साप्ताहिक संवाददाता
छक्कापन्जा, यो जुवा खेल्ने मानिसहरूका बीच मन पर्ने वा छुक लाग्ने दाउ हो । कत्ति जुवाडेलाई छक्का फाप्छ, कुनैलाई तिया । यो त जुवाडेहरूको अनुमानकै कुरा हो, तर जुवाको संसारभन्दा बाहिर सार्वजनिक जीवनका अन्य क्षेत्रमा पनि दाउ महत्वपूर्ण हुन्छ । अभिनेता, निर्देशक तथा कलाकारका रूपमा सबैले सह्राएका दीपकराज गिरी अचेल दाउ खेल्न थालेका छन् । उनको दाउ हो— छक्कापन्जा ।
छक्कापन्जाको विशाल सफलतापछि दीपक एवं निर्देशक तथा अभिनेत्री दीपाश्री दुवैको मन लोभियो । त्यसपछि तयारी सुरु भयो— नयाँ भेन्चर छक्कापन्जा– २ को । दीपक र दीपाले सोच्दै नसोचेको कुरा— साक्षात् लक्ष्मी सावित भयो छक्कापन्जा । यी दुई सिनेमाको अपार सफलताले प्रेरित भएका भनौं, पुलकित भएका भनौं वा लोभिएका भनौं, दीपक र दीपाले छक्कापन्जा–३ को पनि निर्माण थाले ।
बुधबार बिहान दीपक मलाई सुटिङ स्पटमा लान आएका थिए । उनी र म बत्तीसपुतलीको अव्यवस्थित जाममा पर्यौं । यो मौका थियो मेरा लागि । सुटिङ स्पटमा पुगेर दीपकले मलाई समय दिन भ्याउलान् भन्ने पटक्कै लागेको थिएन । मेरा फिल्मी साथीभाइ तथा दीपकमा केही फरक थिएन । अचेल मानिसहरूले रियलाइज गर्न थालेका छन्– सिनेमाको निर्माणाधीन अवस्था जति असंगठित हुन्छ, त्यो सिनेमा बनेपछि त्यति नै ‘वाह’ हुन्छ र त्यति नै व्यवस्थित हुन्छ । छक्कापन्जा–१ हेर्न हलमा पुगेका धेरैलाई लागेको थियो, ‘हेर्न त हेरी हालौं न, नेपाली सिनेमा हो ।’ हेरिसकेपछि दर्शकहरूको धारणा बदलियो । भन्न थाले, ‘यो त राम्रो र रमाइलो पो रहेछ त ।’
छक्कापन्जा–२ को स्वागत पनि त्यसरी नै भयो । प्रशंसा पनि भयो । मैले दीपकसँग भनें, ‘तिमीले त छक्कापन्जा सिरियल नै बनाउन लाग्यौ कि के हो ? २ पछि ३ । अब ४ पनि बनाउने होला होइन ?’ उत्तरमा दीपकको जवाफ थियो, ‘चार त नबनाउने । छक्कापन्जाको तीन भागसम्म बनाएर हामीले यसलाई ब्रान्डका रूपमा स्थापित गर्यौं । अहिलेको जमानामा सिनेमामा सिक्वेलको ठूलो महत्व छ । दाजुलाई त थाहै छ, टम क्रूजको ‘मिसन इम्पस्सिबल’ का ६ भाग बनिसके । यही थिममा बनेका सिरियल त कति–कति ? भारतमा पनि सिंघम, हेराफेरीजस्ता थुप्रै सिनेमा बनेका छन् सिक्वेलमा । दर्शकले मागे छक्कापन्जा–४ बनाउँदैनौं भन्न मिल्दैन । त्यो अवस्था आएको खण्डमा त बनाउनैपर्यो, तर ३ पछिचाहिँ केही समय ग्याप हुन्छ ।’
सिक्वेलका रूपमा बन्ने सिनेमाहरूमा चरित्र त उही हुन्छन्, तर कथावस्तु, घटनाक्रम एवं परिवेश फरक हुन्छ । हामी शारीरिक द्वन्द्वमा अलमलिदैनौं, तर कन्ºिलक्ट हुन्छ हाम्रो सिनेमामा । अलिकति कला र बजारको मिश्रण हुन्छ कथामा । यस पटक हाम्रो कथाको विषय हो— शिक्षा । विषयका हिसाबले हामीले एकदमै नयाँ कुरा समातेका छौं । अहिलेको हाम्रो शिक्षा व्यवस्था राम्रो छैन । शिक्षाका नाममा जसोतसो शिक्षणलाई ठेलिराखेका छौं । हामी बेरोजगार उत्पादन गर्ने शिक्षा भनेर आलोचना त गर्छौं तर त्यसको विकल्पको खोजीमा जाँदैनौं ।
दीपकलाई सन्तोष छ— ‘सुरुमा धेरैले सिरियलबाट आएको मानिसले के सिनेमा बनाउला भने, तर हामीले यस्तो क्यानभास स्थापित गर्यौं कि सिरियलबाट आएको कसैले पनि सिनेमाको क्यानभास निर्माणको काम गर्नै सक्दैन भन्ने मान्यता नै भत्कियो ।’
बजेटका हिसाबले चाहिं सिक्वेलमा अलि बढी पैसा खर्च हुने अनुभव छ दीपकको । पहिलो छक्काको निर्माणमा ९० लाखको हाराहारीमा खर्च भएको थियो । दोस्रोमा, डेढ करोड खर्च भयो । अब यो तेस्रोमा चाहिं २ करोड खर्च पुग्नेवाला छ ।
फिल्मचाहिं सकभर आगामी घटस्थापनाका दिन सार्वजनिक गर्ने योजना छ । दीपक भन्छन्, ‘भएन भने फूलपाती त छँदैछ ।’