साप्ताहिक संवाददाता
अभिनेत्री रेखा थापाले कहिलेकाहीँ मानिसले बाटो बिर्सने कुरा बताउँदै उक्त कुरा आफ्नो जीवनमा समेत लागू भएको बताएकी छिन् । समय आएपछि त्यसलाई बाहिर ल्याउने रेखा बताउँछिन् ।
हालै पोखरामा पत्रकारहरू माझ देखिएकी थापाले भनिन्— मेरो जीवनमा आएको त्यो कुरा म समय आएपछि भन्नेछु, त्यतिबेला म अल्झिएकी थिएँ, अलमलिएकी थिएँ । उनको भनाइ थियो— बाहिरबाट हेर्दा त मानिसलाई लाग्छ होला, यो त एकदम कन्फिडेन्ट छे तर पनि कहिलेकाहीँ मान्छेले बाटो बिर्सिएको हुन्छ, आफैंलाई भुलेको हुन्छ । मलाई पनि त्यस्तै भएको थियो ।’
दूरदराजमा यस्तो समस्या अझ चर्को भएको रेखा बताउँछिन् । ‘दूरदराजका दिदी–बहिनीहरू कति अल्झिएका होलान् ? कतिले आफैंलाई बिर्सिएका होलान् ? कतिले संर्घष र सम्झौता गरेका होलान् ?’ उनीहरूको सर्घष र सम्झौतालाई उजागर गर्न नै चलचित्र ‘मालिका’ निर्माण गरेको रेखाको दाबी छ ।