साप्ताहिक संवाददाता
अहिले हाम्रो पृथ्वीमा ५ थरीका बाघ पाइन्छन् । तीमध्ये सबैभन्दा धेरै पाइने बाघ हाम्रो पाटेबाघ अर्थात् रोयल बंगाल टाइगर हो । भारतीय उपमहाद्वीपका भारत, नेपाल, बंगलादेश तथा भुटानमा पाइने यो बाघको संख्या जंगलमा पाइने बाघको कुल संख्याको दुईतिहाइ छ । पाटे बाघको संख्या अहिले २ हजार ५ सयभन्दा बढी भएको अनुमान गरिन्छ ।
साइबेरियन वा अमुर बाघ भनिने मन्चुरियन टाइगरको संख्या ५ सयको हाराहारीमा छ । यो बाघ, बाघका प्रजातिहरूमध्ये सबैभन्दा ठूलो शारीरिक बनावट भएको बाघ हो । मन्चुरियन टाइगर विशेष गरेर चीन र रूसको सीमा क्षेत्रका जंगलमा पाइन्छ ।
मुख्य रूपमा इन्डोनेसियाको सुमात्रा टापुमा बसोबास गर्ने सुमात्रेली बाघको संख्या ५ सयदेखि ६ सयको हाराहारीमा छ भने त्यसको छिमेकी मलेसियाका टापुहरूमा पाइने मलयाली बाघको संख्या २ सय ५० देखि ३ सय ४० सम्म भएको अनुमान गरिन्छ ।
म्यानमार, कम्बोडिया, चीन, लाओस, थाइल्यान्ड तथा भियतनामका जंगलमा पाइने इन्डो—चाइनिज बाघको संख्या ३ सय ५० को हाराहारीमा छ । सन् १९९८ सम्म यो बाघको संख्या १ हजार २ सयभन्दा बढी थियो ।
अहिले पृथ्वीमा अत्यन्तै संकटापन्न अवस्थामा रहेको बाघको प्रजाति साउथ चाइना बाघ हो । ४० वर्षअघिसम्म हजारौंको संख्यामा उपलब्ध यो बाघको संख्या अहिले जंगली अवस्थामा जम्मा २० छ । चिनियाँ औषधी विज्ञानले प्रयोग गर्ने मुख्य बाघ यही नै थियो । त्यही कारणले पनि यो बाघ लगभग लोप भैसकेको अवस्था छ ।
कहाँ कति बाघ ?
सन् २०१६ को तथ्यांकअनुसार यो संसारमा जंगली अवस्थामा जम्मा ३ हजार ८ सय ९० बाघ छन् । ती बाघ संसारका १२ देशमा फैलिएका छन् ।
भारत २ हजार २ सय २६
रूस ४ सय ३३
इन्डोनेशिया ३ सय ७१
मलेसिया २ सय ५०
नेपाल १ सय ९८
थाइल्यान्ड १ सय ८९
बंगलादेश १ सय ६
भुटान १ सय ३
चीन ७ भन्दा बढी
भियतनाम ५ भन्दा कम
लाओस २
बाघको सिकार गाथा
सिकारीहरूका लागि बाघको सिकार सबैभन्दा ठूलो आकर्षणको विषय हो । अहिले घट्दो संख्याका कारण बाघको सिकारलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाइएको छ । बाघको मुख्य बास स्थान दक्षिण एसिया कुनै बेला बाघको सिकारका लागि प्रसिद्ध थियो । इतिहासमा उल्लेख भएअनुसार बाघका ठूलाठूला सिकार नेपालमै भएका छन् । तीमध्ये केही प्रमुख सिकार :
सन् १८६१ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चितवनमा १ महिना लामो सिकार क्याम्पका बेला ३१ वटा बाघ, १वटा गैंडा, ४ वटा भालु तथा ३ वटा चितुवा मारेका थिए ।
सन् १९११ मा नेपाल भ्रमणमा आएका बेलायतका राजा जर्ज पंचमले चितवनमा सिकार खेल्ने क्रममा ३९ वटा बाघ, १ वटा गैंडा तथा ४ वटा भालु मारेका थिए ।
सन् १९३८ मा बेलायतका लर्ड लिनलिथ गोले चितवनमा १ सय २० वटा बाघ, ३८ वटा गैंडा, १५ वटा भालु र २७ वटा चितुवा मारेका थिए ।