साप्ताहिक संवाददाता
नेपाली बजारमा किसिमकिसिमका पेय पदार्थ उपलब्ध छन् । यस्ता पेय पदार्थ ४० प्रतिशतको हाराहारीमा नेपालमै उत्पादन हुन्छन् भने बाँकी भारत, हवाई, सिंगापुर, बंगलादेश आदिबाट आयात गरिन्छन् । क्यान, बोतल तथा टेट्रा प्याकमा उपलब्ध यस्ता थरीथरीका जुस स्वास्थ्यका दृष्टिले उपयोगी मानिन्छन् ।
नेपाली बजारमा दुई थरीका प्रिप्याक्ड जुस पाइन्छन् । पहिलो नेक्टर, दोस्रो जुस । नेक्टर भनेको कुनै पनि फलको शुद्ध रस हो भने जुसमा फलको गुदीमा पानी, चिनी आदि मिसाइएको हुन्छ । जुसभन्दा नेक्टरको मूल्य महँगो हुन्छ ।
नेपालमा सर्वाधिक रुचाइएको जुस आँपको जुस हो । यो लगभग सबै ब्रान्डमा उपलब्ध छ । नेपालमा भित्रिने अधिकांश आँपको जुस भारत तथा बंगलादेशबाट आउँछन् । नेपालको बजारमा आँपपछि क्रमश: सुन्तला, भुँइकटहर, स्याउ, अनार, अम्बा, मिश्रित तथा अंगुरका जुस लोकप्रिय छन् । त्यसबाहेक नेपालमा क्रेनबेरी, किवि, एभोकाडो, वाटरमेलोन जस्ता जुस पनि उपलब्ध छन् । यी जुस बढीजसो बिरामीले प्रयोग गर्छन् ।
नेपालमा सबैभन्दा बढी लोकप्रिय जुस ब्रान्ड रियल नै हो । रियल जुस नेपालमै पनि उत्पादन हुन्छ भने केही भारतबाट समेत आयात गरिन्छ । त्यस बाहेक बंगलादेशको प्रान ब्रान्डको जुस पनि नेपालमा लोकप्रिय मानिन्छ । थापाथलीस्थित बीएन्डबी फ्रुट सपका वैजनाथ गुप्ता क्यान, बोतल तथा टेट्रा प्याकेटको जुसभन्दा ताजा जुस पिउन सल्लाह दिन्छन् । प्याकेटको जुसले हानी गर्छ । गुप्ता भन्छन् –केही महँगो भए पनि ताजा जुस पिउनु नै स्वस्थ्यकर हुन्छ । ताजा जुसको हकमा बनाउन सजिलो भएकाले नरिवलको पानी, उखु तथा मौसमीको रस बढी लोकप्रिय मानिन्छन् ।