साप्ताहिक संवाददाता
अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय रियालिटी शोका नेपाली संस्करणले पनि लोकप्रियता पाइरहेको अवस्थामा कान्तिपुर टेलिभिजन तथा डिस होमको रमाइलो टिभीमा एकसाथ नयाँ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ प्रसारण हुने भएको छ ।
कार्यक्रमको निर्माण संस्थाले जनाएअनुसार उक्त कार्यक्रम भदौ महिनाको पहिलो सातादेखि नै प्रारम्भ हुनेछ । ‘भदौ ९ गते शनिबारदेखि प्रसारण हुने सम्भावना प्रबल छ, कार्यक्रमका एक निर्माताका अनुसार कार्यक्रम प्रसारणको सम्पूर्ण तयारी सम्पन्न भैसके पनि प्रसारण मिति तय हुन समय लागेको हो । नेदरल्यान्डबाट प्रारम्भ भएको गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करणका रूपमा भ्वाइस अफ नेपाल तयार पारिएको हो ।
कार्यक्रमको पहिलो संस्करण ३० भागको हुने निर्माण संस्थाले जनाएको छ । नेपाल आइडलको पहिलो सिजनका निर्देशक लक्ष्मण पौडेल, प्रस्तोता सुशील नेपाल तथा उत्पादन टिममा सहभागी फिरोज तिमल्सिना अहिले ‘द भ्वाइस अफ नेपाल’ मा आबद्ध छन् । यो कार्यक्रममा गायकहरू दीपक श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल तथा गायिका अभाया सुब्बा निर्णायक छन् । द भ्वाइस कार्यक्रम निदरल्यान्डसहित विश्वका१ सय २९ देशमा निर्माण भएर प्रसारण भैसकेको छ ।
नेपाल आइडल–२
गायनमा आधारित रियालिटी शो नेपाल आइडल सिजन–२ को प्रसारण प्रारम्भ भएको छ । अघिल्लो बिहीबारदेखि एपी वान च्यानलबाट प्रारम्भ भएको उक्त कार्यक्रम हप्ताको दुई पटक बिहीबार तथा शुक्रबार राति ८:३० बजे प्रसारण हुन्छ ।
कार्यक्रमको पहिलो तथा दोस्रो श्रृंखलामा भैरहवा तथा धनगढी अडिसनका रमाइला दृश्यहरू प्रसारण गरिएको थियो । पहिलो संस्करणझैं दोस्रो संस्करणको नेपाल आइडलमा पनि संगीतकार न्ह्यू बज्राचार्य, गायक तथा संगीतकार कालीप्रसाद बाँसकोटा तथा गायिका इन्दिरा जोशी निर्णायक छन् । यसपटक कार्यक्रमको उद्घोषण गर्ने जिम्मा आशिफ शाहले पाएका छन् ।
उनलाई अघिल्लो चरणकै उद्घोषिका रीमा विश्वकर्माले साथ दिएकी छिन् । मन जित्छ उसले, सुमधुर गाउँछ जसले भन्ने नाराका साथ अडिसन राउन्डका कार्यक्रम प्रसारण गर्दै प्रारम्भ भएको नेपाल आइडल–२ का विजेताले नगद २० लाख रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्ने बताइएको छ ।