साप्ताहिक संवाददाता
आउने वर्ष एसियाली फुटबल महासंघ (एएफसी) को निर्वाचन हुँदैछ र अहिले नै सुरु भैसकेको छ, एसियाली फुटबलको राजनीति । अहिले तत्काल यो फुटबल राजनीति चरम उत्कर्षमा पुगेको छ, किनभने एसियाली फुटबलमा हालै नयाँ क्षेत्रीय संगठन औपचारिक रूपमा अस्तित्वमा आएको छ र त्यो हो, दक्षिण पश्चिम फुटबल महासंघ अर्थात स्वाफ । नेपाल पनि यसको सदस्य हो र नेपाली फुटबल प्रेमीहरूको प्रश्न हो, नेपालले यसबाट कति फाइदा लिन सक्छ ?
सबैभन्दा पहिले स्वाफको पृष्ठभूमिमा जानु ठीक हुन्छ । सबैलाई थाहा छ, एसियाली फुटबलमा अरब बलियो शक्ति हो । अझ यो शक्तिले बेला–बेलामा विश्व फुटबलमै चुनौती समेत पेस गरिरहेको छ । यसबीच सबैलाई उत्तिकै थाहा भएको विषय के पनि हो भने यो अरब फुटबलमा एकता भने छैन । अरब फुटबलमा राजनीतिको जोड घटाउ खुबै हुन्छ । त्यसैको नजिता हो, अहिलेको स्वाफ । यसमा दक्षिण तथा पश्चिम एसियाका देशहरू सदस्य छन् ।
यसको मुख्य खेलाडी भने साउदी अरेबिया हो । पश्चिम एसियाको अलग्गै महासंघ छ, ‘वाफ’ को नाममा । यसको मुख्य कार्यालय छ, जोर्डनको अम्मानमा । जोर्डनबाट एसियाली फुटबलमा राजनीति गर्ने व्यक्तित्व हुन्– प्रिन्स बिन अलि हुसेन । केही वर्षअघि उनले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को अध्यक्ष पदमै चुनाव लडेका थिए । साउदी अरेबियाले सुरुमा चाहेको रहेछ, वाफको मुख्यालय जेद्दामा होस्, तर जोर्डनले मानेन र त्यसमै विवाद भयो ।
यो सबै घटनाक्रमका पछाडि साउदी अरेबिया र कतारबीचको विवादले पनि उत्तिकै ठूलो भूमिका खेलेको छ । केही महिनाअघि मात्र साउदी नेतृत्वमा केही देशले कतारमाथि नाकावन्दी नै लगाएका थिए । चार वर्षपछि कतारले विश्वकपको आयोजना गर्दैछ र कतारले प्राप्त गरेको यो सफलतामा साउदी अरेबिया खुसी हुन सकेको छैन ।
यसबीच साउदीले पनि आफ्नो महत्त्वकांक्षा बढाएर एसियाली फुटबलकै नेतृत्व गर्न खोजिरहेको छ । साउदी चाहन्छ, एसियाली फुटबलमा कतारको प्रभाव सकेसम्म कम होस । फेरि साउदी के पनि चाहन्छ भने एएफसीका वर्तमान अध्यक्ष सेख सलमानको प्रभाव पनि कम होस् र आउने चुनावमा उनको उपस्थिति सकेसम्म कमजोर देखियोस् । यी सबै पृष्ठभूमिबीच साउदी अरेबिया ‘स्वाफ’ खोल्ने मनस्थितिमा पुगेको हो ।
यसै साता मात्र साउदी अरेबियाले आफ्नो अध्यक्षतामा स्वाफको नयाँ कार्यसमिति गठन गरेको छ र त्यसको केन्द्रीय सदस्यमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ पनि छन् । यसमा कुल १४ देश सदस्य छन् । दक्षिण एसियाका सातै देश त्यसका सदस्य छन्, नेपालसँगै भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भुटान तथा बंगलादेश । पश्चिम एसियाबाट साउदी अरेबियासँगै बहराइन, इराक, कुवेत, ओमान, युएई तथा यमन स्वाफका सदस्य हुन् ।
अब केही समयमै महासंघले फुटबल प्रतियोगिता सञ्चालनमा ल्याउनेछ र नेपालले त्यसमा सहभागिता जनाउने मौका पाउने छ । दक्षिण एसियाली फुटबलको तुलनामा पश्चिम एसियाली फुटबल धेरै अगाडि रहेकाले कमजोर टिमले यसबाट प्रसस्त फाइदा लिन सक्छन् । त्यति मात्र होइन, स्वाफले नेपाली फुटबल विकासका लागि राम्रै आर्थिक सहयोग दिने चर्चा पनि अगाडि आइरहेको छ । खासमा नेपालले ‘स्वाफ’ बाट प्रसस्त फाइदा लिन सक्छ खाली प्रश्न यत्ति मात्र हो कि यसमा नेपाली फुटबलको कूटनीति कति सफल हुन्छ ?