साप्ताहिक संवाददाता
श्रावण १३, २०७५
कामकाजी महिलाहरूको समस्या भनेकै उनीहरूका सन्तानको उचित स्याहार–सुसार हो । धेरै महिलाले नचाहँदा–नचाहँदै पनि आफ्ना सन्तानलाई घरमा छाडेर काममा जानुपर्ने बाध्यता छ ।
यस्तो किसिमको समस्या सर्वत्र छ, तैपनि कामकाजी महिलाहरू आफ्ना सन्तानलाई आफ्नो साथमै राखेर पनि काममा लाग्न सक्छन् भन्ने कुरा आईटीभीले सञ्चालन गर्ने गुड मर्निङ ब्रिटेन कार्यक्रमकी सञ्चालिका लाउरा टोबिनले देखाएकी छिन् ।
३६ वर्षीया लाउराले आफ्नो कार्यक्रममा छोरीलाई कम्मरमा बोकेर मौसमको जानकारी गराएकी थिइन् । शरीरमा अक्सिजनको कमी हुने समस्याबाट ग्रस्त छोरी चार्लोटलाई घरमा छोड्न नसकेपछि लाउराले उनलाई कम्मरमा बोकेर प्रस्तुत गरेको समाचारले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसस्त चर्चा बटुलेको थियो ।