साप्ताहिक संवाददाता
सामाजिक सञ्जालमा उत्तेजक तस्बिर अपलोड गरेर चर्चा तथा विवादमा आउने भारतीय मोडल पूनम पाण्डे अघिल्लो साता नेपालमा थिइन् । दरबारमार्गस्थित क्लब डेजाभूले विश्वकप फुटबलको फाइनल खेलका लागि भन्दै उनलाई नेपाल बोलाएको थियो । सरकारले विश्वकपको प्रत्यक्ष प्रसारणको टिकट बिक्री नगर्न उर्दी जारी गरेपछि पूनमको डेजाभूको कार्यक्रम असफल भयो ।
सामाजिक सञ्जालमा अर्धनग्न तस्बिरहरू अपलोड गरिरहने पूनम नेपालका युवामाझ पनि लोकप्रिय छिन् । उनको लोकप्रियताको फाइदा उठाउँदै डेजाभूले पूनमसँगै बसेर फुटबलको फाइनल खेल हेर्न सकिने भन्दै प्रचार गरेको थियो । पूनमले विश्वकपमा क्रोएसिया विजयी हुने तथा उक्त देश विजयी भए आफूले केही अनौठो हर्कत गर्ने घोषणा गरेकी थिइन् । यद्यपि फाइनलमा क्रोएसिया पराजित भएपछि पूनमले त्यस्तो कुनै हर्कत त देखाउन पाइनन् बरु नेपाल प्रहरीले डेजाभू क्लबमा प्रवेश गरेर उनले माइक समातेको ५ मिनेट नबित्दै उनलाई बाहिर निकाल्यो ।
वास्तवमा दरबारमार्ग प्रहरीले डेजाभूको कार्यक्रम रोक्न खोजेको थियो, यद्यपि अन्तिम समयमा प्रशासनको अनुमतिपछि उक्त कार्यक्रम सुचारु भएको थियो । ट्वीटरमा पूनमले भनेकी छिन्–‘नेपाल तिमीसँग मेरो माया बस्यो, माफ गर किनभने क्रोएसियाले खेल गुमायो । म धेरै मीठा स्मरण लिएर फर्कंदैछु ।’ पूनमले लेखेकी छिन्– ‘तपाईंहरू मायालु हुनुहुन्छ, धन्यवाद नेपाल सरकार र नेपाल प्रहरी ।’ भारत फर्कनुअघि पूनमले पशुपतिनाथको दर्शन समेत गरेकी थिइन् ।