साप्ताहिक संवाददाता
सारिका घिमिरे चलचित्र अभिनेत्री हुन् । अघिल्लो वर्षदेखि उनी गायनमा समेत आकर्षित छिन् । गत वर्ष आधुनिक तथा पप गीतहरूको एकल एल्बममार्फत सांगीतिक क्षेत्रमा पदार्पण गर्ने घिमिरेले यो वर्ष पहिलो पटक तीज गीत गाएकी छिन् । उनले गाएको ‘यतै रमाइलो...’ शीर्षकको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ, जसमा गायिका घिमिरे आफैंले कम्मर मर्काएकी छिन् ।
सञ्चारकर्मी गीता अधिकारीको शब्द तथा दीपक शर्माको संगीतको उक्त भिडियोमा नेपाली चलचित्रका पुुराना अभिनेत्री चैत्य देवी, भुवन चन्द, बसुन्धरा भुसाल तथा रूपा रानासमेत नृत्य गरिरहेका देखिन्छन् । नेपालको पहिलो चलचित्र ‘आमा’ का अभिनेत्रीहरूलाई तीज गीतमा नचाउने श्रेय पाएकी गायिका घिमिरे अभिनयका साथै गायनमा समेत सक्रिय भैरहेको बेला परीक्षणका लागि तीज गीत गाएको बताउँछिन् । सारिका भन्छिन्— पहिलो गीतको दर्शक प्रतिक्रियापछि आगामी वर्ष के गर्ने भन्ने योजना बनाउने छु । सारिकाका अनुसार आधुनिक तथा पप गीतझैं तीज गीतलाई समेत दर्शक तथा श्रोताले माया गर्न थालेकाले उनी पनि यो विधाप्रति आकर्षित भएकी हुन् ।
गायिका जुना प्रसाईं सुगम संगीतमा आधारित आधुनिक गीत गाएर स्थापित भएकी गायिका हुन् । प्राश्ना शाक्य पप गायिकाका रूपमा स्थापित छिन् । दर्जनौं जिंगलमा समेत स्वर प्रदान गरिरहेकी प्राश्ना कुशल रेडियो जक्की पनि हुन् । यी दुई गायिका आ–आफ्नो विधाका गीतमा सुरिलो सुनिन्छन् । वर्षको ११ महिना आफ्नै विधाका गीत गाए पनि यी दुई गायिकाले तीजको अवसरमा भने सहकार्य गर्न थालेका छन् । केही वर्षअघि प्रारम्भ भएको उनीहरूको सहकार्यले यो वर्ष पनि निरन्तरता पाएको छ । जुना र प्राश्नाले यो वर्ष पनि तीज गीत गाएका छन् । सधैं आधुनिक तथा पप गीतमा सुनिने यी दुई स्वर तीज गीतमा केही पृथक् लाग्छन् ।
यसै साता सार्वजनिक भएको जुना र प्राश्नाको तीज गीतको म्युजिक भिडियोमा उनीहरू आफैंले रातो सारीमा कम्मर मर्काएका छन् । शिव हमालको शब्द तथा संगीतको उक्त गीतमा अभिनेता ध्रुव न्यौपानेले उनीहरूलाई साथ दिएका छन् । ‘लोक गीत–दोहोरी गीत गाउन नआए पनि तीज भनेपछि हामी आफैं उत्साहित हुन्छौं, गायिका प्रसाईं भन्छिन्, ‘पछिल्ला तीन वर्षदेखि उनीहरू लगातार तीजका गीत सार्वजनिक गरिरहेका छन् र दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया समेत पाइरहेका छन् ।
योजना पुरी पप गायनबाट सञ्चारकर्मीमा रुपान्तर भैसकेकी छिन्, यद्यपि उनले संगीतकर्मलाई चटक्कै छाडिसकेकी छैनन् । ओएस नेपालमा भिजेका रूपमा सक्रिय योजनाले यसपटक तीज गीत गाएकी छिन् । ‘सपक्कै सारी सप्को पारेर...’ शीर्षकको तीज गीतमार्फत गायिका पुरी केही साताअघि नै दर्शकमाझ आएकी हुन् । गायिका पुरीले आफ्नो तीज गीतमा आफैंले त कम्मर मर्काएकै छिन्, उनलाई अभिनेता दिक्पाल कार्की तथा अभिनेत्री जान्बी बोहोराले समेत साथ दिएका छन् । गायिका पुरीले आफ्नो नयाँ तीज गीतका लागि कलम सरगमको शब्द तथा एकनारायण भण्डारीको लय छनौट गरेकी छिन् । त्यसो त गायिका पुरीले यसअघि पनि केही तीज गीत गाइसकेकी छिन् । यद्यपि यो वर्ष आफू खारिएर तीज गीतमा प्रस्तुत भएको पुरीको दाबी छ ।
एञ्जिला रेग्मी पप गायिका हुन् । बेला–बेलामा आधुनिक तथा चलचित्रको पाश्र्व गायनमा समेत सक्रिय यी गायिकाले यसपटक तीज गीतमा पनि स्वर प्रदान गरेकी छिन् । ‘मैले त मन्त्र पढें तिम्रै नामको’ शीर्षकको उक्त गीतमा पारु सुवेदीको शब्द तथा भीम बीसीको संगीत सुन्न सकिन्छ । उक्त गीतको भिडियोलाई आकर्षक बनाउन गायिका रेग्मीले नायिका सारिका घिमिरेको साथ लिएकी छिन् भने त्यसमा निकोलस अर्यालले समेत नृत्य गरेका छन् ।
गायिका देविका बन्दनाले केही वर्षअघि नै एउटा तीज गीत गाएकी थिइन् । म त फुरुक्कै परें बरी लै शीर्षकको उक्त गीतबाट गायिका बन्दनाले उत्कृष्ट तीज गायिकाको एवार्ड समेत जितेकी थिइन् । देविकाले उक्त गीतपछि दोस्रो तीज गीत गाएकी छैनन् । पप गायिका अर्पणा श्रेष्ठले पनि यसपटक ‘वर्ष दिनको तीजमा’ शीर्षकको गीत गाएकी छिन् । नारायण सुवेदी आभाषको शब्द–संगीत तथा विनय केटुको संगीत संयोजनको उक्त गीतको भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् । गायक थानेश्वर गौतमले नेपालमै पहिलो पटक तीज गजल गाएका छन् । तीज गजल शीर्षकको उक्त गीतमा गायक गौतम तथा जुनु रिजा काफ्लेको स्वर छ । गायक गौतमले नै गीतलाई संगीतबद्ध गरेका हुन् ।