साप्ताहिक संवाददाता
हरिवोल भण्डारी तथा गौरीराज जोशीको चलचित्र नाइँ नभन्नु ल–५ आज शुक्रबार दर्शकमाझ पुग्नेछ । पूर्ण प्रेमकथामा आधारित यो चलचित्रलाई सामीप्यराज तिमल्सिनाले लेखेका हुन् । ट्रेलरलाई मान्ने हो भने यो चलचित्र अनुभव रेग्मी र सेड्रिना शर्मा तथा स्वस्तिमा खड्का र अभिषेक नेपालको प्रेम अनि विछोडको पीडा तथा विभिन्न संघर्षमा केन्द्रित छ ।
सबैभन्दा धेरै सिक्वेल निर्माण भैसकेको यो चलचित्रको छायांकन झापा तथा इलामका विभिन्न आकर्षक लोकेसनमा गरिएको छ । नाइँ नभन्नु लको यो सिरिजमा छायांकन दुई महिनाभन्दा बढी समय लगाएर गरिएको थियो । नयाँ–नयाँ कलाकारलाई चलचित्रमा भित्र्याउने विकास आचार्यले यो चलचित्रबाट कलाकार अभिषेकसँगै सेड्रिना शर्मालाई लन्च गरेका छन् ।
यो चलचित्रमा अभिनेत्री प्रियंका कार्की तथा बालकलाकार अनुभव रेग्मीलाई मात्र निरन्तरता दिइएको छ । पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी तथा अर्जुन जीसीको सम्पादनको चलचित्र नाइँ नभन्नु ल–५ मा डेढ करोडभन्दा बढी लगानी भएको बताइन्छ ।
निर्देशक : विकासराज आचार्य कलाकार : निरुता सिंह, दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रिना शर्मा आदि । संगीत : वसन्त सापकोटा