साप्ताहिक संवाददाता
अर्जेन्टिनाका प्रसिद्ध फुटबलर म्याराडोनाले आफू भन्दा २८ वर्ष कान्छी गर्लफ्रेन्ड रोसिओ ओलिभासँग इन्गेजमेन्ट गरेका छन् । ५७ वर्षीय म्याराडोनाले ब्युनस आयर्समा ओलिभाको बर्थडे पार्टीमा ४५ जना पाहुनाका सामू डाइमन्ड रिङ प्रदान गरी उनलाई प्रस्ताव गरेका थिए । उक्त अवसरमा ओलिभाकी आमा तथा म्याराडोनाकी छोरी जाना खुसीले उफ्रिएका थिए । उक्त अवसरमा ओलिभाले आफू पहिले सिंगल गर्ल भएको र अब पूर्ण महिला हुने बताएकी थिइन् ।
म्याराडोनाले सन् १९८४ मा क्लाउडिया भिलाफानेसँग विवाह गरेका थिए, तर उनीहरू बीचको सम्बन्ध सन् २००३ सम्म मात्र चल्यो । ओलिभासँग म्याराडोनाको पहिलो भेट २०१२ मा भएको थियो । ओलिभा पनि व्यावसायिक फुटबलर हुन् । उनले थुप्रै क्लबका तर्फबाट फुटबल खेलिसकेकी छिन् । विभिन्न अवसरमा उनी म्याराडोनासँगै हुन्थिन् । केही दिन अघि रुसमा सम्पन्न फिफा विश्वकपका बेला पनि उनी म्याराडोनाका साथ देखिएकी थिइन् ।