साप्ताहिक संवाददाता
काठमाडौं सहरको फोहोर थुपार्न अस्थायी रूपमा प्रयोग गरिएको सिसडोल ल्यान्डफिल साइट भरिएको छ । धेरैलाई थाहा छैन होला यो सिसडोल भनेको के हो ? सिसडोल काठमाडौंको सुखद भविष्यको सुन्दर परिचायक हो । अहिले सिसडोल पुरिने अवस्थामा पुगेको छ अथवा भनौं केही महिनामा पुरिन थाली सक्नेछ । काठमाडौंबाट दैनिक यति धेरै फोहोर आउँछ कि डम्पिङसाइटका रूपमा सिसडोलको भविष्य अनिश्चित छ । त्यसपछि सरकारले त्यहाँ अन्तर्राष्ट्रिय स्तरको फुटबल ग्राउन्ड बनाउने पक्का छ । जस्तो कि, यसभन्दा पहिलेको मूलपानीको ल्यान्डफिल साइटलाई सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट ग्राउन्ड बनायो । अब, नेपालमा जे जस्ता र जे जति फुटबल खेल हुन्छन तीमध्ये अधिकांश महत्वपूर्ण खेल सिसडोल ग्राउन्डमा हुनेछन् । सिसडोलको नाम बदलिएर समृद्धि फुटबल कम्प्लेक्स राखिने त पक्कै छ ।
समृद्धिको यो अभियानमा काठमाडौं सहर सबैभन्दा अगाडि छ । यहाँ नपाइने वस्तु केही छैन । तपाईंमा धैर्य छ र दुर्गन्ध सहने आदत छ भने सहज ढंगले थाहा हुन्छ, काठमाडौं अन्तर्राष्ट्रिय सहर हो । यहाँका मानिसहरू थाइल्यान्डबाट प्राउन मगाउँछन्, अस्ट्रेलियाबाट खसीको मासु, भारतबाट प्याजीदेखि पचनोलसम्मका खाद्य पदार्थ, जहाँको जे खान मन छ त्यो उपस्थित छ । काठमाडौंका मानिस कति खान्छन् र के–के खान्छन् भन्ने जानकारीका लागि बेला–बेलामा सिसडोल बन्द भएको जानकारी राख्नुपर्छ । त्यो अवस्थामा हनुमानढोकाबाट दक्षिण मेडिसिटीदेखि उत्तर ग्य्रान्डी सिटीसम्म संसारभरिका खानेकुरा प्याक भएका बाक्ला कागज र टिनका डब्बाहरूको दर्शन हुन्छ ।
समृद्ध र सुखी नेपालको निर्माणमा जुन दिनदेखि पार्टीहरू जुटे, त्यही दिनदेखि काठमाडौं सहरले बायाँबाट दायाँ कोल्टे फेर्दैछ । तीन वर्षअघि वैशाख १२ गतेको भुइँचालोले धरहरा, रानी पोखरी, दरबार स्कुल, वसन्तपुरको गद्दी बैठक, हनुमान चोकतिरका मन्दिरसँगै असंख्य घर तथा भवनहरू तहस–नहस तुल्याएपछि नेपालीहरूको सातोपुुत्लो उडेको थियो । यद्यपि भुइँचालो पछि भएका तमासाहरूले मानिसको ध्यान खिच्यो । भुइँचालोपछि देशमा केही महत्वपूर्ण घटना घटे भने नाकाबन्दी र आन्दोलन समेत भए । उता, पश्चिम नेपालको कैलालीतिर पुलिस र प्रदर्शनकारीहरू मारिए । कति घाइते भए र कति पुलिसको कोपबाट जोगिन भारततर्फ निर्वासित भए । तीमध्ये एकजनाले त भूमिगत नै बसेर संघीय संसद्को चुनाव जिते बडो शानदार हिसावले । तैपनि, अहिलेसम्म उनले शपथ ग्रहण गर्न पाएका छैनन् । अहिले देशमा यस्तो चर्चामा दुई जना मात्र छन् । चर्चाको शिखरमा छन् डा. गोविन्द केसी र चर्चाको बटमलाइनमा छन् हालसम्म भूमिगत रहन बाध्य सञ्चारकर्मी तथा कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी ।
यो त घटनाक्रमको कुरा भयो । यी घटनाहरूपछि अरू पनि थुप्रै घटना भैसके । देशमा मार्सी चामल सर्वाधिक चर्चित रह्यो । अहिलेसम्म काठमाडौंका भान्साहरूमा त्यसकै चर्चा छ । किनभने, झापाको कुनै अस्पतालका धनीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना राष्ट्रिय अध्यक्षज्यूहरूलाई मार्सी चामलको भुजा (भात पत्रकारहरूले नजानेर लेखेको शब्द हो) ज्यूनार गराए छन् । त्यहीं कुरै–कुरामा बंगलादेशमा डाक्टरी पढ्न जाने नेपाली केटीहरूले पढाइ सकिएपछि प्रोफेसरहरूको रखेल बनेर बस्नुपर्ने चर्चा पनि उठेछ । अर्थात, भर्खरै मात्र दुईबाट एक भएको नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्ष समक्ष अस्पताल धनीले भनेछन्– ‘त्यहाँको मेडिकल कलेजको पढाइ सकिएपछि पनि नेपाली चेलीहरूलाई जबर्जस्ती त्यही राखिन्छ । दुई तीन वर्ष त्यसरी राखेपछि मात्र डिग्री दिइन्छ । नेपाली केटीहरूले जे द:ुख बेसाउनुपरे पनि यहीं बेसाउन, उता नजाउन भन्ने सदाशयले मात्र मैले अस्पताल खोलेको हुँ । मलाई त के छ र बैंकहरूले जमान–कमानमै तीन–चार अर्ब पत्याइहाल्छन् तर अस्पताल चलेन भने सरकारलाई घाटा छ ।’
यो ‘परिघटना’ (प्रधानमन्त्रीज्यूले मार्सी चामलको चर्चा गर्दा त्यसलाई परिघटनाको संज्ञा दिनुभएको छ) को खवर काठमाडौं सहर पसी हाल्यो । वर्तमान सरकारले समृद्ध नेपालको सपना देखाएको दिनदेखि अस्तव्यस्त संघीय राजधानी यो खबरले थप अस्तव्यस्त भयो । असार महिनामै वर्षात सुरु भएकाले सहरका कुकुरहरू लुतो लागेर भकाभक मर्न थाले । मेलाम्चीको पानी ल्याउने क्रममा खनिएका सडकबाट उडेको धूलोले सहरलाई छपक्कै ढाक्थ्यो । पानी परेपछि धूलो बन्द भो, हिलो सुरु भयो । यता, समृद्ध नेपालको सपना देखाएर चुनाव जिती आएका मेयर साहेवलाई काम गर्न गाह्रो हुन्छ भन्ने थाहा रहनेछ । उहाँले त नेपाल टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा ठाडो प्रश्नको ठाड–ठाडै उत्तर दिनुभयो : ‘म त फुर्सद भएका बेलामा तारक मेहताका उल्टा चश्मा सिरियल हेर्छु । रेडियो पनि सुन्दिन । पत्रपत्रिका पढ्ने त फुर्सदै छैन ।’ बाँकी त सबै संकेतले नै बुझिहाल्नुभो ।