साप्ताहिक संवाददाता
उच्च शिक्षा हासिल गर्न विदेश जाने चलन बढ्दो क्रममा छ । प्रत्येक वर्ष ६० हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि भारतबाहेकका तेस्रो मुलुक पुग्ने कुरा सरकारी तथ्यांकमा उल्लेख छ र उक्त तथ्यांक निरन्तर उकालो लागिरहेको छ । यसरी विदेश जाने विद्यार्थीका लागि कुन देशमा कुन विषय रोजाइमा पर्छन्, खर्च कति लाग्छ र त्यहाँ गएपछि अध्ययनसँगै रोजगारीको अवस्था के छ ? बुझ्ने प्रयास गरौं ।
अस्ट्रेलिया
प्रत्येक वर्ष ३० हजार नेपाली विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया पुग्छन् । अस्ट्रेलिया जाने विद्यार्थीको रोजाइमा नर्सिङ, इन्जिनियरिङ, आइटी, एकाउन्ट, चाइल्ड केयर एजुकेसन, कम्युनिटी सर्भिसजस्ता विषय पर्छन् । त्यसका साथै अस्ट्रेलिया टेली कम्युनिकेसन तथा इलेक्ट्रोनिक इन्जिनियरिङका लागि पनि नेपाली विद्यार्थीको रोजाइमा पर्ने नेपकम सर्भिसेजकी बिजनेस डेभलपमेन्ट म्यानेजर सोनी श्रेष्ठ बताउँछिन् । नेपाल अस्ट्रेलिया विद्यार्थी पठाउने चीन तथा भारतपछिको तेस्रो देश हो । सामान्यत: एक जना विद्यार्थी अस्ट्रेलिया जाँदा सुरुमा ६ महिनाको फीसहित १५ देखि १७ लाख रुपैयाँ खर्च लाग्छ भने डिपेन्डेन्ट भिसामा जाँदा हवाइ टिकट एवं इन्स्युरेन्स थप गर्दा २२ लाख रुपैयाँसम्म लाग्न सक्ने ओली एन्ड एसोसिएटका परामर्शदाता कुमार शिवाकोटी बताउँछन् ।
खर्च
नर्सिङ : ६ देखि १० लाख रुपैयाँ
इन्जिनियरिङ : १२ देखि १४ लाख रुपैयाँ
आइटी : ६ देखि १० लाख रुपैयाँ
एकाउन्ट : ६ देखि १० लाख रुपैयाँ
चाइल्ड केयर एन्ड एजुकेसन : ८ देखि १२ लाख रुपैयाँ
कम्युनिटी सर्भिस : ८ देखि १२ लाख रुपैयाँ
नयाँ विषय
टेली कम्युनिकेसन : वार्षिक ८ लाख रुपैयाँ
इलेक्ट्रोनिक इन्जिनियरिङ : वार्षिक ८ लाख रुपैयाँ
सोल मिडिया मार्केटिङ : वार्षिक ८ लाख रुपैयाँ
न्यूनतम योग्यता
आईएलटीएसमा कम्तीमा ६ प्वाइन्ट
प्लस टुमा ६० प्रतिशत वा बी प्लस ग्रेड
अभिभावकको आम्दानी कम्तीमा मासिक १ लाख
सहजता
साताको २० घण्टा काम गर्न पाइने
प्रत्येक साता कम्तीमा ४ सय अस्ट्रेलियन डलर कमाइ हुने वर्षको ३ महिना फुल टाइम काम गर्न पाइने ।
न्युजिल्यान्ड
होटल म्यानजमेन्ट, हस्पिटालिटी म्यानेजमेन्ट, आइटी नेटवर्किङ वा सामान्य म्यानेजमेन्ट पढ्न चाहने नेपाली विद्यार्थीहरूका लागि न्युजिल्यान्ड एउटा राम्रो गन्तव्य बन्दै गएको छ । यी विषयका साथै इन्जिनियरिङमा मास्टर्स गर्न चाहनेहरूका लागि पनि न्युजिल्यान्ड रोजाइको देश हो । यहाँ प्लस टु पढेर गएकाहरू लेभल ५ र ६ मा भर्ना हुन सक्छन् भने तीनवर्षे ब्याचलर सकेका विद्यार्थीले लेभल ७ तथा चारवर्षे ब्याचलर सकेकाले लेभल ८ मा अध्ययन गर्न पाउँछन् । अन्य देशमा जाने विद्यार्थीले पहिले पैसाको जोहो गर्नुपर्छ भने न्युजिल्यान्डको हकमा भिसा कन्फर्म भएपछि मात्र पैसा जम्मा गर्नुपर्ने हुन्छ ।
