दार्ही पाल्न थाल्नुभएको कति भयो ?
ठ्याक्कै यति नै वर्ष भयो भनेर भन्न गार्हो छ । दार्ही पाल्ने र काट्ने क्रम बराबर चलिरहेको हुन्छ ।
पहिलो पटक दार्ही पाल्दा कति वर्षको हुनुहुन्थ्यो ?
२०–२१ वर्षको उमेरमा त्यस्तै पाँच महिना जति पालेको थिएँ । त्यतिबेला झ्याप्प बाक्लो, कालो दार्ही देखेर मप्रति आकर्षित हुनेहरू धेरै थिए ।
त्यसयता हालसम्म कति पटक दार्ही पाल्नुभयो ?
मैले यति नै पटक दार्ही पालें भनेर कुनै अंक तोकें भने त्यो झुटो बोलेको हुन्छ । नढाँटी भन्नुपर्दा मैले त्यसरी गनेकै छैन, किनभने म प्राय: दार्ही पालिरहेकै हुन्छु ।
दार्ही पाल्ने रहरचाहिं कसरी जाग्यो ?
पहिले–पहिले रहरै रहरमा पालियो । रहरले बानी बसायो । आजको मितिसम्म आइपुग्दा दार्ही पाल्ने काम स्वभाविक लाग्न थालेको छ ।
अहिले झ्याप्प फुल्दा पनि दार्ही पाल्न नछाड्ने कारण के हो ?
हरेक कुरा ढकमक्क फुलेकै राम्रो होइन र ? फूल फुलेको राम्रो, यौवन फुलेको अझ राम्रो । दार्ही फुलेको त झन् कति हो कति राम्रो ।
काट्न नभ्याएर अथवा अल्छी लागेर दार्ही पाल्नु भएको त होइन नि ?
होइन–होइन, नभ्याएर अथवा अल्छी लागेर होइन । दार्हीमै हिड्ने बानी परेकाले मात्र हो ।
तपाईंको सेतो दार्हीप्रति साथीभाइको प्रतिक्रिया ?
उनीहरूको प्रतिक्रिया सकारात्मक नै छ । कसैले पनि नसुहाएको अथवा भद्दा देखियो भनेका छैनन् ।
दार्हीको स्याहारमा कति समय दिनुहुन्छ ?
खासै दिन्न । दिँदै दिन्न भन्दा पनि फरक पर्दैन । हप्तामा एक पटक घरमै हल्का ट्रिम गर्छु, त्यत्ति हो स्याहार भनेको ।
दार्ही पालेको सबैभन्दा लामो अवधि कति छ ?
एकताका झन्डै साढे दुई वर्ष जति पालेको थिएँ । त्यति बेला मलाई धेरैले ‘विकास बाबा’ भनेर सम्बोधन गरे ।
त्यसताका बाबाहरूको संगतमा हुनुहुन्थ्यो कि ?
हो, म त्यति बेला आध्यात्मतर्फ आकर्षित थिएँ । चुनचुन बाबा, पगलानन्द बाबाहरूको संगतले लामो समय दार्ही पालेको थिएँ ।
अहिले पालिरहेको दार्ही कहिले काट्ने ?
यो साउन भरी त काट्नै मिलेन । नाइँ नभन्नु ल–५ यही भदौको पहिलो साता प्रदर्शनमा आउँदैछ, त्यसको सफलतासँगै दार्हीलाई नयाँ स्वरूप दिने कुरा सोच्दैछु ।