साप्ताहिक संवाददाता
अमेरिका, बेलायत तथा अष्ट्रेलिया जस्ता ठूला देशमा नेपाली चलचित्र प्रदर्शन गर्नु नौलो रहेन । ती देशका रमणीय शहरहरूमा नेपाली चलचित्र छायांकन हुनु पनि ठूलो कुरा भएन । यद्यपि ती देशमा हुने छायांकनमा नेपालबाट धेरै जना कलाकार तथा प्राविधिक सहभागी हुन समस्या सिर्जना हुँदै आएको छ ।
ती देशले भिसा नदिएकै कारण कतिपय चलचित्रले नेपालबाट कलाकार लगेर छायांकन गराउन सकेका छैनन् । यस्तो परिस्थितिलाई नजिकबाट नियालकेका पुराना चलचित्रकर्मी ईश्वर थापाले एउटा नयाँ जुक्ति निकालेका छन् । अमेरिकामै रहेका थापाले एउटा चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ निर्देशन गर्ने योजना बनाए, जसमा अमेरिकामै बसोबास गरिरहेका कलाकारलाई मात्र अभिनय गराउने निश्चित गरे ।
फलस्वरुप यतिबेला सम्पूर्ण छायांकन अमेरिकामै गरिएको उक्त चलचित्र प्रदर्शनका लागि तयार छ, जसमा बाबु बोगटी, नन्दिता केसी जस्ता नाम चलेका कलाकारका साथमा इशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, क्रिस थापा, स्मृति पोखरेल, जांगु शेर्पा आदि कलाकारले अभिनय गरेका छन् । उनीहरू सबै अमेरिकामै बसोबास गरिरहेका कलाकार हुन् ।