साप्ताहिक संवाददाता
मोडलिङको रंगीन मोहले अमेरिकामा पनि धेरै नेपाली युवतीलाई आकर्षित गरिरहेको छ जसमध्ये कतिपयलाई यसले यहाँको नेपाली समाजमा पहिचान समेत दिलाएको छ । काठमाडांैकी बिना श्रेष्ठ अध्ययनका क्रममा अमेरिका आएकी हुन् । उनी नेपालमै हँुदा मोडलिङमा चिनिने क्रममा थिइन् । बिनाले सानै उमेरमा परिवार नियोजनको एउटा विज्ञापनमा मोडलिङ गरेकी थिइन् । केही र्याम्प शोदेखि लघु चलचित्रमा समेत अभिनय गरेकी श्रेष्ठले अमेरिका आएपछि पनि मोडलिङलाई निरन्तरता दिइरहेकी छिन् । टेक्सासमा बस्दै आएकी श्रेष्ठ यतिबेला मिस नेपाल युएस प्रतियोगितामा सहभागी छिन् ।
श्रेष्ठजस्तै अमेरिकामा बसोबास गर्ने युवतीहरू सौखसँगै करिअरका रूपमा मोडलिङमा छन् । कतिले मोडलिङमा लागेर अवसर समेत पाएका छन् भने कतिपयले अन्तर्राष्ट्रिय फेसन शोहरूमा समेत आफूलाई सहभागी गराइसकेका छन् । पेसाले नर्स रिमा केसी पनि अमेरिकामा चिनिएकी नेपाली मोडल हुन् । मेरिल्यान्ड राज्यमा बसोबास गर्ने केसीले यहाँका र्याम्प शोदेखि म्युजिक भिडियो तथा पेपर एडहरूमा समेत आफूलाई स्थापित गराएकी छिन् ।
केसीले नेपालीसँगै विदेशी मोडलहरूसँग एउटै ×र्याम्पमा क्याटवाक गरिसकेकी छिन् । अहिले अन्तर्राष्ट्रिय र्याम्पहरूमा पनि उनको उपस्थित बाक्लो हुँदै गएको छ । अमेरिकामै नेपाली म्युजिक भिडियोहरू निर्माण भैरहेकाले पनि युवतीहरूलाई यो क्षेत्र ले तानिरहेको छ ।
‘मोडलिङको हरेक पाटोमा युवतीहरूको सहभागिता बढ्दो छ,’ नेपाल ११ इन्टरटेनमेन्टका संस्थापक प्रतीक सुवेदी बताउँछन् । सुवेदीका अनुसार भिज्युअल, पेपरदेखि र्याम्प मोडलिङमा सबैको समान सहभागिता रहँदै आएको छ । अध्ययनका लागि आएका विद्यार्थीदेखि विभिन्न पेसा व्यवसाय र काममा व्यस्त युवतीहरूले यो पेसा अँगाल्दै आएका छन् । अमेरिकाको टेक्सासमा बस्दै आएकी इशा गुरुङले मोडलिङमार्फत नै आफ्नो पहिचान बनाएकी छिन् ।
उनले केही गीतको म्युजिक भिडियोदेखि थुप्रै पेपर एडमा काम गरिसकेकी छिन् । नेपाली चलचित्रमा समेत अभिनय गर्ने तयारी गरिरहेकी गुरुङले भनिन्– ‘यो क्षेत्रमा निरन्तर लगावकै कारण विदेशी भूमिमा मोडलका रूपमा आफूलाई चिनाउन पाउँदा खुसी लाग्छ ।’ गुरुङ साप्ताहिकको मध्यपृष्ठमा समेत प्रकाशित भैसकेकी छिन् ।
सन् २०११ देखि यहाँ हुँदै आएको मिस नेपाल यूएससँगै अमेरिकामा नेपाली समुदायबीच मोडलिङ तथा फेसनसँग गतिविधिहरू नियमित हुने क्रम बढेको हो । सन् २०१४ मा मिस नेपाल युएसमा सेकेन्ड रनर्सअपसँगै क्याटवाक र ट्यालेन्टको उपाधि जितेकी सुष्मा अधिकारीले अध्ययनसँगै आफ्नो फेसन तथा मोडलिङको करिअरलाई अघि बढाइरहेकी छिन् । अधिकारीले न्युयोर्कमा दुई अन्तर्राष्ट्रिय फेसन शोको र्याम्पमा क्याटवाक गरिसकेकी छिन् । अमेरिकाको बोस्टनमा बस्दै आएकी अधिकारी त्यहाँ हुने प्राय: हरेक कार्यक्रमकी होस्ट समेत हुन् । नर्सिङ अध्ययनरत अधिकारी भन्छिन्– ‘अध्ययनसँगै मोडलिङलाई पनि सँगसँगै अघि बढाइरहेकी छु ।’
युवतीहरूलाई मोडलिङमा लाग्न केही वेब पोर्टल तथा नेपाली फोटोग्राफहरूले समेत टेवा पुर्याएका छन् । मोडलिङप्रतिको रुचिकै कारण यहाँ सौन्दर्य प्रतियोगिता तथा फेसन शोहरू आयोजित हुने क्रम बढ्दो छ ।