साप्ताहिक संवाददाता
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा नेपालका लागि पदकको सबैभन्दा बढी सम्भावना भएका खेलाडी हुन्, पर्शुराम बास्तोला । उनी कराँतेका खेलाडी हुन् र उनको विधा हो, एकल काता । सम्भवत: यो उनको अन्तिम एसियाली खेलकुद हो, किनभने उनी ३२ वर्षका भैसकेका छन्, त्यसैले बास्तोला यो संस्करणमा पदकका लागि बढी मेहनत गर्ने पक्षमा छन् । बास्तोला ०५२ सालमा कराँतेमा प्रवेश गरेका थिए, अहिले उनी आफ्नो खेल जीवनको सबैभन्दा महत्वपूर्ण मोडमा छन् ।
यसपटकको तयारी कस्तो छ ?
चार वर्षअघि दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा पनि सहभागी भएको थिए । पहिलेको तुलनामा मेरो तयारीलाई राम्रो भन्न सकिँदैन । अब हामी वैदेशिक प्रशिक्षणमा पनि जाँदैछौं । जापानमा हुने प्रशिक्षणमा अझ कडा मेहनत गर्नेछौं ।
पदकको सम्भावना कति छ ?
प्रत्येक खेलाडीको उद्देश्य पदक जित्नु नै हुन्छ । मेरो उद्देश्य पनि त्यही हो । पदकका लागि कठिन परिश्रमिक गर्नेछु ।
पदकको सम्भावना कसरी देख्नुहुन्छ ?
सबैभन्दा ठूलो कुरा चार वर्षयता म निकै अनुभवी भएको छु । पछिल्लो एसियाली खेलकुदपछिका चार वर्ष मैले थुप्रै प्रतियोगितामा सहभागिता जनाएँ । केही समयअघि जर्मन ओपनमा स्वर्ण पदकसमेत जितें । अहिले यी सबै अनुभव बोकेर इन्डोनेसिया जान लागेको छु ।
यसअघिको एसियाली खेलकुदमा तपाईंको प्रदर्शन कस्तो थियो ?
पदकको नजिकसम्म पुगेको थिएँ, तर त्यसलाई आत्मसात् भने गर्न सकिनँ । अन्त्यमा वरियता क्रम निकाल्दा म पाँचौं स्थानमा रहें । त्यसैले पनि म यसपटक उत्साहित छु । पछिल्लो दक्षिण एसियाली खेलकुदमा कराँतेलाई समावेश गरिएको थिएन । यसअघि बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा भने मैले कांस्य पदक हात पारेको थिएँ ।
कराँतेमा नेपाल कुमुतेमा भन्दा कातामा बलियो हो ?
हुन सक्छ, एसियाली खेलकुदमा काताबाटै नेपालले पहिलो पदक जितेको हुनाले पनि यस्तो भनिएको हुन सक्छ । त्यतिबेला इन्चेनमा विमला तामाङले नेपालका लागि एक मात्र कांस्य पदक जितेकी थिइन् ।