साप्ताहिक संवाददाता
मंसिर महिना ०७२ साल । बाँकेकी २६ वर्षीया अस्मिता जापान जाने उद्देश्यले भाषा सिक्न काठमाडौं आउँछिन् । उनी स्वयम्भूस्थित एक इन्स्टिच्युटमा जापानी भाषा सिक्न थाल्छिन् । त्यही क्रममा उनको भेट मुस्ताङ घर भएकी एक महिलासँग हुन्छ । ती महिलाले सागर श्रीषको नाम लिँदै उसले आफन धेरै आफ्न्तलाई सिंगापुर तथा अमेरिका पठाइदिएको कुरा सुनाउँछिन् । अस्मिता पनि श्रीषलाई भेट्न चाहन्छिन् ।
२०७३ जेठ महिनातिर सागर श्रीषसँग अस्मिताको भेट दरबारमार्गस्थित एक मल्टिनेसनल रेस्टुराँमा हुन्छ । त्यसपछि सागर श्रीषले अस्मितालाई अमेरिका जाने बाटो बताउँछन् । अमेरिका जान काठमाडौंबाट बैंकक हुँदै सिंगापुर जानुपर्छ, त्यहाँ अन्तर्वार्ता हुन्छ, अन्तर्वार्तामा पास भएपछि भिसा लिएर मेक्सिको पुग्ने र मेक्सिकोबाट अमेरिका पुग्न सकिने कुरा सागरले अस्मितालाई बताउँछन् । यतिमात्र होइन, श्रीषले उनीहरूलाई अमेरिका पुग्न प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने जानकारी दिन्छन् । प्रतिमहिना ३ लाख कमाइ हुने सपना पनि देखाउँछन् । अमेरिका नै जान पाइने भएपछि अस्मिता ३० लाख रुपैयाँ दिन तयार हुन्छिन् ।
०७३ को तिजको केही समयअघि अस्मिताले अमेरिका प्रोसेसिङका लागि भन्दै आफ्नो पासपोर्ट र २ लाख रुपैयाँ श्रीषलाई थमाउँछिन् । गाउँ फर्किएकी अस्मिताले आफू अमेरिका जान लागेको कुरा साथी राधालाई सुनाउँछिन् । राधाले मलाई पनि अमेरिका जान मन छ, यताबाट जाँदा तँ पैसा हालिदे, उता पुगेपछि दाजुसँग कुरा गरेर तँलाई फर्काउँला भन्ने कुरा गरेपछि एक्लै जाँदा गाह्रो हुने तथा साथी भए सजिलो हुने सोचेर अस्मिता राधाको प्रस्ताव मान्न तयार हुन्छिन् । दसैंताका राधा र अस्मिता दुवै राधाको अमेरिका जाने विषयको टुंगो लगाउन श्रीषलाई भेट्न काठमाडौं आउँछन् । काठमाडौं आएका उनीहरू कमलादीमा सागर श्रीषलाई राधाको पासपोर्ट दिएर उनको पनि प्रोसेसिङ सुरु गरिदिन आग्रह गर्दै नेपालगन्ज फर्कन्छन् ।
त्यसपछि उनीहरू दुवै तिहार मनाएर काठमाडौं फर्कन्छन् । काठमाडौं पुगेपछि उनीहरूले सागर श्रीषलाई फोन गर्छन् । यताबाट सागरले थाइ एयरलाइन्सको मंसिर २ गतेको टिकट बनिसक्यो, तयार भएर बस्नु सुरुको प्रोसेसिङका लागि मेरो प्रभु बैंकको खातामा १० लाख रुपैयाँ राखिदिनु भन्छन् । सागर श्रीषले भनेअनुसार नै अस्मिताले ९ लाख र राधाले १ लाख गरी १० लाख रुपैयाँ श्रीषको खातामा जम्मा गर्छन् । श्रीषले डकुमेन्टमा नाम फरक परेकाले त्यो दिन थाइल्यान्ड जान नसक्ने र ६ गतेको अर्को टिकट बनाएको कुरा बताउँछन् । ६ गते नै २–२ हजार डलर दिएर सागरले उनीहरूलाई बैंकक उडाउँछन् ।
