कास्कीमा सञ्चालनमा रहेका दोहोरी साँझको संख्या २२ छ, जसमा निरमाया दोहोरी साँझ, मान्द्रो दोहोरी साँझ, पोखरा दौतरी दोहोरी साँझ, गाउँ शहर दोहोरी साँझ, न्यु रुपाहिल दोहोरी साँझ, बिन्ध्यवासिनी दोहोरी साँझ, शिखर दोहोरी साँझ, सान्नानी दोहोरी साँझ, फेवा दोहोरी साँझ, रिमझिम दोहोरी साँझ, दर्पणछायाँ दोहोरी साँझ, वर–पीपल दोहोरी साँझ, सात ताल दोहोरी साँझ, विसौनी दोहोरी साँझ, चौतारी दोहोरी साँझ, सुनगाभा दोहोरी साँझ, नौमती दोहोरी साँझ, सेन्टर पोइन्ट रोधी घर प्रमुख छन् ।
यसैगरी पोखरा रोधी घर, भञ्ज्याङ दोहोरी साँझ, साइनो दोहोरी साँझ, रिदम दोहोरी साँझ पनि सञ्चालनमा छन् । पोखराको बगरदेखि, महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्विचोक, अम्मरसिँहचोक, विरौटा, तालचोक आदि ठाउँ दोहोरी साँझका पायक गन्तव्य हुन् । पोखरामा दोहोरी साँझ ७.३० बजेदेखि राती ११ बजेसम्म सञ्चालन हुन्छन् ।
एल्बम बिक्री शून्यमा पुगेर पीडित भएका कलाकारहरूले विकल्पका रूपमा दाहोरीसाँझमा काम गरी गुजारा चलाउँदै आएका छन् । यस क्रममा दोहोरी साँझ सञ्चालन गर्ने कलाकारको संख्यामा समेत व्यापक वृद्धि भएको छ । कास्कीमा सञ्चालित दोहोरी साँझमा झण्डै एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कास्कीमा सञ्चालित दोहोरी साँझमा मात्र १५ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको लोक दोहोरी रेस्टुराँ व्यवसायी संघ पोखराका अध्यक्ष जीवन गुरुङले बताए ।
लोकदोहोरीगायक प्रजापति पराजुलीले वि.सं. २०५० फागुन ३ गते आफ्नै घरमा ‘दोहोरी रेस्टुरेन्ट दोहोरी साँझ’ सञ्चालन गरी पोखरामा दोहोरी साँझको शुरुवात गरेका थिए । उक्त दोहोरी साँझ नेपालकै पहिलो दोहोरी साँझ भएको दावी पराजुलीको छ । हाल यो दोहोरी सञ्चालनमा छैन ।
पोखरामा सञ्चालनमा आएका सुसेली दोहोरी साँझ, माछापुच्छ्रे दोहोरी साँझ, भेटघाट दोहोरी साँझ, सप्तकोशी दोहोरी साँझ, दिपशिखा दोहोरी साँझ, तिरुपती दोहोरी साँझ, सोल्टी दोहोरी साँझ, शर्मा दोहोरी साँझ, पानस दोहोरी साँझ, सरगम दोहोरी साँझ, निरला दोहोरी साँझ, घरको छानो दोहोरी साँझ, गामबेसी दोहोरी साँझ, गाँउले दोहोरी साँझ आदि दोहोरी साँझले भने निरन्तरता पाउन सकेनन् । सञ्चालनमा आएका केही दोहोरी साँझ बन्द हुन क्रमसँगै नयाँ खुल्ने क्रम भने रोकिएको छैन ।