादि अटाइ–नअटाइ, कोची–कोची हुलिन्थ्यो । झोलाको भुँडी अघाएर टम्म फुल्थ्यो । ठाउँ–ठाउँका सिलाइका धागा देखिन थाल्थे ।
यात्राबाट मसँगै थाकेर आउँथ्यो झोला पनि । म पल्टन्थेँ खाटमा । झोला फ्याँकिन्थ्यो अक्सर असरल्ले एउटा कुनोमा वा झुन्डिन्थ्यो कहिले कुनै मरन्च्याँसे किलोमा ।
धुलो टाँसिन्थ्यो झोलामा, टक्टक्याइनँ । दाग लाग्थ्यो, धोइनँ । चेन बिग्रिन्थ्यो, अलि–अलि बिग्रिएकोलाई टेरिनँ, पूरै नबिग्रिउन्जेल बनाइनँ । फित्ताका धागाहरू छेउबाट उक्किन थाले, मेलो नपाएर वा अल्छी वा यत्तिले काम चलिहाल्छ भन्ने ठानेर हत्तपत्त सिलाइनँ । कुनै बेला त एक साइड मात्र भए पनि बोकेर हिँडे । धेरै दिन बेवास्ता गर्ने हुँदा कुनै–कुनै बेला झोला खोतल्दा साङ्लाका बच्चाहरू पनि फुत्त निस्कन्थे ।
एक दिन झोला पूरै निकम्मा भएर निस्कियो । जति धोए पनि कतिपय पुराना दाग थिए, जुन मेटिनै मानेनन् । कट्कटाउँदो घिनलाग्दा दागहरू । पटक–पटकको सिलाइ प्रस्ट देखिने भएकाले झोलाको सौन्दर्य पनि क्षय भैसकेको थियो ।
एक दिन अचानक कतै हिँड्नुपरेको थियो । भनेका बेला त्यही झोला पनि भेटिएन । भेटियो निकै बेर खोजिसकेपछि, तर यस्तो बिद्रुप अवस्थामा कि लागेन त्यही झोला हो । मक्किन थालिसकेको । एक–दुई ठाउँ मुसाले नै काटेजस्तो लाग्ने प्वाल थिए ।
मसित नयाँ झोला थिएन । पुरानो झोला बोकेर यात्रा गर्न धेरै त अहम्ले नै दिएन । हो, त्यो बेला मलाई उक्त झोलाको खुब माया लागेर आयो । यो त्यही झोला थियो जुन मेरो दुवै काँधमा झुन्डिएर हिँड्थ्यो । मेरा हरेक आवश्यकतालाई जबरजस्ती सकी–नसकी पनि बोकिदिन्थ्यो । कहीँ कुनै चौतारीमा अडेस लाग्नका लागि कहिले सिरानी पनि बनिदिन्थ्यो । कहीँ कुनै अनकन्टार ठाउँको होटलको कोठामा साथी पनि भैदिन्थ्यो । मैले छाडेर गएँ त्यसलाई पटक–पटक, तर त्यसले मलाई छाडेर कहिल्यै गएन । हो, त्यही झोलाको माया लागेर आयो मलाई ।
त्यसलाई बोक्न तम्तयार मेरो काँध त थियो तर त्यही झोला आफू बोकिन तयार देखिएन । कति काम दिएको थियो त्यसले, जति बेकम्मा भए पनि याद आइरह्यो । बेला–बेला धोएको भए, ठीक ठाउँमा राखेको भए, त्यसरी त्यसको भारभन्दा बढी सामान नकोचेको भए... झोलाको अस्तित्वको अवसानसितै यी अपसोचहरू आफसेआफ विकसित भएर आए ।
०००
कतिपय कुरा यस्ता हुन्छन्, जो जतिखेर पनि छेवैमा भैरहँदा वास्ता–बेवास्ता हुँदैन, तिनलाई एक नजर ध्यान दिएर पनि हेरिँदैन । ‘त्यहीँ त छ नि’ भनेर त्यसलाई आफ्नै ठाउँमा बेवारिसे छाडिन्छ । ढल्न आँटेको छ भने पनि सोझ्याइन्न । भुइँमै झरेको छ भने पनि उठाइन्न । धुलो जमेको छ भने पनि पन्छाइन्न । केही खिइने चीज छ भने, खिइँदै छ भनेर पनि सम्झिइन्न । त्यसले पाउनुपर्ने आफ्नो ठाउँ दिलाउन पनि आफूलाई अघि सारिन्न ।
‘छैन’ भन्ने चीजसित निथ्रुक्क भएर रुन मन लाग्छ । ‘छ’ भन्ने चीजसित भएरै पनि सँगै हुन मन लाग्दैन ।
तर तिनै कुरा जब हराउँछन्, टुट्छन्, फुट्छन्, फाट्छन्, खिइन्छन्, नासिन्छन् वा हामीसित रहन्नन्, तब मात्र हामी त्यसलाई खुब सम्झन्छौँ । त्यसले कति काम दिएको थियो भनेर बिलौना गर्छौं । त्यसको महत्व अस्तित्व नै सिद्धिएपछि बढी हुन्छ । मागेर समय फिर्ता पाउने भए आफूले गरेको त्यो बेवास्तालाई बिगतमा गएर संशोधन पनि गर्दो हौँ ।
त्यो कुरा चाहे यी यस्तै झिना–मसिना चिज हुन् या ठूल्ठूला कुरा । जस्तो कि कसैसितको सम्बन्ध । जस्तो कि कोही आफ्नै नजीकको मान्छे । जो जतिखेर पनि उपलब्ध हुन्जेल नभएजस्तो व्यवहार गर्छौं र जो नभएपछि चाहिँ भैदिएको भए भन्ने गुनासो गर्छौं । साँच्ची, झोला त बजारमा गएपछि अर्को, अर्को नभए अझ अर्को रोजीरोजी पाइन्छ, तर सम्बन्धहरू ? सम्हालेर राख्नुस्, तिनमा धूलो नजमोस्, खिया नलागोस्, प्वाल नपरोस् ।