खर्च
औसतमा १४ लाख रुपैयाँ
पार्ट टाइम काम साताको २० घण्टा
अध्ययनको दोस्रो वर्षदेखि होटल म्यानेजमेन्ट तथा हस्पिटालिटीका विद्यार्थीले पेड इन्टर्नसिप गर्न पाउँछन् ।
अमेरिका
सपनाको देश अमेरिका पढ्न जाने चाहना धेरैमा हुनसक्छ । अमेरिका अध्ययन गर्न जाने प्राय: छात्र–छात्राले कुनै न कुनै प्रकारको छात्रवृत्ति प्राप्त गरेका हुन्छन् । म्यानेजमेन्ट, फिजिक्स, जेनेटिक इन्जिनियरिङ, कम्प्युटर साइन्स, एमबीए, इन्जिनियरिङ तथा आइटी अमेरिका पुग्ने नेपाली विद्यार्थीहरूको रोजाइका विषय हुन् । सामान्यत: अमेरिकामा एउटा सेमेस्टर पूरा गर्न ५ हजार डलर खर्च हुने एजुकेसन एसियाका एक्जुकेटिभ डाइरेक्टर अरुण साह बताउँछन्, तर त्यहाँ अन क्याम्पस जबको ग्यारेन्टी हुने हँुदा विद्यार्थीहरूलाई सहज हुने साहको दाबी छ ।
खर्च
सामान्यत: ८ देखि १० लाख रुपैयाँ
३० देखि ७० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त हुने सम्भावना ।
साताको २२ घण्टा अन क्याम्पस जब प्राप्त गर्न सकिने ।
छात्रवृत्ति प्राप्त गर्ने आधार स्याट, जिआरइ, आईएलटीएस वा टोफेलमा आएको नम्बरका आधारमा छात्रवृत्तिको सम्भावना हुन्छ ।
क्यानाडा
प्लस टुमा म्यानेजमेन्ट वा साइन्समा ६० प्रतिशत अंक कटाएका विद्यार्थीहरूको रोजाइको अर्को देश हो— क्यानाडा । आईएलटीएसमा कम्तीमा ६ तथा टोफेलमा ८९ नम्बर ल्याएका विद्यार्थीले क्यानाडामा अध्ययनका लागि प्रक्रिया अघि बढाउन सक्छन् । क्यानाडा जान परिवारको वार्षिक आम्दानी कम्तीमा १८ देखि ३० लाख रुपैयाँ देखिनुपर्छ भने सम्पत्ति १ करोड रुपैयाँभन्दा
माथि हुनुपर्छ ।
क्यानाडा पढ्न जाने विद्यार्थीले प्लस टुमा म्यानेजमेन्ट लिएर पढेको भए उनीहरूले एकाउन्टेन्ट, बिजनेस स्टडी, माइक्रोफाइनान्स वा लिडरसिप र म्यानेजमेन्टजस्ता विषय अध्ययन गर्न पाउने राइज एजुकेसन फाउन्डेसनका सन्जय श्रेष्ठ बताउँछन् । त्यसैगरी प्लस टुमा विज्ञान लिएर ६५ प्रतिशत कटाएका विद्यार्थीले आइटी, केमेस्ट्री, बायोलोजी वा फिजिक्सका साथै इन्जिनियरिङ समेत अध्ययन गर्न पाउँछन् ।
खर्च
क्यानाडा पढ्न जानेले विषय तथा विश्वविद्यालय हेरेर २२ लाख रुपैयाँसम्मको छात्रावृत्ति प्राप्त गर्न सक्छन् । त्यहाँ पार्ट टाइम काम समेत गर्न पाइन्छ ।
बंगालादेश
