साप्ताहिक संवाददाता
विवाहपश्चात् कुनै दम्पतीको कुराकानीमा प्राय:गरी घरको बजेट, बालबालिकाको पढाइ, आमाबुबाको स्वास्थ्य एवं अन्य सामाजिक मुद्दा नै हाबी हुन्छ । विवाह भएको समय बित्दै गएसँगै थोरै मात्र व्यक्ति रोमान्स र प्रेमलाई आफ्ना कुरामा जीवित राख्न सक्छन् । दैनिक व्यवहारका समस्या उनीहरूमाथि यसरी हावी हुन पुग्छन् कि आपसमा दूरी नभए पनि दूरी महसुस हुन थाल्छ । यसको कारण व्यक्ति स्वयं नै हुन्छ । कैयन् अवस्थामा मानिसले आफ्नो व्यक्तिगत जीवनको अस्तित्व छ भन्ने कुरासमेत बिर्सन्छ । एउटा दम्पतीको निजी जीवनलाई सुदृढ गर्न उसको बेडरुम लाइफको ठूलो योगदान हुन्छ । बेडरुममा हुने कुराकानी विशेष गरी रोमान्टिक पलहरूमा हुने कुराकानीले सम्बन्धलाई सुमधुर राख्न महत्वपूर्ण योगदान पुर्याउँछ ।
बेडरुममा तनावका लागि कुनै स्थान हुनु हुँदैन । आफ्नो बेडरुमलाई सही अर्थमा सुविधा र आरामको स्थानका रूपमा लिनुपर्छ । बेडरुम अत्यन्त निजी स्थान हो र त्यसलाई त्यही भावमा विकसित गर्नुपर्छ । त्यसको सजावटमा आफूलाई मन पर्ने कुरालाई प्राथमिकता दिनुपर्छ । यसबाट उक्त कोठामा पुग्नेबित्तिकै मुडमा प्रभाव पर्छ । दुवै पार्टनरले यसैगरी काम गरे बेडरुम वास्तवमै आरामदायक हुन सक्छ । यदि बेडरुमको एम्बियन्समा कुनै कमी छ भने त्यसको प्रभाव पनि आपसी सम्बन्धमा पर्छ ।
प्राय: त्यही कुरा उनीहरूबीच चर्चाको विषय बन्न पुग्छ । अत: बेडरुमको वातावरण दुवैका लागि रुचिकर होस् भन्ने प्रयास गर्नुपर्छ । यदि कारणवश आफूमा तनाव छ भने पनि त्यसलाई बेडरुम बाहिरै राख्नुपर्छ । बेडरुम व्यक्तिको निजी स्थान हुने भएकाले यसमा अरू कसैको प्रवेश उसको स्वीकृति बिना हुन सक्दैन । जसरी विवाहको वर्ष बित्दै जान्छ, दम्पतीहरू आफ्नोभन्दा अरूको कुरा गर्न थाल्छन् । बेडरुममा अरूका कुरालाई प्रवेश दिनुहुँदैन । आफ्नो समय मात्र आफ्ना लागि सुरक्षित राख्नुपर्छ । बालबालिका, परिवार, घरको बजेट वा यस्तै अन्य मुद्दालाई बीचमा ल्याएर यो महत्वपूर्ण समयको महत्त्व कम गर्नुहुँदैन ।
हरेक व्यक्ति आफ्नो प्रशंसा सुन्न रुचाउँछन् । विशेषज्ञहरूका अनुसार सुखद अनुभूतिका लागि राम्रो मुड अत्यन्त सहायक हुन्छ । आफ्नो पार्टनरको शारीरिक सुन्दरताको प्रशंसा गर्नुपर्छ । हरेक व्यक्तिले आफ्नो प्रशंसापश्चात् बढी कन्फिडेन्स महसुस गर्छ ।
आफ्नो पार्टनरको शरीर वा हाउभाउको प्रशंसा गर्दा यौन क्रियामा उसको पर्फमेन्स राम्रो बन्न पुग्छ । यस्तो प्रशंसाको उद्देश्य आफ्नो पार्टनरलाई सहज महसुस गराउनु भएकाले आफ्नो मुडलाई रोमान्टिक राख्नुपर्छ । प्राय: पुरुषहरू महिलाको प्रशंसा गर्छन् र महिलाहरूले खुसी भएर उक्त प्रशंसा स्वीकार गर्छन् ।
हरेक व्यक्तिको बेडरुम कल्पना हुन्छ । यौनजीवनसँग सम्बन्धित यस्तो कल्पना गलत पनि होइन । प्राय: व्यक्तिले यसलाई आफ्नो पार्टनरसँग लुकाउँछन् । यौन कल्पना व्यक्त गर्दा लाजको पर्दा हटाउन सक्नुपर्छ । कल्पना अत्यन्त निजी अभिव्यक्ति हुन्छ । सम्भव भएसम्म आफ्नो पार्टनरसित खुलेर यस विषयमा संवाद गर्नुपर्छ, जसले गर्दा एकअर्कालाई बुझ्न बढी सहज र सम्भव तुल्याउँछ । सेक्स फेन्टासीले आफ्नो पार्टनरको अर्को पक्ष बुझ्न मद्दत गर्छ । यो विषयमा आपसी कुराकानीले निकटता अझ बढ्छ । कैयन् व्यक्ति सेक्स फेन्टासीका सम्बन्धमा चर्चा गर्न गर्न चाहँदैनन् । कारण सामाजिक दायराका अनुसार यस्तो कुराको चर्चा नराम्रो कुराको अर्थात् उच्छृङ्खल श्रेणीमा पर्छ । यसमा नराम्रो केही हुँदैन ।
राम्रो यौनजीवन हरेक व्यक्तिको आवश्यकता हो । यस प्रकारको कुराकानीले एक–अर्कालाई बुझ्न मद्दत गर्छ । अत: यसलाई राम्रो वा नराम्रोको श्रेणीबाट हटाएर हेर्नु नै श्रेयस्कर हुन्छ । बेडरुम कुराकानीले मुडलाई राम्रो बनाउन सक्छ भने बिगार्न समेत सक्छ । आफ्नो चाहना वा फेन्टासिका बारेमा कुरा गर्दा यस्ता शब्द चयन गरिनुपर्छ जसले पार्टनरलाई आनन्द प्रदान गरोस्, उसलाई मन परोस्, न कि उसको मुड खराब गरोस् । आफ्नो कुरा व्यक्त गर्दा पार्टनरको भावना बुझ्नु जरुरी हुन्छ ।