साप्ताहिक संवाददाता
पगानी जोन्डा एचपी बार्सेटा विश्वकै सर्वाधिक महँगो कार भएको छ । यसको मूल्य १३ दशमलव ५ मिलियन पाउन्ड अर्थात् करिब १ अर्ब ९५ करोड रुपैयाँ पर्छ । यो कारलाई १ सय किलोमिटर प्रतिघण्टाको स्पिड लिन ३ दशमलव १ सेकेन्ड मात्र लाग्छ ।
हालै बेलायतको पश्चिमी ससेक्समा आयोजित गुडवुड फेस्टिभल अफ स्पिड–२०१८ मा उक्त कारको प्रदर्शन गरिएको थियो । पगानी जोन्डाको एचपी बार्सेटामा ७ दशमलव ३ लिटरको इन्जिन छ, जसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ जसले ७८९ बीएचपी पावर दिन्छ ।
३ सय ४६ किलोमिटर प्रतिघण्टा गुड्न सक्ने यो कार कार्बन फाइबरबाट बनेको हुनाले यसको बडी मजबुत हुनुका साथै त्यसले यसलाई कर्भी र सानदार लुक्स प्रदान गरेको छ । कम्पनीले यस्ता कार तीनवटा मात्र बनाएको छ । तीमध्ये एउटा कार कम्पनीले आफै राख्नेछ । गुडवुड फेस्टिभल प्रत्येक वर्ष आयोजना गरिने इभेन्ट हो । यसमा ऐतिहासिक मोटर रेसिङ कारहरू प्रदर्शन गरिन्छ । यो इभेन्ट प्रत्येक वर्ष जुनको अन्त्य वा जुलाईमा आयोजित हुन्छ ।