अस्मिता र राधा २ महिनासम्म बैंककको एउटा अपार्टमेन्टमा बस्छन् । त्यसपछि २२ जुन २०१७ मा सागरले उनीहरूलाई मलेसिया पठाउँछन् । मलेसिया पुगेपछि उनीहरूले श्रीषलाई फोन गर्छन्, श्रीषले सिंगापुर महँगो भएकाले केही दिन त्यतै बस्नु, नेपालबाट अरु थप दुई जना आइसकेपछि मात्र सिंगापुर जानु भनेर अस्मिता र राधालाई अराउँछन् । उनीहरू १२ दिन मलेसियामा श्रीषले भनेकै होटलमा बस्छन् । उनीहरूसँग थप ५ लाख रुपैयाँ मागिन्छ, अस्मिताले आफ्नो घरमा फोन गरेर श्रीषको प्रभु बैंकको खातामा उक्त रकम जम्मा गर्न लगाउँछिन् ।
३ फ्रेबुअरी २०१७ मा त्यहाँबाट अस्मिता र राधा ७५/७५ डलर तिरी ट्याक्सीमा ३ दिन लगाएर सिंगापुर पुग्छन् । सिंगापुरमा विराटनगरका नीरज कार्की र म्याग्दीका मानबहादुर पुनले उनीहरूको बसोबासको प्रबन्ध गर्छन् । चार दिन उनीहरूले दुवै जनालाई क्लास दिएपछि अन्तर्वार्ताका लागि सिंगापुरस्थित मेक्सिकन दूतावास पुर्याउँछन् । फेब्रुअरी ८ मा उनीहरूले ५१/५१ डलर शुल्क तिरेर अन्तर्वार्ता दिन्छन् । त्यसपछि उनीहरूको भिसा नलागेर राहदानी फिर्ता हुन्छ । यो कुरा उनीहरूले श्रीषलाई सुनाउँछन्, श्रीषले उनीहरूलाई त्यहाँबाट नयाँदिल्ली आउन भन्छन् । श्रीषले मिलाइदिएकै जहाजबाट उनीहरू नयाँ दिल्ली आउँछन् । अस्मिता र राधालाई नयाँदिल्लीको पहाडगन्जस्थित कुनै होटलमा राखिन्छ ।
नयाँदिल्लीमा श्रीषले नै उनीहरूलाई बारा घर बताउने सुमित्रा कुँवरको नम्बर दिएर सम्पर्क गर्न भन्छन् । सुमित्रालाई फोन गरेपछि उनी आएर अस्मिता र राधालाई आफू बसेको होटलमा पुर्याउँछिन्, जहाँ उनीहरूको भेट पोखरा क्षेत्रमा घर बताउने धनबहादुर श्रेष्ठ तथा उनकी श्रीमतीसँग हुन्छ । नयाँदिल्लीमा सुमित्रा कुँवरले मसँगै यिनीहरू दुई जना पनि अमेरिका जान्छन्, कागजात तयार पारिदनु भनेर राहदानी धनबहादुरकी श्रीमतीलाई दिन्छिन् । सुमित्राले अस्मिता र राधासँग प्रोसेसिङका लागि थप १८ लाख रुपैयाँ माग्छिन् । राधाले पुन: घरमा फोन गरेर सुमित्राले भनेअनुसार नै अनिल बानियाँको एभरेष्ट बैंकको खातामा १० लाख रुपैयाँ जम्मा गर्न लगाउँछिन्, थप अपुग रकम अस्मिता र राधाले सागर श्रीषलाई दिएको पैसाबाट मिलाउँछन् । त्यसपछि सागर नयाँदिल्ली पुगेर ८ लाख रुपैयाँ सुमित्रालाई बुझाउँछन् ।
