साप्ताहिक संवाददाता
चिनियाँ संस्कृतिमा सर्पको मासुलाई विगत २ हजार वर्षदेखि प्रयोग गरिंदै आएको छ । चीनमा विशेष गरेर सर्पको मासुको सुपलाई औषधीका रूपमा प्रयोग गरिन्छ । चीनको हुनान प्रशासनिक क्षेत्रअन्तर्गतको ग्वाङडोङमा सर्पको मासु प्रयोग गरिन्छ । चीनबाहेक दक्षिणपूर्वी एसियाका केही भागमा समेत सर्पको मासु निकै रुचाइन्छ । खासगरी भियतनाममा सर्पको मासु माछा वा कुखुराको मासुभन्दा बढी लोकप्रिय छ ।
पश्चिम अफ्रिका तथा नाइजेरियाका केही क्षेत्रमा पनि त्यहाँका आदिवासीहरू सर्पको मासुका विभिन्न परिकार खान्छन् । दक्षिण अमेरिकी परम्परामा सर्पको मासुलाई औषधीका रूपमा प्रयोग गरिन्छ । त्यहाँ औषधीका रूपमा प्रयोग गरिनुअघि सर्पको मासुलाई सुकाएर धूलो बनाइन्छ । उक्त धूलोले विभिन्न किसिमका रोग निर्मूल गर्ने त्यहाँका मानिसहरूको विश्वास छ ।
अमेरिकाको ओक्लोहामा राज्यमा सर्पको मासु खाने महोत्सव नै आयोजित हुन्छ । अत्यन्त विषालु र्याटल स्नेक प्रचुरमात्रामा पाइने भएकाले ती विषालु सर्पबाट मानिसलाई बचाउन ओक्लोहामामा सर्पको मासु खाने महोत्सव आयोजित गरिएको हो । ओक्लोहोमाबाहेक टेक्सासमा पनि सर्पको मासु खाने चलन छ । टेक्सासमा प्राय: गरेर र्याटलको मासुलाई कुखुराको छातीको मासुसँग ब्लेन्ड गरेर विभिन्न परिकार तयार पारिन्छ ।