साप्ताहिक संवाददाता
गुगलले नयाँ अपरेटिङ सिस्टम ‘एन्ड्रोइड ९.० पाई’ सार्वजनिक गरेको छ । करिब ६ महिना पहिले गुगलले नयाँ अपरेटिङ सिष्टमलाई ‘एन्ड्रोइड पी’ को नाममा ल्याउने घोषणा गरेको थियो । यद्यपि हाल यसलाई एन्ड्रोइड ९.० पाईको नामबाट बजारमा उतारिएको छ । यसलाई छोटकरीमा एन्ड्रोइड पाई भनिन्छ । यसमा विभिन्न नयाँ फिचर उपलब्ध छन् ।
पहिले गुगल पिक्सेल स्मार्टफोनमा उपलब्ध हुने उक्त सिष्टम विस्तारै अन्य स्मार्टफोनमा समेत उपलब्ध हुनेछ । यसमा ठूलो होम बटनलाई हटाएर सानो मेनु बटन राखिएको छ । एप स्विचर पनि आइफोन एक्स जस्तै होरिजोन्टली स्क्रोल गर्न सकिन्छ । यसमा भएको ‘डिजिटल वेलबिइङ’ फिचरले मोबाइलको अत्यधिक प्रयोगबाट छुटकारा दिन्छ । यसले कुन एपको प्रयोग कति पटक गरियो भन्ने रेकर्ड राख्छ । समय सीमा समाप्त भए पछि उक्त एपका कारण स्मार्टफोनको स्क्रिन धमिलो देखिन्छ ।
त्यसैगरी एप्सको प्रयोग अनुसार ब्याट्रीको प्राथमिकता तय हुन्छ । अलग–अलग स्क्रिनको अलग–अलग ब्राइटनेस हुन्छ भने धेरै प्रयोग हुने एप्सको जानकारी उपलब्ध आफैं गराइन्छ । यसमा सिस्टम नेभिगेसनलाई पनि अझ प्रभावकारी बनाइएको छ ।
म्यासेज नोटिफिकेसनसँगै तस्बिर
कुनै म्यासेज आयो भने प्रयोगकर्ताले स्क्रिनको तल स्वाइप गर्दा नोटिफिकेसनका साथमा तस्बिर पनि देखिन्छ । यसभन्दा पहिले उक्त सुविधा थिएन ।
रुचि थाहा पाउने
गुगलको यो अपेरिटङ सिस्टमले प्रयोगकर्ताहरूको रुचि पहिले नै थाहा पाउँछ । जस्तो कि इयरफोन लगाउँदा फोनको म्युजिक ग्यालरी आफै खुल्छ ।
डु नट डिस्टर्ब
पहिले नै उपलब्ध डु नट डिस्टर्ब मोडलाई अझ प्रभावकारी बनाइएको छ । यसको सहयोगले कन्ट्याक्ट लिस्टमा भएका कन्ट्याक्टलाई स्टार गर्न सकिन्छ । स्टार गरिएका कन्ट्याक्टबाहेक अरूले कल गर्न वा म्यासेज पठाउन सक्दैनन् । त्यस्तो अवस्थामा नोटिफिकेसन पनि आउँदैन भने स्टार दिइएकाहरूको कल मात्र आउँछ ।
स्मार्ट रिप्लाई
यसमा स्मार्ट रिप्लाई गर्न सकिने सुविधा छ । यसमा मेसिन लर्निङ प्रयोग गरी मेल र च्याटका लागि अटोमेटेड उत्तर दिन सकिन्छ । कुनै प्रश्नको उत्तर सेट गरेपछि आफू एक्टिभ नभएको समयमा पनि रिप्लाई गर्न मिल्छ ।
मिठाईको नाम
गुगलले राखेको नाम ‘पाई’ एक प्रकारको मिठो ब्यञ्जन हो । गुगलले हालसम्म एन्ड्रोइड सिस्टमको नाम कुनै न कुनै मिठाईको नामबाट राख्दै आएको छ । यसभन्दा पहिले राखिएको ओरियो पनि बिस्कुटको नाम हो ।