साप्ताहिक संवाददाता
असार महिनामा प्रदर्शन भएका अधिकांश नेपाली चलचित्र व्यावसायिक रुपमा असफल भए अर्थात् कुनै पनि चलचित्रले लगानी उठाउन सकेनन् । असार महिनामा एक्स्ट्रा माया, ए सोल्टिनी, तिमी हुन्छौ जहाँ–जहाँ, चोखो माया, वीरांगना, बाबु कान्छा, बोबी तथा यो पागल मन गरी कुल ८ चलचित्र प्रदर्शन भए ।
दु:खको कुरा, यीमध्ये वीरांगना, बोबी तथा बाबु कान्छाले औसत व्यवसाय गरे पनि बाँकी चलचित्र असफल भए । एकातिर विश्वकप फुटबलका रोमाञ्चक खेलहरुको मज्जा लिने क्रममा दर्शकहरु सिनेमा हलसम्म आउन चाहेनन् भने अर्कातिर सिनेमा हलसम्म आएका दर्शक बलिउड तथा हलिउडका ठूला चलचित्रतर्फ आकर्षित भए । यो महिना बलिउडका रेस–३ तथा सञ्जु अनि हलिउडको इन्क्रेडिबल्स–२ प्रदर्शनका कारण पनि नेपाली चलचित्रले दर्शकको साथ नपाएको अनुमान गर्न सकिन्छ ।
सलमान खानको रेस–३ का कारण असारको पहिलो साता नेपाली चलचित्र प्रदर्शन नै भएनन् । असारको दोस्रो साता पनि रेस–३ को होल्ड ओभर कायम भएका कारण प्रदर्शन भएका नेपाली चलचित्रले दर्शक पाएनन् । त्यही साता प्रदर्शन भएको हलिउड चलचित्र इन्क्रेडिबल्स–२ ले पनि दर्शकलाई आकर्षित गर्यो ।
असारको दोस्रो हप्ता दुई नेपाली चलचित्र तिमी हुन्छौ जहाँ–जहाँ तथा एक्स्ट्रा माया प्रदर्शनमा आए, यी दुवै चलचित्र बलिउड तथा हलिउडका चलचित्रको छायाँमा परे । ती दुई नेपाली चलचित्रले सिंगल थियटरमा शो पाए पनि दर्शकको साथ पाएनन् । राम्रै प्रचार–प्रसार गरेको तिमी हुन्छौ जहाँ–जहाँका मुख्य कलाकारहरु मलिना जोशी, मनीष सुन्दर आदिले दर्शकलाई आकर्षित गर्न सकेनन् । पहिलो दिन ८० वटा स्क्रिन पाएको निर्माण टिमले बताए पनि दोस्रो दिनदेखि नै चलचित्रको व्यवसाय ओरालो लाग्यो । चलचित्र एक्स्ट्रा मायाको व्यवसाय पनि राम्रो भएन । सोम माझीद्वारा निर्देशित उक्त चलचित्रमा सुस्मिता बुर्लाकोटी, अर्जुन खड्का, सनी सुनवार, सृष्टि भण्डारी, शोभा भण्डारी आदि नयाँ कलाकारले अभिनय गरेका थिए ।
असार १५ गते अभिनेता सविन श्रेष्ठको चलचित्र ए सोल्टिनी त प्रदर्शन भयो, तर सोही दिन प्रदर्शन भएको बलिउडको चलचित्र सञ्जुले यसलाई छायाँमै पारिदियो । त्यसकारण ए सोल्टिनीको पहिलो दिनको पहिलो शो नै राम्रो हुन सकेन । चलचित्र असफल भएपछि अभिनेता सविन श्रेष्ठले सञ्जु जस्तो स्तरीय चलचित्रसँग जुध्नु नै गल्ती भएको स्वीकार गरेका छन् ।
असार २२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र चोखो मायाप्रति दर्शकले रुचि नै देखाएनन् ।
दीपक लामा तामाङको निर्देशन रहेको उक्त चलचित्रमा पनि अभिनेता सविन श्रेष्ठ मुख्य भूमिकामा थिए भने उनलाई अप्सना थापा, मोहन कृष्ण पुटुवार आदि कलाकारले साथ दिएका थिए ।
निर्देशक तामाङका अनुसार चलचित्रको प्रचार–प्रसार राम्रो नहुँदा व्यवसाय पनि खस्किएको हो ।
असार २९ गते चार वटा नेपाली चलचित्र प्रदर्शन भए । मिलन चाम्सको बोबीसहित शिल्पा पोखरेल तथा अनुप विक्रम शाहीको वीरांगना, सलोन बस्नेतको बाबु कान्छा तथा विनोद न्यौपाने र ऋचा सिंह ठकुरी अभिनीत यो पागल मन एकै दिन प्रदर्शन भए । यी चार चलचित्रमध्ये बोबी तथा वीरांगनाले सन्तोषजनक व्यवसाय गरेको बताइन्छ । बोबीका अभिनेता उमेश थापाका अनुसार सत्य कथामा आधारित उक्त चलचित्रले राम्रो माउथ पब्लिसिटी पाइरहेका कारण पनि बुधवारसम्म पनि चलचित्रले राम्रै दर्शक पाइरहेको छ । उक्त चलचित्रमा उमेश थापासंगै कविता गुरुङ र विजय लामा मुख्य भूमिकामा छन् । चलचित्र बिरांगनाले त प्रदर्शन भएको दोस्रो दिन नै सफलताको केक काटेको थियो । राज बहादुर सानेको उक्त चलचित्रमा नेपालको सीमा क्षेत्रमा हुने अवैधानिक गतिविधि तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न अनि शान्ति सुरक्षाको प्रत्याभूति दिन नेपाली नारीहरूले देखाएको वीरताको गाथा समेटिएको छ ।
असारको अन्तिम साता नै प्रदर्शन भएको चलचित्र बाबु कान्छा पनि कमजोर साबित भयो । सोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, सरोजलगायतका कलाकारले अभिनय गरेका छन् । अघिल्लो शुक्रबार नै प्रदर्शन भएको चलचित्र यो पागल मनलाई पनि दर्शकले रुचाएनन् । प्रेम कथामा आधारित भए पनि यो पागल मनले दर्शकलाई सिनेमा हलसम्म तान्न सकेन । विश्वकपको फाइनल खेल खेलिनुभन्दा दुई दिनअघि प्रदर्शन भएका चार वटा नेपाली चलचित्रले सोमबारदेखि दर्शक पाउने अपेक्षा गरेका थिए, यद्यपि निर्माताले सोचेजस्तो ती चलचित्रले दर्शकको साथ पाएनन् ।