बुक हिलले ०७५ वैशाखयता विभिन्न विधाका ४ वटा पुस्तक बजारमा ल्यायो । भूपेन्द्र खड्काका अनुसार बुक हिलले यो वर्षभरि २५ वटा पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ । त्यस्तै फाइन प्रिन्टले वैशाख यता जम्मा एउटा पुस्तक बजारमा ल्याएको छ । बितेका महिनामा विभिन्न प्रकाशन गृहले सार्वजनिक गरेका पुस्तकसम्बन्धी संक्षिप्त जानकारी :
जिन्दगी, रिल्याक्स प्लिज !
शरीर, मन र आत्मा मिलेर बन्छ— जिन्दगी । यी तत्वका आ–आफ्नै लक्ष्य छन् । शरीरको लक्ष्य हो, सुख । मनको शान्ति अनि आत्माको आनन्द । शरीरको सुख, मनको शान्ति र आत्माको आनन्द— यी तीन पुँजी जीवनरूपी त्रिवेणीमा समाहित हुन पाए व्यक्तिले सत्यं शिवं सुन्दरमको ‘माल’ पाउँछ । सत्–चित्–आनन्दको ‘माला’ लगाउँछ, अर्थात् उसको जिन्दगी साँच्चिकै ‘मालामाल’ हुन्छ । यही मालामाल जिन्दगी नै रिल्याक्स जिन्दगी हो— भित्र आनन्दले भरिपूर्ण र बाहिरबाट सुन्दर जिन्दगी । फाइन प्रिन्टको यो पुस्तक योग विज्ञान तथा जीवनशैली प्रशिक्षण एवं वातावरण संरक्षणको क्षेत्रमा सुपरिचित डा. राजु अधिकारीले लेखेका हुन् ।
महागुरु
पिनाकल पब्लिकेसनले बजारमा ल्याएको पुस्तक हो— ‘महागुरु’ । एबीसी टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत महेश राणाद्वारा लिखित धार्मिक तथा आध्यात्मिक विषयवस्तु समेटिएको यो पुस्तक नौवटा उपशीर्षकमा विभाजित छ । पुस्तकमा मानिसको भौतिक अवस्थालाई कसरी आध्यात्मिक बनाउने भन्ने विषयमा भगवान् कालभैरवसँग गरिएको अन्तरसंवादलाई उतारिएको छ । पुस्तकमा जीवनको रुपान्तरण, आध्यात्मिक साधना आदिमा जोड दिइएको छ । यो पुस्तकको मूल्य ५ सय रुपैयाँ छ ।
देखेको देश
पत्रकारितामा लामो समयदेखि क्रियाशील मोहन मैनालीको ‘देखेको देश’ ३ दर्जनभन्दा बढी निबन्धको संग्रह हो । मैनालीले आफ्नो यो कृतिमा नेपाली समाजमा विद्यमान सामाजिक मान्यता, राजनीतिक व्यवस्था तथा आर्थिक जटिलतालाई मिहिन ढंगले केलाएका छन् । यो पुस्तकमा यी कुराले नेपालीहरूको जनजीवनमा के कस्तो प्रभाव पारेको छ भन्ने कुरा देखाइएको छ । ४ सय रुपैयाँ (सफट् कभर) तथा ५ सय रुपैयाँ (हार्ड कभर) पर्ने यो पुस्तक बुकहिलले प्रकाशन गरेको हो ।
ज्ञ
फिक्सन डिजाइनर कुमार नगरकोटीको ‘ज्ञ’ स्वैरकाल्पनिक उपन्यास हो । यो नगरकोटीको आठौं कृति तथा दोस्रो उपन्यास हो । नगरकोटीका अनुसार १ सय ८४ पृष्ठको ‘ज्ञ’ ‘नोभिला’ हो । यो उपन्यासमा अंग्रेजी भाषाको प्रयोग प्रचुर रूपमा गरिएको पाइन्छ । केही थ्रिलर प्रकृतिको यो उपन्यासको मूल्य ४ सय रुपैयाँ छ ।
न्यायको अवशान
