साप्ताहिक संवाददाता
वर्षातमा एक स्थानबाट अर्को स्थानमा जानुपर्ने बाध्यता हुन्छ । कतिपय अवस्थामा पानीमा भिज्ने सम्भावना पनि हुन्छ । त्यतिबेला आफूसँग भएका ग्याजेट सुरक्षित राख्नु पहिलो प्राथमिकता हुन्छ । पहिले स्मार्टफोन, क्यामेरा, इयरफोनजस्ता ग्याजेट वाटरप्रुफ थिएनन्, तर अहिले भने विभिन्न वाटरप्रुफ ग्याजेट बजारमा सरल ढंगमा उपलब्ध हुन थालेका छन् । कतिपय ग्याजेटका लागि वाटरप्रुफ एसेसरिजसमेत उपलब्ध हुन्छन् ।
स्मार्टवाच
हाल स्विम प्रुफ स्मार्टवाच समेत उपलब्ध हुन थालेको छ । यसका कारण बिहान हिँड्न वा दौडन समस्या हुँदैन । एप्पल वाचमा यस्तो वाटर रेजिस्टेन्ट हुन्छ । यसको सहयोगले स्विमिङ गतिविधि ट्रयाक गर्न सकिन्छ । फिटबिटको भर्सा, हुवावे फिट, सामसुङ गियर स्पोर्ट आदि पनि वर्षातमा बढी उपयोगी मानिन्छन् ।
क्यामेरा
हिजोआज धेरैले स्मार्टफोनलाई नै क्यामेराका रूपमा प्रयोग गर्न थालेका छन् । यद्यपि व्यवसायिक फोटोग्राफी गर्नेहरू भने गुणस्तरीय तथा महँगा क्यामेरा प्रयोग गर्छन् । पानी पर्ने मौसममा यस्ता महँगा क्यामेरा जोगाउन निकै गार्हो हुन्छ । क्यामेरामा पानी परे त्यसमा खराबी आउने डर हुन्छ । क्यामेराका लागि वाटरप्रुफ हाउजिङलाई एउटा विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । यद्यपि त्योभन्दा वाटरप्रुफ क्यामेरा नै प्रयोग गर्नु बुद्धिमानी हुन्छ । ओलम्पस टीजी–५ यस्तै एउटा क्यामेरा हो ।