त्यसपछि जोडिन आइपुग्छन्— सुदर्शन गौतम । अस्मिताले बयानमा भनेकी छिन्, ‘सुमित्रा कुँवरले सुदर्शन दाइले सबै कागजात मिलाई पठाइदिसकेको छ, हामीले चलचित्र संस्कारको सुटिङका लागि हाइटी जानुपर्ने हुन्छ, हामीहरू कलाकारका रूपमा हाइटी पुग्छौं, उतैबाट सुटिङ मिलाएर युएसएको भिसा लिने हो, आफूहरूलाई हिरोनी सम्झी राख्नु, सुमित्राले हामीलाई सिकाएकी थिइन् ।’ यतिमात्र होइन, सुमित्राले उनीहरूलाई केपी फिल्मको कन्ट्याक्ट लेटर समेत देखाएर उनीहरूलाई दिल्लीबाट मस्को, म्याड्रिड, बोगोटा, चाइनाटाउन हुँदै डोमिनिक रिपब्लिक पुर्याउँछिन् । डोमिनिक रिपब्लिकमा उनीहरूले एक महिना बिताउँछन्, उक्त अवधिमा सुमित्राले दुवैलाई सुदर्शनसँग सम्पर्क भैरहेको भन्दै आश्वासन दिन्छिन् । त्यसपछि सुमित्राले सुदर्शनको हवाला दिँदै थप ११ लाख रुपैयाँ नपुगेको भनेर थप पैसा माग्छिन् ।
उक्त रकम अस्मिताका परिवारले लेकबहादुर पुनको प्रभु बैंकको खातामा जम्मा गर्छन् । रकम जम्मा भैसकेपछि उनीहरूलाई फिल्म सुटिङका लागि भन्दै हाइटी उडाइन्छन् । हाइटीको एयरपोर्टमा फिल्म सुटिङका लागि सहयोग गर्ने भनिएका ब्यक्ति चाल्र्स इलेस्टो उनीहरूलाई रिसिभ गर्न आउँछन् । चाल्र्सले उनीहरूको बसोबासको व्यवस्था मिलाउँछन्, उनीहरूको पासपोर्टलगायतका डकुमेन्टहरू लिन्छन् र फिल्मका लागि भन्दै विभिन्न ठाउँमा लगेर तस्बिर खिच्छन् । हाइटीमा थप ५ लाख रुपैयाँ दिन भनिएपछि अस्मिताले घरपरिवारलाई भनेर सुरज काफ्लेको सनराइज बैंकको खातामा ५ लाख रुपैयाँ जम्मा गर्न लगाउँछिन् । हाइटीमा ढिला हुन थालेपछि अस्मिता स्वयंले भाइबरमा सुदर्शनलाई फोन गर्छिन् ।
बयानमा उनले भनेकी छिन्, ‘मैले सीधै सुदर्शन गौतमसँग भाइबरमा कुरा गरी हाम्रो काम किन ढिला भएको भनी सोध्दा उसले मैले बनाएको योजनाअुनसार युएसए पुर्याउने काम गर्न गाह्रो भो, अब पानीजहाजबाट भए पनि हाइटीबाट पोभो भन्ने ठाउँमा आऊ, म त्यही आउँछु, त्यहीबाट म तिमीहरूलाई युएसए ल्याउँछु भनेकाले निज सुमित्रा कुँवरसहित हामी पानीजहाजमा चढ्न भनी हाइटीकै पोर्ट–औ–बो भन्ने ठाउँमा पुग्यौं ।’ पोभो जाने भनिएको उक्त जहाजमा अस्मिता, राधा र सुमित्रा गरी तीन जना नेपालीसहित अन्य १२ जना हुन्छन् । ७ घण्टामा पोभो पुग्ने भनिएको उक्त जहाजको इन्जिन त्यहाँबाट हिँडेको तीन घण्टापछि बिग्रन्छ । इन्जिन बिग्रिएको जहाजले दिशा पत्ता लगाउन सक्दैन, हावाको वेगमा जहाज कहिले कता त कहिले कता पुग्छ ।