एसएलसी परीक्षा दिएर हजुरबा भेट्न आएका लमजुङका कृष्णप्रसाद अधिकारीको माओवादीबाट रत्ननगरमा २०६१ मा हत्या भयो । आफ्ना छोराको हत्यारालाई पक्राउ गर्न माग गर्दै अनशन बसेका थिए– नन्दप्रसाद अधिकारी । अनशन बसेको ३ सय ३२ औं दिनमा वीर अस्पतालमा उनको ज्यान गयो । त्यसपछि उनकी पत्नि गंगामाया अनशन बसिन् । उनै गंगामाया अधिकारीको आत्मकथा हो— न्यायको अवशान । गंगामायाले गरेको संघर्ष र उनका भोगाइहरू यो कृतिमा समेटिएका छन् । बुक हिलले बजारमा ल्याएको यो पुस्तकको सम्पादन घनश्याम खड्काले गरेका हुन् । न्यायको अवशानको मूल्य ४ सय रुपैयाँ छ ।
शल्यक्रिया
शल्यक्रिया पुस्तक समीक्षाको सँगालो हो । यो मदनमणि दिक्षितको माधवी एवं ऋग्वैदिक नारी चरित्रको त्रुटिगत समिक्षा तथा सौरभको असहमति पुस्तकमा भेटिएका त्रुटिको समीक्षा हो । यी तीनवटा पुस्तकको लामो चिरफार हो— शल्यक्रिया । यसका लेखक जंगबहादुर शाह हुन् । यो कृतिको मूल्य ३ सय ५० रुपैंयाँ पर्छ ।
विमान विद्रोह
प्रजातान्त्रिक आन्दोलनका सक्रिय राजनीतिक व्यक्तित्व हुन्— दुर्गा सुवेदी । नेपालको पहिलो र एक मात्र विमान अपहरणमा उनी पनि संलग्न थिए । हालै प्रकाशित उनको संस्मरणहरूको सँगालो हो— विमान बिद्रोह : एउटा राजनीतिक अपहरणको बयान । यो पुस्तकमा पञ्चायती व्यवस्थाविरुद्ध गरिएका विभिन्न संघर्ष पनि समेटिएका छन् । कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारको भित्री कथा र त्यस क्रममा उनी स्वयंलाई पार्टीभित्रैबाट मार्न गरिएको षड्यन्त्रको भित्री कथा पनि यो पुस्तकमा समेटिएको छ । अझ रोचक त के भने सुवेदीकी श्रीमती सुशीला कार्की प्रधानन्यायाधीश रहँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीका आफन्त १० करोड रुपैंयाँ दिने प्रस्ताव लिएर आएको खुलासा पनि यो पुस्तकमा गरिएको छ । यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।
मञ्जूषा
नेपाली कथानक चलचित्र चलेछ बतास सुस्तरीकी निर्देशक सबु सुबेदीको उपन्यास हो— मञ्जूषा । उपन्यासकार सुवेदीले यो उपन्यासमा मञ्जूषाले महिलाहरूको प्रतिनिधित्व गरेकी छिन् । मञ्जूषा सामान्य परिवारमा हुर्किएकी पात्र हुन् । उनले लगातार पाँच जनालाई प्रेम गर्छिन् । आफ्नो पछिल्लो प्रेम टुटेपछि मञ्जूषा कसरी अगाडिको जिन्दगी बिताउने भन्ने निर्णयमा पुग्छिन् । प्रेममा केन्द्रित यो उपन्यासमाथि चलचित्र निर्माण गर्न सकिने सुवेदी बताउँछिन् । यो पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।
रणहार
