नव-गायिका स्मिता दाहाल एक सातायता सांगीतिक बजारमा चर्चाको शिखरमा छिन् । उनले गाएको गीत ‘पानी कुवाको...’ले युट्युबमा राम्रो प्रशंसा बटुलिरहेको छ । अभिनेत्री प्रियंका कार्की तथा द कार्टुन्ज क्रयुलाई फिचरिङ गरिएको उक्त गीतको म्युजिक भिडियो अहिले युट्युबको ट्रेन्डिङमा छ । स्मितासँगै सरोज ओलीको समेत स्वर सुनिने यो गीतले एक सातामै १७ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।
२० वर्षकै उमेरमा नेपाली गायनमा आफ्नै मौलिक पहिचान बनाउन थालेकी यी किशोरी नेकपाका अध्यक्ष प्रचण्डकी नातिनी अर्थात् प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी छोरी हुन् । स्मिताको जन्म भारतको दार्जीलिङमा भएको हो । १० वर्षको उमेरमा कक्षा ५ मा अध्ययनरत छँदै काठमाडौं आएकी स्मिताको बाल्यकाल आधा सिलीगुडी र आधा काठमाडौंमा बितेको हो ।
हुने बिरुवाको चिल्लो पात भनेझैं स्मितामा सानैदेखि गायनमा विशेष अभिरुचि थियो । उनी प्रायजसो गीत गुनगुनाइरहेकी हुन्थिन् । ‘सानैदेखि गीत–संगीतप्रति विशेष लगाव थियो, गीतहरू गुनगुनाइरहन्थे,’ कलिलो उमेरमै गायनमा आफ्नो बेग्लै परिचय बनाइसकेकी दाहाल भन्छिन्, ‘गीत गाउँथें, ममीहरूलाई सुनाउँथें । त्यतिबेला घरपरिवार, साथीसंगी सबै जनाले राम्रो भन्दै हौसला दिनुहुन्थ्यो ।’
त्यसकै परिणाम मान्नुपर्छ, ११ वर्षकै उमेरमा उनले पहिलो गीति एल्बम ‘स्मिता’ सार्वजनिक गरिन्, जसमा ६ वटा बालमनोभावना समेटिएका गीत समावेश थिए । चेतन सापकोटाले लेखेका ती गीतमा सापकोटा आफैंले संगीत भरे । बालबालिकामाझ स्मिताको पहिलो बालकोसेली रुचाइयो । ‘पहिलो एल्बममा मार्मिक गीतहरू मात्र थिए । इमोल हुने खालका,’ स्मिता भन्छिन्, ‘आवाज निकै राम्रो छ, गीत बढी इमोसनल भयो भनेर प्रतिक्रिया आउँथे ।’ कतिले त उनलाई ‘तिमी ठूलो गायिका बन्छौ’ भनेर फुर्काएपनि । त्यसले स्मितालाई थप जागरूक मात्र बनाए, गायनप्रतिको उनको लगाव बढाउने कामसमेत गर्यो ।
नशा—नशामा बग्ने गायन मोहकै कारण स्मिताले १४ वर्षको उमेरमा दोस्रो एल्बमका ‘स्मिता–२’ बजारमा ल्याइन् । जसरी उनी बाल्यकालबाट टिनएजरमा प्रवेश गर्दै थिइन्, उनको दोस्रो एल्बमका गीतमा पनि त्यो परिवर्तन देखिन थाल्यो । अघिल्लो एल्बमसम्म बाल मनोभावना समेटिएका गीत गाएकी स्मिताले दोस्रो एल्बममा आइपुग्दा आफ्ना गीतमा टिनएजर छवि दिइन् । स्मिता–२ मा ५ वटा रोमान्टिक गीत समेटिएका थिए । दोस्रो एल्बम बजारमा आएपछि उनले थप प्रशंशा बटुलिन् । ‘दोस्रो एल्बमबाट राम्रै फिडब्याक पाएँ,’ उनी भन्छिन्, ‘जतिले सुने राम्रो रेस्पोन्स दिए ।’
