साप्ताहिक संवाददाता
कामको खोजीमा नेपालबाहिर जाँदा नियम–कानुनको ख्याल गर्नैपर्छ (साउदी जेलमा ९ सय दिन) । त्यहाँको वस्तुस्थितिको ख्याल गर्नैपर्छ । प्रेमबहादुरजस्तै अन्य नेपालीहरूले यस्तो दु:ख भोग्नु नपरोस् ।
नरेन महरा
अपराधीहरूलाई सजाय त दिनैपर्छ (मंगल होस् : अन द स्पोट दण्ड ठीक कि बेठीक †) । घूस ख्वाएर छुटेका घटना धेरै छन् । यस्तो क्रम रोकिनुपर्छ ।
उर्मिला खत्री
कलाकारहरूको काम गर्ने शैली यस्तै हुन्छ (यात्रा सन्दर्भ : आशान्तको अशान्त मन) । अरूलाई अस्वभाविक लाग्नु स्वभाविक हो । काममा पागलपन भएन भने गन्तब्यमा पुग्न सकिँदैन ।
रबिन ठकुरी
अभिभावकहरूले आफ्ना सन्तानलाई सकेसम्म व्यवसायिक शिक्षा दिलाउनु उत्तम हुन्छ (शिक्षा : प्लस टुपछिको अध्ययन) ताकि भोलि जागिरका लागि कतै भौंतारिनु नपरोस् । यो लेखबाट विद्यार्थीहरूलाई आफ्नै कुनै उद्यम, व्यवसायमा लाग्न प्रेरणा मिलोस् ।
केशव तामाङ
वर्षामा यी ग्याजेट प्रयोग गर्न सहज हुन्छन् (साइन्स एन्ड टेक्नो : वर्षामा वाटरप्रुफ ग्याजेट) । यस्ता ग्याजेटको प्रयोगले दैनिक जीवन सरल बनाउँछ ।
शिव बुढाथोकी
अघिल्ला चलचित्र जस्तै ए मेरो हजुर–३ ले पनि दर्शकहरूको मन जित्नेछ भन्ने अपेक्षा छ (ए मेरो हजुर–३ को डेट) । यो चलचित्रको छायांकन नेपालमै गरियोस् ताकि कुनै बेला विदेशी चलचित्र पनि नेपालमै छायांकन गर्न आऊन् ।
भीम श्रेष्ठ
‘बुगी वुगी’ को पहिलो सिजनकी विजेता कविता नेपालीलाई बधाई छ (कवितालाई बुगी वुगी) । गरिब परिवारमा जन्मिएकी, कविताले जसरी संघर्ष गरिन्, त्यो प्रशंसनीय छ । उनी कैयौं चेलीका लागि प्रेरणाको स्रोत भएकी छिन् ।
राज राई
विभिन्न कार्यक्रम अनि काममा व्यस्त भएकाले होला नेपाल आउन नसकेका (विदेशी सेलिब्रेटीहरूको नेपाल डेस्टिनेसन) । अर्को कुनै अवसर पारेर पक्कै नेपाल आउनेछन् भन्ने आशा छ ।
अशोक कुमार
नाटकका रूपमा मुनामदन प्रदर्शन हुनु राम्रो कुरा हो (शिल्पीमा मुनामदन) । नयाँ पुस्ताले मुनामदन हेरेर पुरानो नेपाल तथा त्यति बेलाको समाजका बारेमा धेरै कुरा थाहा पाउनेछन् ।
सरिता जिसी
छिट्टै चर्चामा आएर छिट्टै हराउनुभन्दा स्थायी रूपमा दर्शक– श्रोताहरूको मनमा बस्नु राम्रो हो (सुध्रिइन् ज्योति) । रातारात चर्चामा आएर रातारात हराउने कलाकार थुप्रै छन् ।
अरुण भण्डारी
उपत्यकाबाहिर रहे पनि बालकलाकार क्रिजन गौतमको सफलता लोभलाग्दो छ (चलचित्र नआउँदै चर्चामा) । सानो उमेरमै उनले यति प्रगति गरेका छन् भने भविष्यमा उनले ठूलो प्रगति गर्नेछन् भन्ने पक्का छ ।
हरिकृष्ण भट्टराई
आफ्नो मेकअप आफैं गर्नु राम्रो हो (आफैं मेकअप गर्ने अभिनेत्री) । आफैंले मेकअप गर्दा समय र पैसा दुवैको बचत हुन्छ । साम्राज्ञी राज्यलक्ष्मीले सही काम गरिन् ।
अभय शाह
मिस ग्रान्ड नेपाल–२०१८ की विजेता उरुशा जोशीलाई बधाई छ (मिस ग्रान्ड नेपाल) । भावी दिनमा पनि यस्तै सफलता हात परोस्— शुभकामना ।
बबिता पाण्डे
नेपालको कुना–कन्दरामा प्याराग्लाइडिङको सम्भावना छ (पाँचथरबाट प्याराग्लाइडिङको उडान) । विभिन्न ठाउँमा पर्यटकहरू भित्र्याउने यस्तै नयाँ सम्भावनाको खोजी गर्नु जरुरी छ ।
प्रकाश शाह
फेवातालमा नगरपालिकाले १ करोडको झन्डा राख्नुभन्दा युवाहरूलाई रोजगारी दिन सक्नु पर्छ (फेवातालमा १ करोडको झन्डा) । युवाहरूलाई उद्यम–व्यवसायमा संलग्न गराउने कुनै कार्यक्रम ल्याएको भए हुन्थ्यो ।
बिनिता सुबेदी
पैसा नै सबैथोक होइन (समय सन्दर्भ : पैसा दु:खको मुहान) । यद्यपि जिन्दगी चलाउन पैसा अनिवार्य छ । धेरै लोभले पनि मानिसलाई डुबाउँछ ।
संगम क्षेत्री
गेरेन्ट थोमस र साराहको यो तस्बिरले मन छोयो (मैदान बाहिर : सफलतामा अँगालोमा रोए) । गेरेन्ट सफल हुनुमा उनकी श्रीमतीको पनि ठूलो हात छ ।
गोविन्द कार्की