हालै कुरैकुरामा काठमाडौं बाहिर बस्ने साथीले बेलाबखत काठमाडौं आए पनि धेरै दिन बस्न नसक्ने प्रसंग सुनाएर हँसायो । किन र के समस्या हुन्छ त्यस्तो भन्दा उसले भन्यो— यो काठमाडौंमा सबै जना जतिबेला पनि मिटिङमा हुन्छन् यार ! जोसँग भेट्न खोजे पनि मिटिङमा छु भन्छन् । मिटिङ बसेर खासै कसैले केही प्रगति गर्या जस्तो लाग्दैन, तर जो पनि मिटिङमै हुन्छन् ! म पनि आफनो ठाउँमा काम गर्छु, म पनि पैसा कमाउँछु, मेरो त खासै मिटिङमा हुँदैन, तर यहाँ जसलाई भेटन खोजे पनि मिटिङमा छु मात्र भन्छन् । चौबीसै घन्टा बस्नुपर्ने मिटिङमा के–के कुरा हुन्छ, बुझ्न मन छ मलाई पनि, तिमीहरूको मिटिङमा बेला बोला न यार, —उसले व्यंग्य कस्यो ।
उसले व्यंग्य गर्ने तवरले यो कुरा भनेको भए पनि उसको कुरामा दम थियो । कुरा गज्जब लाग्यो । यो सहर नै यस्तो छ, मानिस बिहान उठेदेखि कुदेका कुद्यै देखिन्छन् । किन कुद्या हुन कता कुद्या हुन कुदेर के–के कमाउँछन् कि गुमाउँछन् पनि पत्ता लगाउन गाह्रो छ । बिहान हिंडेको मान्छे बेलुकासमेत बेलामा घर फर्कंदैन र घरका सदस्यले आउनेबेला भएन भनेर सोध्दा मिटिङमा छु क्या, एकछिनमा आइहाल्छु भन्ने जवाफ आउँछ । होइन, कहिल्यै नसकिने कस्तो मिटिङ रै’छ, के काम रैछ भनेर घरका मानिस पनि आजित हुन्छन् । साँच्चै मिटिङमा हो कि सिटिङमा हो भेउ पाउन मुस्किल छ । अधिकांश गृहिणीले घरका छोराछोरी वा श्रीमान्लाई प्राय फोन गर्दा मिटिङमा छु, एकछिनमा कल गर्छु है भन्ने जवाफ सुन्नुपर्छ । साँच्चै ठूलै काममा रै’छन् क्यारे भनेर फोन राख्यो न मिटिङ
सकिन्छ न उताबाट फोन आउँछ न मान्छे आईपुग्छ ।
खासमा यो सहरमा प्राय: घरबाट निस्केर काममा गएकाहरूले मिटिङमा छु भनेर धेरै कुरा टार्छन् वा पन्छाउँछन् । घरबाट फोन आएका बेला साथीहरूसँग बसेर गफ गरिरहेको हुन सक्छ, कतै घुम्न गएको हुन सक्छ, प्रेमी वा प्रेमीकासँग रेस्टुराँमा बसिरहेको हुन सक्छ । अब फोन गर्नासाथै खाली छु भन्यो भने त घर गैहाल्नुपर्यो, तर अफिसको काममा छु मिटिङमा छु भन्यो भने त बहाना भयो । होइन, महत्वपूर्ण नै त होला नि भनेर करकर पनि नगर्ने भए र आफनो समय लिएर मस्ती गर्न पाइयो, त्यसैले मिटिङमा छु भनेपछि टन्टै साफ । कार्यालयको हाकिमलाई कसैसँग भेट्न मन लागेन वा कसैलाई कुराउन मन लाग्यो भने पनि मिटिङमा छु भनिदिए टार्न सजिलो हुन्छ । मिटिङमा छु भनेपछि भेट्न नखोज्नेले राहत पाउँछन् भने भेट्न पर्नेले आहत पाउँछन् ।
देशका नेताहरू बिहानदेखि मध्यरातसम्म मिटिङमा बस्छन् । संसद्मा मिटिङ हुँदाहुँदै कति नेता निदाउँछन् त कति घुर्छन् । मिटिङ बसेर कहिले समाधान पनि निकाल्छन् भने कहिले बबन्डर पनि मच्चाउँछन् । पत्रकारले आजको मिटिङमा के निर्णय भयो भनेर सोध्दा फेरि अर्को मिटिङ बस्ने कुरा भयो भनेर हैरान पार्छन् । जति कुरा गरेपनि निष्कर्षै ननिस्कने कस्तो कुरा रै’छ भनेर जनता हैरान हुन्छन् । दिनहुँ मिटिङ भनेर हिंड्या छ, न कमाइ छ न केही निधो छ न केही प्रगति छ भएपछि चाहिं जनता पनि घरका मान्छे पनि आजित हुन्छन् ।
यद्यपि मिटिङ सक्किएर सत्ता र भत्ता हात परेपछि चाहिँ सबै खुसी हुन्छन् । कुनै पनि कुराको निचोडमा पुग्न कहिलेकाहीं बेर लाग्छ । एउटै र उही कुरा सबैलाई पालैपालो बुझाउन समय पनि लाग्छ । कतिको एउटै कुरामा अड्ने वा हलो अड्काएर अत्तो थाप्ने बानीले पनि मिटिङलाई लम्ब्याउँछ । कतिपयले मिटिङबाटै धेरै समस्याको समाधान गर्छन् भने भविष्यको खाका पनि कोर्छन । गफै नगरी कुरै नगरी काम थाल्नु पनि हुँदैन ।
मिटिङमा छु है भनेपछि व्यक्तिगत समय लिन पाइन्छ । कामका लागि मिटिङमा बस्नु त रामै्र हो तर बहानाबाजी गरेर कर्तव्यबाट पन्छिन वा भाग्न खोज्या हो भने चाहिँ कुन दिन रंगेहात फेला परिन्छ भन्न सकिँदैन । तपाईंहरूचाहिँ कत्तिको मिटिङमा बस्नुहुन्छ ? कि अहिले पनि मिटिङमै हुनुहुन्छ ? Facebook.com/abeeralthapa
Twitter@abeeralthapa