नेपालमा अधिक प्रचलित मागी विवाहका क्रममा भावी दम्पतीबीच अन्य पक्षमा व्यापक छलफल हुने भए पनि यौनका विषयमा खासै छलफल हुने गरेको छैन । नेपालमा विवाहपछि मात्र यौनसम्पर्क राख्ने सामाजिक तथा कानुनी मान्यता छ । बाल्यावस्थामा यौनसम्बन्धी जिज्ञासा दबाउने तथा किशोरावस्थामा आवश्यक मात्रामा यौन शिक्षा नदिइने कारण विवाह लगत्तै दम्पतीबीच एक अर्कासँग यौनिक रूपमा कसरी प्रस्तुत हुने भन्ने कुरामा कौतूहलतासँगै अन्यौल समेत देखिन्छ ।
नवदम्पतीले प्रयोग गर्ने कोठाको रंगरोगनका साथै पलङ, बिच्छ्यौना आदि सुव्यवस्थित गरिएको हुन्छ । वातावरण सुमधुर बनाउन अत्तर तथा बास्नादार धूप प्रयोग गर्न सकिन्छ । ताजा फलफूल एवं दूधको व्यवस्था गर्न सकिन्छ । वैवाहिक जीवनको पहिलो रातदेखि नै आपसमा सुमधुर सम्बन्ध बनाउनुका साथै दाम्पत्य जीवन प्रगाढ बनाउन यी कुराले उत्प्रेरकको काम गर्छन् ।
जिम्मेवार नवदम्पतीले पहिलो रात (मधुरात्रि) आपसी भलाकुसारीसँगै महिनावारी, महिनावारी चक्र, सुरक्षित यौन, आकस्मिक गर्भ निरोधका साथै यौन स्वास्थ्य, यौन चाहनाका विषयमा स्पष्ट रूपमा छलफल गर्न आवश्यक छ । नेपाली समाजमा मागी, भागी वा कानुनी विवाहपछि नवदम्पतीले यौन क्रियाकलापमा संलग्न हुन छुट पाएका कारण उनीहरू पहिलो रातदेखि नै डर–त्रास बिना मानसिक रूपमा स्वतन्त्र तरिकाले यौन कार्यमा संलग्न हुन्छन् ।
यद्यपि त्यसो भन्दैमा एक अर्कामा राम्रोसँग भावना तथा चाहना साटासाट नभै यौन कार्यमा हाम फाल्नु हँुदैन । विवाहपछिको पहिलो रात वैवाहिक तथा यौन जीवनको आधार भएकाले आफ्नो स्वार्थ प्रकट गर्नुभन्दा जिम्मेवार तरिकाले प्रस्तुत हुनु बुद्धिमानी हुन्छ । यसो भए विशेषत: महिला यौनसाथी (श्रीमती) ले यौन प्रति गलत धारणा बनाउँदैनन् । प्रथम रात्रिमै अधिक चञ्चल भै नवदुलहीलाई नांगै सुत्न उत्प्रेरित गर्ने तथा उज्यालोमा यौन क्रियाकलाप गर्ने जस्ता मूर्खता गर्नुहुँदैन ।
नेपाली समाजमै पनि फरक–फरक खालका वैवाहिक संस्कार छन् । विवाह लगत्तैको भोज तथा पार्टीका कारण पनि शारीरिक थकान हुने सम्भावना उत्तिकै हुन्छ । यस्तो बेला नवदम्पतीले आफ्नो यौन चाहना परिपूर्ति गर्नतर्फ मात्र लाग्नुभन्दा मधुरात्रि पूर्वको समय परिवारसँग हेलमेल तथा सरसहयोग गर्नुपर्छ । पहिलो रात्रिमा कसरी प्रस्तुत हुने वा भइन्छ भन्ने कुरा व्यक्तिपिच्छे वा पारिवारिक वातावरण अनुसार पनि फरक पर्छ ।
मधुरात्रिमा नभै त्यसपछिका मधुमासका बेला पनि यौन स्वास्थ्यका दृष्टिले धेरै कुरामा ध्यान पुर्याउनुपर्छ । यौनिक भोजन, यौनांगको सरसफाइ, यौन सम्बन्ध राख्ने उचित समय, सुरक्षित यौन, कन्डमको सही प्रयोग तथा भित्री पहिरनको सही व्यवस्थापन गर्नुपर्छ । पटक–पटकको यौन क्रियाकलापका कारण जननेन्द्रियको संक्रमण, असामान्य योनिश्राव, पिसाब पोल्ने समस्या, रगत बग्ने समस्या (हाइमेन वा अग्रचर्म च्यातिएर), यौन सम्पर्कका बेला अधिक पीडा हुने समस्या भएको खण्डमा चिकित्सकसँग परामर्श लिन ढिला गर्नु हुँदैन । मधुरात्रि तथा मधुमासका बेला नौलो ठाउँ, होटल लजमा रात बिताउँदा आफ्नो तथा नवदुलहीको सुरक्षामा उत्तिकै ध्यान पुर्याउनुपर्छ ।
प्रथम रात्रि (मधु रात्रि) रोमाञ्चकता, कौतूहलतासँगै जिम्मेवारीको सुरुवाती विन्दु पनि हो । यौन सम्बन्ध त यसको गन्तव्य हो नै, तै पनि आफ्नो जीवनसाथीको विश्वास जितेर उनलाई पूर्ण मात्रामा उत्तेजित बनाई यौन सन्तुष्टि दिनु–लिनु जिम्मेवार श्रीमान्को दायित्व हो । कतिपय कुरा प्रति आ–आफ्नै धारणा एवं सोच हुन्छ । त्यसैले प्रथम रात्रि (मधुरात्रि) तनावको समय पनि हो, तसर्थ दबाएर, बल प्रयोग गरेर आफ्नो विचार लाद्नुभन्दा सहमति एवं समझदारीको वातावरण बनाउनु उपयुक्त हुन्छ ।