चिकित्सा शास्त्रको अध्ययनका लागि कहलिएको देश हो– बंगलादेश । नेपालबाट वार्षिक ३ देखि ४ सय विद्यार्थी चिकित्सासम्बन्धी विषय अध्ययन गर्न बंगलादेश पुग्ने गरेका छन् । विशेष गरी एमबीबीएस, बीडीएस, एम डीएमएस तथा एमपीएस अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी बढी हुन्छन् । इन्जिनियरिङ, नर्सिङ, फर्मासिटिज वा भेटनरीका लागि पनि विद्यार्थीहरू बंगलादेश पुग्ने गरेका छन् । यी विषयमा छात्रवृत्तिसमेत उपलब्ध हुन्छ ।
खर्च
एमबीबीएस : २५ देखि ४५ लाख रुपैयाँ
बीडीएस : १० देखि १५ हजार डलर
एमडीएमएस : ७ हजार डलर
एमपिएस : २५ देखि ३२ सय डलर
जापान
नेपाली विद्यार्थीहरूका लागि एउटा राम्रो गन्तव्य हो— जापान । यो मुलुक विशेष गरी भोकेसनल विषयहरू होटल म्यानेजमेन्ट, ट्राभल्स एन्ड टुरिजम, आइटी तथा बिजनेस स्टडीका लागि प्रसिद्ध छ । जापान पढ्न जाने विद्यार्थीका लागि पहिलो मापदण्ड भनेकै भाषा हो । त्यसपछि संस्कृतिको ज्ञान आउँछ । नेपालमै जापानी भाषामा दख्खल बनाएर जाने विद्यार्थीले सहजै काम पाउने कुमारी जापानिज ल्याङ्वेज स्कुलका इडी टंक साँउद बताउँछन् । सामान्यत: जापान जाने विद्यार्थीले त्यहाँको विश्वविद्यालय तथा पढ्न चाहेको विषय छनौट नेपालमै गरे पनि त्यहाँ गएर विषय परिवर्तन गर्न सक्छन् । जापान पढ्न जाने विद्यार्थीका लागि अर्को सहज कुरा भनेको नेपालमा प्लस टु पढ्ेकै विषयलाई करियर बनाउनुपर्छ भन्ने बाध्यता नहुनु हो अर्थात् त्यहाँ पुगेर अर्को विषय पढ्न सकिन्छ ।
खर्च : सुरुमा ३ देखि ६ महिनाको कोठाभाडा, एक वर्षसम्मको क्याम्पसको फी गरी १० देखि १२ लाख रुपैयाँ
काम : २८ घण्टा स्टुडेन्ट वर्क पर्मिट
आम्दानी : घण्टाको १ हजार येन
पाइलट अध्ययनका लागि फिलिपिन्स र दक्षिण अफ्रिका
काठमाडौका नुर्वु शेर्पा तथा प्रशान्त श्रेष्ठले आफ्नो करियर पाइलटमा देखेका छन् । । त्यही भएर उनीहरू गत आइतबार भृकुटीमण्डपमा आयोजित इक्यान मेलामा कहाँ गएर पढ्न सहज होला भन्दै परामर्श लिइरहेका थिए । उनीहरूलाई परामर्श दिने काठमाडौं एलाइन्स एजुकेसनका परामर्शदाताहरू भन्दै थिए, ‘पाइलट पढ्ने भए फिलिपिन्स वा दक्षिण अफ्रिका रोज्नुहोस् ।’ पाइलट पढाउने सस्तो तर गुणस्तरीय कलेज भएका कारण ती देश जान सुझाव दिइरहेका थिए उनीहरू । फिलिपिन्स वा दक्षिण अफ्रिका मात्र नभएर अमेरिका तथा अस्ट्रेलिया पनि पाइलट अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइका देश हुन् । प्लस टुमा साइन्स अध्ययन गरेका तथा शारीरिक रूपमा फिट विद्यार्थीले पाइलट कोर्ष गर्न सक्छन् ।
खर्च
फिलिपिन्स : ५५ लाख रुपैयाँ
दक्षिण अफ्रिका : ४५ लाख रुपैयाँ
अमेरिका : ७० देखि ७५ रुपैयाँ
अस्ट्रेलिया : ८० लाख रुपैयाँ