साप्ताहिक संवाददाता
अभिनेता दयाहाङ राईले अभिनय गरेका पछिल्ला केही चलचित्र असफल भए । राईका चलचित्र एकपछि अर्को गर्दै ओरालो लागिरहनुमा उनलाई नै दोष दिइयो । चलचित्रको स्क्रिप्टलाई गहन अध्ययन नगरी, जसले प्रस्ताव राख्यो उसैको चलचित्रमा अभिनय गरेका कारण दयाका चलचित्र सफल नभएको निष्कर्ष समेत निकालियो ।
अहिले आएर अभिनेता राई आफ्नो करियरप्रति निकै सचेत देखिन थालेको छन् । चलचित्र साइन गर्ने कुरामा चनाखो देखिएका दया धेरै सोचेर मात्र चलचित्रमा काम गर्न थालेका बताउन थालेका छन् । त्यसको थालनी चलचित्र ‘भैरे’ बाट गरेको दयाको दावी छ ।
राई भन्छन्– ‘लुटबाट जसरी मैले गोफ्लेको उपनाम पाएको थिएँ, त्यसैगरी मैले भैरेबाट भैरे उपनाम पाउने कुरामा ढुक्क छु ।’ दयाहाङले भैरेलाई आफ्नै टाइपको चलचित्र समेत भनेका छन् । भैरेमा अभिनेत्री सुरक्षा पन्तसँगको आफ्नो जोडी दर्शकलाई मन पर्ने दयाको भनाइ छ ।