साप्ताहिक संवाददाता
विश्वकप २०१८ को फाइनलमा पुगेर चर्चामा आएको क्रोएसिया युरोपको एड्रियाटिक सागरको तटमा अवस्थित सानो देश हो । सन् १९९१ सम्म तत्कालीन युगोस्लाभियाको एउटा भूभाग क्रोएसिया युगोस्लाभियाको गृहयुद्धपछि स्वतन्त्र राष्ट्रका रूपमा देखापरेको हो । क्रोएसियाको क्षेत्रफल ५६ हजार ५ सय ९४ वर्गकिलोमिटर छ भने यहाँ ४१ लाख ७१ हजार जनता बसोबास गर्छन् । यसको राजधानी जाग्रेब हो । क्रोएसियाको पूर्वमा सर्बिया, दक्षिणमा एड्रियाटिक सागर, उत्तरमा हंगेरी तथा पश्चिममा स्लोभेनिया छन् ।
यहाँका ९० प्रतिशत जनता क्रोट्स हुन् भने अन्य अल्पसंख्यकका रूपमा सर्बियनहरूको बाहुल्य छ । प्राचीन समयमा रोमन साम्राज्यको महत्त्वपूर्ण भूभाग क्रोएसिया १६ औं देखि १८ औं शताब्दीसम्म अटोमन साम्राज्यको अंग थियो । त्यसपछि अस्ट्रो–हंगेरियन साम्राज्यबाट शासित क्रोएसिया दोस्रो विश्वयुद्धमा अस्ट्रियाको पराजयपछि युगोस्लाभियाअन्तर्गत संगठित हुन पुग्यो । सन् १९८८ देखि युगोस्लाभियामा चलेको गृहयुद्धको परिणामस्वरुप सन् १९९१ मा क्रोएसिया एउटा स्वतन्त्र राष्ट्रका रुपमा उदाएको हो ।
क्रोएसियामा इन्डो–युरोपियन परिवारअन्तर्गतको क्रोएसियन तथा स्लाभिक भाषा बोलिन्छ । यसको वर्णमाला ल्याटिन भाषासँग मिल्दोजुल्दो छ । प्राकृतिक ग्याँस, बक्साइट, कोइलाजस्ता खनिज सम्पदाले धनी क्रोएसियाको मुख्य निर्यात जिप्सम र क्वार्ज हो । यहाँको मुद्रालाई क्रोएसियन क्रोना भनिन्छ । यहाँका नागरिकहरूको प्रतिव्यक्ति वार्षिक आय २२ हजार ८ सय ८० डलर छ ।