तीज आउन झन्डै एक महिना बाँकी रहँदा बुटवलमा तीजका गीतहरू घन्किन थालिसकेका छन् । बुटवलका कलाकारहरू तँछाडमछाड गर्दै तीज गीत सार्वजनिक गरिरहेका छन् । बुटवलमा रहेका ५ वटा मिडिया सेन्टरले यो वर्ष ५० वटा तीज गीत तयार पारिसकेका छन् । कलाकार शिलु भट्टराई ‘उर्मिला’ ले यो वर्ष १० वटा तीज गीतमा स्वर दिएकी छिन् । उनले आफ्नै लगानीमा ‘चम्के तरुनी’ गीत निकालेकी छिन् ।
कलाकार प्रचण्ड जीसी, बैकुण्ठ महत, डिल्लीनारायण पाण्डे आदिले पनि तीज गीत सार्वजनिक गरेका छन् । पेसाले शिक्षक कल्पना कुसुमले ४ वर्षयता तीज गीत सार्वजनिक गर्दै आएकी छिन् । उनले यो वर्ष संगीनी बोलको गीत बजारमा ल्याएकी छिन् । यतिबेला बुटवलमा शिक्षकदेखि पत्रकारसम्मले तीज गीत निकाल्ने लहर चलेको छ । सञ्चारकर्मी निरु गौतमले ‘जमुनाको तीर’ शीर्षकको तीज गीत तयार पारेकी छिन् ।
त्यस्तै, सञ्चारकर्मी सञ्जय सौगातले कुटुमा कुटु, वीरेन्द्र कुँवरले मालीगाई, पार्वती न्यौपानेले भदौरे झरी बोलका गीत सार्वजनिक गरेका छन् । यो वर्षको तीजमा धेरै गीत मौलिक भएको र कतिपय पुरानो भाका समातेर गाइएको राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्ली नारायण पाण्डेले बताए ।