साप्ताहिक संवाददाता
अकस्मात आइलागेको पैसा हातमा धेरै दिन टिक्दैन भनिन्छ, यसरी आएको पैसाले धेरै कमको घरवार राम्रोसँग बसेको होला । यस्तै भएको छ बेलायतकी कान्छी लोट्टो विजेता क्याली रोजरलाई । क्यालीले लोट्टोमा २७ करोड १८ लाख रुपैयाँ जित्दा उनको उमेर १६ वर्षको थियो । प्रतिघन्टा ५ सय २२ रुपैयाँमा काम गर्ने क्यालीलाई सन् २००३ मा उक्त चिठ्टा जित्दा के गर्ने भन्ने कुरामै दुविधा थियो ।
अकस्मात आएको चिट्ठाको रकमलाई उनले के काममा सदुपयोग गर्ने भन्ने निर्णय नै सकिनन् । त्यसबीच उनले २६ लाख खर्चेर आफ्नो स्तनलाई आकर्षक बनाइन् भने ४ करोड ३५ लाखको लुगाफाटा किनिन् । भनिन्छ– क्यालीले उक्त रकमबाट ७ करोड २५ लाख रुपैयाँ साथीभाइ एवं आफन्तलाई बाँडिन् अनि ३ करोड ६२ लाख रुपैयाँ नशालु पदार्थ कोकिनको खरिद गर्न खर्च गरिन् । उनले २ करोड ६१ लाख रुपैयाँमा आफ्ना लागि घर पनि किनिन् ।
हालै आईटिभि टेलिभिजनलाई अन्तवार्ता दिँदै उनले उक्त पुरस्कारले आफुलाई डिप्रेसनमा पुर्याएको र पैसालाई अनावश्यक रुपमा खर्च गरेर झन्डै जीवन नै बर्बाद भएको कुरा बताएकी छिन् । अन्तवार्तामा उनले केही पाको भएपछि चिठ्टा जितेको भए पुरस्कारको राशिलाई व्यवस्थित गर्न सकिन्थ्यो भने त विष्मात समेत प्रकट गरेकी छिन् ।