भक्तपुरका अन्तिम मल्ल राजाका बारेमा केन्द्रित पुस्तक हो— ‘रणहार’ । यसको मुख्य पात्र हुन्, रणजित मल्ल जसले भक्तपुरमा आधा शताब्दी शासन गरेका थिए । मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरूका कारण राज्य गुमाउनुपर्यो । पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएपछि उनको उपत्यका विजय यात्रा टुंगिएको थियो । इतिहासका अध्येता योगेश राज खुलेर सार्वजनिक भएका छैनन् । यद्यपि ऐतिहासिक विषयवस्तुमा लेखक योगेश राज रोचक ढंगमा प्रस्तुत भएका छन् । खासगरी यो पुस्तक भक्तपुर सत्तासिन कुलीन वर्ग र गोर्खालीसामु तिनले गरेको आत्मसमर्पणको कथा हो । नेपालयले प्रकाशन गरेको यो पुस्तकको मूल्य ३ सय २५ रुपैयाँ छ ।
अर्थात अर्थतन्त्र : नेपाली इलम र उद्यमको यात्रा
अर्थ मामिलाका लेखक तथा टिप्पणीकार सुजीव शाक्यको पुस्तक ‘अर्थात् अर्थतन्त्र’ ले नेपाली अर्थतन्त्रलाई मिहिन रूपमा विश्लेषण गरेको छ । शाक्यले विभिन्न अंग्रेजी पत्रपत्रिकामा स्तम्भ तथा लेखहरू लेख्दै आएका छन् । उनी नेपाली भाषामा पहिलो पटक साक्षात्कार हुन लागेका हुन् । यो पुस्तक नेपालको अर्थतन्त्र कसरी सूरु भयो तथा नेपाली अर्थतन्त्र कता गैरहेको छ ? भन्ने विषयमा केन्द्रित छ । शाक्यले मैना धितालसँगको सहकार्यमा यो पुस्तक तयार पारेका हुन् जसको मूल्य ४ सय ७५ रुपैयाँ छ ।
ग्लोबल सिटीजन फ्रम गुल्मी
ग्लोबल सिटीजन फ्रम गुल्मी कुलचन्द्र गौतमको अटोबायाग्राफी हो । संयुक्त राष्ट्रसंघको उपमहासचिव तथा राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यकारी उपनिर्देशकसम्म पुगेका गौतमले आफ्ना अनुभब, अनुभूतिहरू यो पुस्तकमा समेटेका छन् । यसमा लेखकको बाल्यकाल, जन्मिएको ठाउँमा भोगेको दु:ख, झेलेको संघर्षदेखि लिएर राष्ट्रसंघ तथा युनिसेफको उच्च ओहदा पुग्दाका आरोह–अवरोहहरू समेटिएका छन् । जीवनमा गौतमले नेलशन मण्डेला, बिल गेट्स, एड्वार्ड शेभर्नात्जेदेखि थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेज लगायत युनिसेफका थुप्रै सद्भावना दूतसँग भेट्दाका रोचक अनुभवहरू समेटिएका छन् । यो पुस्तक अमेजोनको प्रिन्ट अन डिमाण्ड (पीओडी) तथा किण्डलमार्फत संसारभर उपलब्ध छ ।
मूल्य : ८ सय ९५ (सफ्ट कभर), मूल्य : १ हजार ३ सय ९५ (हार्ड कभर)
जंगबहादुरको जीवनयात्रा
नेपाली समाजमा जंगबहादुरका अनेक कहानी सुन्न पाइन्छ— त्रिशूलीमा घोडासँगै हाम फालेको, अग्निगर्भबाट आमाछोरालाई निकालेको, मत्ताहात्तीलाई वशमा ल्याएको, धरहराबाट दुईवटा छातासहित हाम फाल्ने वाचा गरेको जस्ता थुप्रै कुरा । जंगबहादुरको बेलायत यात्राको डायरीमा आधारित भएर यो पुस्तक तयार पारिएको हो । ओरिएन्टल पब्लिकेसनको यो पुस्तक पदमजंग राणाले अंग्रेजीमा लेखेका अनि रामबहादुर पहाडीले नेपालीमा अनुबाद गरेका हुन् । यो पुस्तकमा जंगबहादुर निजी कुराहरू, उनका दु:ख, जीवनमा झेलेका संघर्ष, देशका लागि गरेको काम तथा उनको व्यक्तित्वका सम्बन्धमा थुप्रै जानकारी प्राप्त गर्न सकिन्छ । २ सय ९२ पृष्ठको यो पुस्तकको मूल्य ४ सय २५ रुपैयाँ छ ।