जहाज हराएको १४ दिनसम्म उनीहरूले बोकेको खाद्यान, पानी सकिइसकेको हुन्छ । पानी खान नपाएपछि सुमित्रालाई ज्वरो आउँछ, त्यस क्रममा उनले समुद्रको पानी पिउँछिन् र उनको मृत्यु हुन्छ । लास सडेर गन्हाउने भएकाले उनको मृत शरीरलाई समुद्रमा फालिन्छ । हराएको जहाज १८ औं दिनमा बहामासको एनागोवा टापुस्थित प्रहरीको नियन्त्रणमा पुग्छ । त्यहाँको प्रहरीले बेहोस अवस्थामा रहेका उनीहरूलाई उद्धार गरेर हेलिकप्टरमार्फत बहामासको नासाउ भन्ने ठाउँको अस्पतालमा भर्ना गर्छ । चार दिनपछि उनीहरू होसमा आउँछन्, त्यसपछि त्यहाँबाट नेपाली राजदूतावास अमेरिकाले उनीहरूको उद्धार गर्छ । पाँच महिना त्यहाँको अध्यागमनमा बिताएपछि उनीहरूलाई क्युबा पठाइन्छ, क्युबामा कागजात बनाउन उनीहरूलाई थप २१ दिन लाग्छ । क्युबाबाट पेरिस, दुबई अनि ओमान हुँदै १६ पुस २०७४ मा उनीहरू काठमाडौं आइपुग्छन् ।
(घटनाकी पीडित युवतीले प्रहरीलाई दिएको बयानमा आधारित) यो रिपोर्टमा सम्बद्ध युवतीहरूको नाम परिवर्तन गरिएको छ ।)
मानव तस्करीमा अभिनेता सुदर्शन
हिरो बन्न हातखुट्टा चाहिँदैन,’ चलचित्र हिम्मतवालीमा अभिनेताको भूमिकामा देखिएपछि सुदर्शन गौतमले एक अन्तर्वार्तामा भनेका थिए । त्यति बेला उनको साहसको चौतर्फी प्रशंसा पनि भएको थियो । दुवै हात नभए पनि सगरमाथा चढेर कीर्तिमान राखेपछि उनको चर्चा थप चुलियो । अहिले तिनै नेपाली मूलका क्यानाडेली नागरिक सुदर्शन गौतम मानव तस्करी मुद्दामा मुछिएका छन् । विभिन्न व्यक्तिसँग मिलेर मानव तस्करी गिरोह चलाएको अभियोगमा नेपाल प्रहरीले गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको छ ।
‘मानव बेचबिखन तथा ओसार–पसारको यो घटनाको मुख्य अभियुक्त नै सुदर्शन गौतम हुन,’ यो घटनामाथि अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखाका प्रमुख तथा एसएसपी धीरजप्रताप सिंहले साप्ताहिकसँग भने, ‘घटनामा उसको संलग्नता पुष्टि भएको छ । थप कारबाही अघि बढाइरहेका छौं ।’
प्रहरीले नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा साउन २ गते गौतमसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको हो । उक्त मुद्दामा अदालतले वारेन्ट जारी गरेसँगै प्रहरीले सुदर्शनलाई मोष्ट वान्टेडको सूचीमा राखेर खोजी थालेको छ । गौतममाथि रेड कर्नर नोटिस जारी गरेर पक्राउ गरी नेपाल फर्काउन प्रहरीले इन्टरपोललाई गुहारिसकेको छ । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत गौतममाथि रेड कर्नर जारी गर्न पत्राचारसमेत गरिसकेको जनाएको छ ।
‘हामीले सुदर्शन गौतमलाई पक्राउ गर्न इन्टरपोललाई पत्राचार गरिसकेका छौं,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी मोहन थापाले साप्ताहिकसँग भने, ‘त्यो प्रक्रियामा छ, अब केही दिनमै उनीमाथि रेड कर्नर नोटिस जारी होला ।’
