साप्ताहिक संवाददाता
जिन्स सदाबहार रूपमा लोकप्रिय छ । जिन्स जुनसुकै मौसममा पनि लगाउन सकिन्छ । नेपाली युवाहरूमा पनि जिन्सको मोह उत्तिकै छ । जिन्सका पहिरन बालकदेखि वृद्धासम्मले रुचाउँदै आएका छन् । जिन्सले युवाहरूमा एउटा छुट्टै छाप छाडेको छ । युवाहरूमा जिन्सका कोट, पाइन्ट, ज्याकेट तथा महिलाहरूमा पाइन्ट, स्कर्ट, कोट आदि लोकप्रिय छन् । जिन्सका आइटम जाडोको तुलनामा गर्मीमा बढी रुचाइन्छ । गर्मी मौसममा जिन्सको ट्रेन्ड कस्तो छ, कस्तो रङले बजार पाएको छ ? कुन आइटम ट्रेन्डमा छ ? जिन्स डिजाइनर सुनिल महर्जनको धारणा:
गर्मीमा हल्का रंग
गर्मी मौसममा जिन्सका आकाशे तथा हल्का रंगका पहिरन ट्रेन्डमा आउँछन् । कतिपयले कालो रंग पनि प्रयोग गरिरहेका हुन्छन्, तर कालोले घाम सोस्ने भएकाले यो मौसममा धेरैले कालो जिन्स रुचाउँदैनन् । युवाहरूमध्ये धेरैले हल्का रंगको जिन्स प्रयोग गर्छन् भने उमेर ढल्किएकाहरूले गाढा रंगका जिन्स रुचाउँछन् ।
जिन्सको स्टाइल
जिन्सको स्टाइल समय–समयमा परिवर्तन भैरहन्छ, तैपनि गर्मीमा धेरै जसो ह्याभी ग्रन्च पाइन्ट रुचाइन्छ । ग्रन्च पाइन्ट एक हिसाबले स्टाइलिस र गर्मी मौसममा सितल हुने भएकाले पनि चलनचल्तीमा छ । यस्तै, बढी वास भएका जिन्स युवाहरूको रोजाइमा पर्छन् । अधवैंसेहरूले भने ग्रन्च र धेरै वास भएका पहिरन रुचाउँदैनन् । उनीहरू गाढा रंगमा फर्मल लुक्स भएका जिन्स प्रयोग गर्छन् ।
जिन्सको ट्रेन्ड
युवायुवतीहरूमा अहिले स्किनी जिन्सको फेसन ट्रेन्डमा छ । यसमा स्ट्रेचेवल फेब्रिकमा लाइक्रा मिसिएको हुन्छ । जसले गर्दा टाइट फिटिङ लगाउँदा पनि सहज हुन्छ । अझै भन्ने हो भने यो फेब्रिकको पाइन्टमा मोटरसाइकल चलाउन तथा हिँडडुल गर्न निकै सहज हुन्छ । स्ट्रेचेवल लगाउन पनि सहज हुने भएकाले यतिबेला बालकदेखि वृद्धसम्ममा यिनै आइटम ट्रेन्डमा छ ।
युवतीहरूमा हट पाइन्ट
यतिबेला युवतीहरूमा हट पाइन्ट ट्रेन्डमा छ । युवतीहरूले धेरैजसो हल्का रंग नै रुचाउँछन् भने त्यसमा हाफ पाइन्ट, पाइन्ट, हाइवेस्ट, स्कर्ट आदि रुचाइन्छ ।
जिन्सका डिजाइन
नेपाली बजारमा हाल ग्रन्च, स्किनी स्ट्रेचेवल, बुट कट डिजाइनका जिन्स उपलब्ध छन् । यीमध्ये पनि ग्रन्च डिजाइनका पहिरन बढी लोकप्रिय छन् ।
जिन्सका पहिरन किन्दा ध्यान दिनुपर्ने कुराहरू :
गर्मी मौसममा शरीरमा टाँसिने भन्दा पनि अलि लुज जिन्स लगाउन सहज हुन्छ ।
पातलो अनि स्ट्रेचेवल फेब्रिक प्रयोग भएका जिन्स खरिद गर्नु उपयुक्त हुन्छ ।
जिन्स खरिद गर्दा रंगमा पनि ध्यान पुर्याउनुपर्छ । भरसक कालो अथवा गाढा भन्दा पनि उज्यालो रंगका जिन्स किन्नु बुद्धिमानी हुन्छ ।
जिन्सका पहिरन किन्दा ध्यान दिनुपर्ने भनेको त्यसको वास हो । आफूले किन्न लागेको जिन्स केमिकल वा स्टोन वास के गरिएको छ थाहा पाउनुपर्छ । केमिकलले वास गरिएको जिन्स धुँदा रंग जान्छ । त्यसैले स्टोन वास भएकै जिन्स खरिद गर्नु राम्रो हो ।