ब्याक टु ब्याक तेस्रो एल्बम ‘रागिनी’ सार्वजनिक गर्दा स्मिता १७ वर्षकी भैसकेकी थिइन् । यो एल्बममा ५ वटा गीत समेटिएका थिए, जसका सबै गीत योगेन्द्रमणि दाहालले लेखेका हुन् भने संगीत भर्ने काम सुनिल मास्केले गरे । रागिनी एल्बमका गीतमा उनले थप निखारिएको प्रस्तुति दिइन् । स्वरमा आफ्नै मौलिकता बोकेकी स्मिताको ‘कोही फूलजस्ती भन्छन्’ गीत चर्चितसमेत भयो ।
स्मिताको गायनमा एकपछि अर्को गरी परिपक्वता देखिन थालेको छ । जसका लागि उनी आफ्नो अभ्यास तथा प्रशिक्षणलाई कारक मान्छिन् । ‘एसएलसीपछि मैले राज सिग्देलसँग प्रशिक्षण लिएँ,’ स्मिताले भनिन्, ‘त्यो सिकाइ र अभ्यासका कारण मैले एकपछि अर्को राम्रो गीत दिन सकेँ ।’ अहिलेसम्म ६० वटाजति गीतमा स्वर दिइसकेकी स्मिता अहिले पनि गायनको प्रशिक्षण लिइरहेकी छिन् ।
‘स्मिता—२’ को ‘बिगार्दैन कसैको केही’ र अहिले चर्चा बटुलिरहेको ‘पानी कुवा’ उनी आफैंलाई मन परेका गीत हुन् । मेलिना राईको गायकीको प्रशंसक स्मितालाई ‘तिमीले बाटो फेर्यौं अरे’ गीत सबैभन्दा बढी मन पर्छ । उनलाई मनपर्ने गायक भने शिव परियार हुन् । फरक परिचय बनाउने लक्ष्य लिएकी स्मिता सबैले मन पराउने गीत गाउन चाहन्छिन् ।
राजनैतिक वातावरणमा हुर्किएकी स्मितालाई क्रान्तिकारी गीतले प्रभावित पारेनन् ? स्मिता भन्छिन्, ‘क्रान्तिकारी गीतले लोभ्याएनन्, तर मौका पाए भने क्रान्तिकारी गीत पनि गाउनेछु । मलाई सबै किसिमका गीत गाउन मन पर्छन्, सबै खालका गीत गाउने प्रयास गरिरहेकी हुन्छु ।’ चुनावताका उनले माओवादीको चुनावी गीतमा पनि आफ्नो स्वर दिएकी थिइन् । त्यसो भए आधुनिक गायिका नातिनीका सम्बन्धमा प्रचण्डको प्रतिक्रिया कस्तो छ त ? ‘एप्रोसियट गर्नुहुन्छ, साधना र मेहनत गर्न नछाड, अगाडि बढ भन्नुहुन्छ,’ उनी हजुरबुवाको प्रतिक्रया सुनाउँछिन् । रमाइलो त के भने स्मिताको तेस्रो एल्बम रागिनीको विमोचनमा समारोहमा पुगेका प्रचण्डले नातिनीलाई प्रेरणा दिन आफूलाई पनि बाल्यकालमा यो क्षेत्रमा लाग्ने रहर भएको बताएका थिए ।
स्मिता डान्स गर्न पनि रुचाउँछिन् । मुभी, घुमफिर तथा सपिङ उनलाई मन पर्ने अन्य कुरा हुन् । ललितपुरस्थित जेम्स स्कुलबाट एसएलसी उत्तीर्ण स्मिताले युलियन्स कलेजबाट प्लस टु उत्तीर्ण गरेकी छिन् । अहिले केसीएम कलेजमा बीबीए पाँचौं सेमेस्टरकी छात्रा स्मिताको सपना राम्रो गायिका बन्ने हो । ‘गीत संगीतमै अगाडि बढ्ने हो । बीबीए अध्ययनरत छु, बिजनेसतिर पनि जान्छु होला,’ सुन्दर गायिका स्मिताले कुराकानीको बिट मारिन् ।