गौतमविरुद्ध दुई महिनाअघि प्रहरीमा परेको उजुरीका आधारमा मुद्दा दायर भएको हो । गौतमले अमेरिका लाने भन्दै बाँकेका दुई तथा वाराकी एक युवतीलाई हाइटीमा अलपत्र पारेको उनी विरुद्ध प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ । हाइटीमा अलपत्र परेका युवतीलाई अमेरिका लान उनले पोभो भन्ने ठाउँमा बोलाएका थिए । त्यहाँ गैरहेको जहाज बाटैमा बिग्रिएर खाना र पानीको समेत अभाव भएपछि १२ औं दिनमा तीन जनामध्ये एक महिलाको मृत्यु भएको थियो ।
अन्य दुई युवती भने १८ औं दिनमा अचेत अवस्थामा बहामासको एनागोवा टापु पुगे । त्यहाँको प्रहरीले अवैध रूपमा आइरहेको पानी जहाजलाई नियन्त्रणमा लिएपछि उनीहरूको उद्धार गरेर नेपाल फर्काइएको थियो ।
उद्धार गरेर ल्याइएका युवतीको उजुरी तथा बयानका आधारमा गौतमविरुद्ध मानव बेचबिखनको मुद्दा दायर गरिएको हो । महानगरीय अपराध महाशाखाका एक अधिकारीका अनुसार पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि उक्त घटनामाथि अनुसन्धान अघि बढाइएको थियो । ‘दुई महिनाअघि पीडितहरू हामी कहाँ आए,’ ती अधिकारीले साप्ताहिकसँग भने, ‘हामी मानव बेचबिखनमा पर्यौं, हाम्रो पैसा ठगियो भनेर उजुरी दिएपछि हामीले अनुसन्धान गर्दा यसको तार सुदर्शनसँग जोडिन पुगेको हो ।’ अनुसन्धानका क्रममा एक महिलाको मृत्यु भएको रहस्यसमेत खुल्यो ।
साप्ताहिकलाई प्राप्त अदालतमा पेस भएको पीडितको जाहेरी तथा घटनाको विवरणमा दुई युवतीमध्ये एउटीले आफूबाट ५३ लाख ७३ हजार तथा अर्कीले ६८ लाख ५५ हजार रुपैयाँ क्षतिपूर्तिको माग गर्दै गौतमसहित अन्य अभियुक्तविरुद्ध मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण ऐनअनुसार कारबाही चलाउन माग गरेका छन् । उनीहरूले आफूमाथि ठूलो मानसिक दबाद दिएको, विभिन्न ठाउँमा लगेर अलपत्र पारिएको पनि बयानमा उल्लेख गरेका छन् ।
गौतमले अन्य कतिपय व्यक्तिबाट अमेरिका र क्यानाडा लाने भन्दै ठगी गरेको त ती दुवै देशमा मानव तस्करी गरेको समेत अनुसन्धानबाट खुलेको छ । दुई वर्षअघि पनि गौतम यस्तै काण्डमा मुछिएका थिए । काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको उक्त मुद्दाका एक प्रतिवादी लेकबहादुर पुनले आफ्नो बयानमा सुदर्शनले अमेरिकामा सुटिङ हुने एउटा चलचित्रका लागि १६ जना मानिस चाहिएको भन्दै २२ लाख रुपैयाँ पठाउन लगाएको र पछि सुटिङ नहुने भयो भन्दै उक्त रुपैयाँ फर्काएको कुरा उल्लेख गरेका छन् । पुनले त्यसपछि सुदर्शनले फेरि फोन गरी क्यानाडामा चलचित्र सुटिङ हुने र त्यसका लागि ६४ लाख रुपैयाँ मागेको अनि उक्त रकम आफूले सुदर्शनले भनेअनुसार नै विभिन्न व्यक्ति तथा कम्पनीको खातामा पठाएको बयान प्रहरीलाई दिएका छन् । तीन महिनासम्म पनि काम नभएपछि पुनले गौतमलाई उक्त रकम फिर्ता दिन दबाब दिए । त्यसपछि गौतमले पटक–पटक गरी ५२ लाख रुपैयाँ फिर्ता गरेका थिए भने अझै आफूहरूको १० लाख फिर्ता रुपैयाँ गरिनसकेको पुनको बयानमा उल्लेख छ ।
