साप्ताहिक संवाददाता
डिजिटल एजेन्सी क्याटमान्डुले नेपालमै पहिलो पटक स्क्रम मिटअप सम्पन्न गरेको छ । उक्त मिटअपमा एजाइल कोच आनन्द तिवारीले स्क्रमका बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए । तिवारी करिब १८ बर्षदेखि अमेरिकामा रहेर सफ्टवेयर डेभलपमेन्टमा काम गरिरहेका छन् । एजाइल कोचिङको क्षेत्रमा उनको १० बर्ष भन्दा लामो अनुभव छ ।
स्क्रम भनेको एक प्रकारको फ्रेमवर्क हो । यसको प्रयोग एजाइल डेभलपमेन्टलाई उपयोग गर्न गरिन्छ । कुनै पनि कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न यसको प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । कुनै टिमलाई विभिन्न तरिकाले सहकार्य गरी उनीहरूलाई एक अर्काप्रति सहयोग, आत्म संगठन र क्रस कार्यक्षमताका आधारमा सशक्त गर्ने पद्धति तथा अभ्यास एजाइल हो । नेपालमा पनि यी सबै कार्यका लागि एजाइल नेपालको गठन भएको छ । एउटै क्षेत्रका व्यक्तिहरूबीच नेटवर्किङ र आइडिया सेयर गर्न एजाइल नेपालले भूमिका खेलिरहेको यसका सह–संस्थापक लक्ष्मीहरी नेपालले बताए ।
एजाइलको पहिलो अभ्यास अटोमोबाइल कम्पनी टोयोटाले आफ्नो उत्पादन प्रक्रियामा गरेको मानिन्छ । सन् १९९० को दशकमा एजाइल फ्रेमवर्कको एक भागका रूपमा स्क्रम आएको थियो । पहिले सफ्टवेयर डेभलपमेन्ट तथा नेटवर्किङ फ्रेमवर्कमा प्रयोग गरिएको भए पनि हाल स्क्रम सबै क्षेत्रमा प्रयोग हुन थालेको छ ।