सेलिब्रेटी ज्योतिषलाई अभिनेता बन्ने रहर कसरी जाग्यो ?
अभिनय त मेरो सानैदेखिको रहर र रुचिको विषय थियो, यद्यपि परिस्थितिले ज्योतिष बनाएपछि त्यो रहर त्यसै खुम्चियो । अहिले मेरो पेशासँग मिल्ने स्क्रिप्ट तयार भएकाले अभिनयका लागि तयार भएको हुँ ।
तपाईंले डेब्यु गर्ने चलचित्र शुभ लभ कस्तो बन्ने छ ?
यो एउटा युवा ज्योतिषीको प्रेम कथामा आधारित चलचित्र हो । चलचित्रमा ज्योतिषीकै भूमिका निर्वाह गर्नुपर्ने भएकाले पनि म अभिनयका लागि तयार भएको हुँ ।
अर्थात् चलचित्रबाट ज्योतिष विद्याको प्रचार पनि हुने भयो ?
प्रचारभन्दा पनि मेरो पेसालाई अझ स्पष्ट रूपमा बुझाउन सकिन्छ जस्तो लागेको छ ।
चलचित्रको कथा कसरी तयार पार्नुभयो ?
ज्योतिष विद्यामा आबद्ध व्यक्तिहरूको पनि मन हुन्छ । उनीहरू पनि कुनै युवतीप्रति आकर्षित हुनसक्छन् । उनीहरूका पनि प्रेमिका हुन सक्छन् भन्ने थिममा यो चलचित्रको कथा तयार भएको हो । उक्त कथालाई पटकथाकार अभिमन्यू निरवीले चलचित्रको स्वरूप प्रदान गर्नुभएको छ ।
अभिनयका लागि तयार हुनुहुन्छ त ?
करिब–करिब तयार नै छु । झन्डै एक महिनादेखि अभिनय, नृत्य तथा फाइटको प्रशिक्षण लिँदैछु । भदौ १५ गतेसम्ममा यी तीनवटै विधामा पारंगत हुनेछु भन्ने कुरामा विश्वस्त छु ।
चलचित्रमा तपाईंको गेटअप कस्तो हुनेछ ?
म जे छु, त्यही नै देखिने छु । यद्यपि चलचित्रमा मैले दुई भिन्न चरित्रलाई उजागर गर्दैछु अर्थात् म व्यक्ति एक भए पनि दुई चरित्रमा देखिने छु ।
डबल रोल हो र ?
(हाँसो) डबल रोल नै त होइन तर मैले दोहोरो चरित्र निर्वाह गर्ने चाहिँ पक्कै हो ।
चलचित्रमा दुई नयाँ अभिनेत्री रहेछन् नि ?
मिस टिन अफ दि इयर क्रिस्टन पौडेल तथा दन्त चिकित्सक डा.सूर्या थापामध्ये एक जना मलाई एकतर्फी माया गर्ने भूमिकामा हुनुहुन्छ भने अर्की अभिनेत्री मेरो जोडी रहनु हुनेछ ।
चलचित्रमा व्यस्त हुँदा ज्योतिष विधा छुट्ने त होइन ?
यो चलचित्रको छायांकनका लागि मैले ४५ दिन छुट्याएको छु । उक्त अवधिमा मेरो ज्योतिष कार्यालय बन्द रहनेछ ।
अभिनय सिक्ने क्रममा आफूमा के–कस्ता कमी–कमजोरी पाउनुभयो ?
अभिनय भनेको आफूभित्र जे छ, त्यसैलाई उजागर गर्ने कार्य हो । प्रशिक्षणले त्यो शैलीलाई उजागर गर्ने काम गरेको छ ।