यसरी खुल्यो रहस्य
युवतीहरूले प्रहरीमा उजुरी दिएपछि महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा एकपछि अर्को नाम खुल्दै गए । त्यस क्रममा प्रहरीले गत असारमा बागलुङका सागर श्रीष, ओखलढुंगाका अनिल बानियाँ, म्याग्दीका लेकबहादुर पुन तथा बाँकेका सुरज काफ्लेलाई पक्राउ गर्यो । पीडित र पक्राउ परेकाहरूको बयानका आधारमा अनुसन्धान गर्दै जादा मुख्य नाइके गौतम भएको खुल्न आयो । त्यसपछि प्रहरीले सुदर्शनसहित पक्राउ परेका ५ जना विरुद्ध मुद्दा दायर गरेको बताइन्छ ।
उक्त मुद्दा दायर भएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने सुदर्शनका नाममा वारेन्ट जारी गरेको छ । उक्त वारेन्टसँगै प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल झिकाउने तयारी अघि बढाएको हो । यो घटनासँग जोडिएका केही व्यक्ति अझै फरार छन् ।
को हुन् सुदर्शन गौतम ?
रामेछाप जिल्लाको गुन्सीमा जन्मिएका ४० वर्षीय सुदर्शन गौतम क्यानाडाका नागरिक हुन् । गौतमले केही वर्षअघि क्यानाडाकै नागरिकको हैसियतले सगरमाथा आरोहणसमेत गरेका थिए । गौतमको नाममा दुवै हात नभए पनि सगरमाथा आरोहण गरेको विश्व कीर्तिमान छ । झन्डै २७ वर्षअघि गौतम १३ वर्षको छँदा आफ्नै घरको छतमा रड लिएर खेल्ने क्रममा रडले बिजुलीको तार छोएपछि उनी दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काट्नुपरेको थियो । खुट्टाले लेखेर एसएलसी उत्तीर्ण गरेका गौतम कारसमेत खुट्टैले चलाउँछन् । क्यानाडा सरकारले ‘मोटिभेसनल गेस्ट स्पिकर’ का रूपमा त्यहाँको संस्थामा बोल्न बोलाएपछि श्रीमती अम्बिका हमालसहित उनी सन् २००५ मा क्यानाडा गएको बताइन्छ । गौतमले क्यानाडामा आफ्नै रेष्टुरा सञ्चालन गर्दै आएका छन् ।
आफ्नै व्यवसायमा आबद्ध भएकै बेला उनी अभिनेत्री रेखा थापाको सम्पर्कमा आए । अभिनेत्री थापासँग भेट भएपछि उनी नेपाली चलचित्रप्रति आकर्षित भए । आफ्नै लगानीमा रेखालाई नायिका बनाउँदै उनले चलचित्र ‘हिम्मतवाली’ तयार पारे, जसमा उनी आफैंले अभिनेताको भूमिका निर्वाह गरेका थिए । हिम्मतवालीको छायांकनका क्रममा रेखा र सुदर्शनको प्रेम सम्बन्धका बारेमा थुप्रै गसिपसमेत बनेका थिए ।