२०६९ साल पुस महिना थियो । समीक्षा पोखरेल त्यतिबेला नयाँ बानेश्वरस्थित मेघा बैंकमा अप्रेसन इन्चार्जका रूपमा कार्यरत थिइन् । एक दिन सोही बैंकका उनका साथी पवन शाहले उनलाई मेरो एक जना मिल्ने साथी आउँदैछ, भेटौं न भने । त्यसरी उनीसँग भेट्न आएका युवा थिए— सन्दीप क्षेत्री ।
पवनले सामान्य चिनजान गराए । सन्दीपले पहिलो भेटमै समीक्षासँग फोन नम्बर मागे । सम्भवत: त्यो सन्दीपसँग मिलाउने ग्रान्ड डिजाइन थियो, हाँस्दै समीक्षाले भनिन्, ‘पहिलो भेटमा सामान्य कुरा भयो । केहि दिनपछि उहाँको नम्वरबाट म्यासेज आयो, हाउ इज योर लाइफ ?’ रिप्लाई नगरेपछि २ घण्टापछि आफै फोन गरेर किन रिप्लाई नगरेको भनेर प्रश्न गर्नुभयो, उनले थपिन्, ‘हुन्छ अब गर्दै गरौंला नि भनेर जवाफ दिएँ ।’
सन्दीपको यो पहिलो कलपछि उनीहरू नजिकिँदै गए । सन्दीपले त्यतिवेला कान्तिपुर टिभीमा जागिर सुरु गरेका थिए तर टिभीमा देखिएका थिएनन् । मन परेपछि पर्यो–पर्यो भन्ने एउटा गीतजस्तै समीक्षाको मन सन्दीपले चोरेरै छोडे । समीक्षाले ग्रिन सिग्नल दिइन् । सन्दीपले समीक्षालाई के कारण मन पराए उनले सोधिनन्, तर उनले सन्दीपलाई मन पराउनुको कारण सन्दीपको आवाज रहेछ ।
यो जोडी महिनौं डेटमा रमाएन । घुम्न टाढा–टाढा पुगेन । तीनकुनेको जागिर सकेर ५ वजे सन्दीप टक्क आइपुग्थे नयाँ बानेश्वर, समीक्षासँग कफी खान । समीक्षा पनि अफिसबाट निस्कने बेला हो यो । उनीहरूको भेट कहिले चिया खाने बहानामा, कहिले खाजा खाने बहानामा भैरहन्थ्यो । यद्यपि एक महिनामै विवाह बन्धनमा बाँधिए । ‘खासै लामो समय प्रेम गरेर हिँडेनौं, यो डेट नै हामी विवाह गर्न लायक बनिहाल्यो, उनले भनिन् । विवाहका लागि सन्दीपका बा–आमाले ओके भनिदिए । समीक्षाले भने सानोतिनो संघर्ष गर्नुपर्यो । इन्टरकास्ट विवाहलाई समीक्षाको परिवारले सहजै स्विकारेन । तर समीक्षाले जिद्दी गरेपछि परिवार उनलाई सन्दीपको घर पठाउन राजी भयो । उनीहरूको विवाह धूमधामसँग भयो । जब सन्दीपले समीक्षाको सिउँदोमा सिन्दूर हालें, समीक्षा निकै खुसी भइन् । पुर्लुक्क सन्दीपलाई हेरिन् अनि मनमनै भनिन् ‘थ्यांक्स गड फर बिइङ विथ हिम ।’
पहिलो भेटदेखि आजका मितिसम्म उनीहरूबीच ठूलो झगडा परेको छैन । ‘कहिलेकाही ठाकठुक पर्नु सामान्य हो तर त्यो ठाकठुकमा धेरै माया मिसिएकाले ठूलो झगडा हुनै पाउँदैन,’ उनले भनिन् । हाल सानिमा बैंक न्युरोड शाखामा कार्यरत छिन समीक्षा । यो जोडीले एक छोरीको पनी जन्म दिएका छन् ।
मिठाईलाला जादवकी श्रीमती भनेर साथीभाइहरूले जिस्क्याउँदा समीक्षा आफ्नो शिर ठाडो भएको महसुस गर्छिन् । ‘हरेक कुरा बुझ्ने श्रीमान् पाएकी छु,’ उनले थपिन्, ‘कहिल्यै किचकिच नगर्ने, जहिले पनि रमाइलो ढंगबाट प्रस्तुत हुने र धेरै माया गर्नुहुन्छ, निकै खुसी लाग्छ ।’ सन्दीप चम्किएको पनि धेरै वर्ष भएको छैन । सन्दीपको सफलतामा समीक्षाको ठूलो हात छ । सन्दीपलाई यो क्षेत्रका लागि सधैं हौसला दिइरहिन् उनले । सन्दीपलाई धेरैले प्रश्न गर्छन्, यो निकै घमन्डी स्वभावको छ नी ! उनले जवाफ दिईन्, ‘उहाँ दायाँबायाँ कुरा गर्न जान्नुहुन्न, सिधा बोल्ने स्वभावका कारण पनि त्यसो भनेका होलान् ।’
घरमा खाना समीक्षालेनै बनाउँछिन । समीक्षाले वनाएको खानाप्रति सन्दीपले कहिल्यै गुनासो भने गर्दैनन् ।‘मैले जे बनाएर दिए पनि मीठो मानेर खानुहुन्छ । नुन धेरै भएको होस् वा कम । एकदमै पिरो अचार होस् वा सामान्य खालको, उहाँ मज्जाले खाएर उठ्नुहुन्छ,’ समीक्षा भन्छिन् ।
सन्दीप घरमा जहिले जिस्कीएर वोल्छन् । समीक्षा हाँस्छिन् मात्र, धेरै वोल्दिनन् । यता सन्दीपलाई समीक्षाको यो कुरा मन पर्दैन । सन्दीप बोलिरहन्छन्, हँसाइरहन्छन् तर समीक्षा ठिक्क बोल्छिन्, एकदमै कम जिस्कन्छिन् । ‘मेरो स्वभाव नै त्यस्तै हो । धेरै बोलिरहने बानी छैन, तर उहाँ किन नबोलेको भनेर रिसाउनुहुन्छ, उहाँलाई खुसी बनाउन कुरामा कुरा मिलाएर बोलिरहनुपर्छ, हाँस्दै उनले भनिन् । सन्दीपले अहिलेसम्म एउटा कुरा कहिल्यै समीक्षालाई भनेका छैनन् ।
समीक्षाले भने त्यो कुरा आफैंले महसुस गरेकी छिन् । जव उनले यो कुरा बुझिन्, त्यसपछि उनले सधै लागू गरेकी छिन् । समीक्षाले रहस्य खोलिन्, ‘उहाँ विदेश वा धेरै दिनमा घर आउँदै हुनुहुन्छ भन्े म गेटमा पुग्नैपर्छ, अनि उहाँ एकदमै खुसी हुनुहुन्छ ।’ उनले भनिन्, ‘सायद त्यो माया होला ।’ समीक्षालाई एउटा कुराको भने गुनासो छ । सन्दीपले सरप्राइज दिन जानेका छैनन् । समीक्षा कहिलेकाहीं श्रीमान्ले सरप्राइज दिउन् भन्ने चाहना राख्छिन् । तिमीलाई म सरप्राइज स्वरूप यस्तो चिज ल्याउँदैछु हेर त भनेर फेसबुकमा फोटो पठाउनुहुन्छ, हाँसोको फोहोरा छोड्दै समीक्षाले भनिन्, ‘सरप्राइज त नभनीकनै अचानक दिने हो, जहिले पनि सरप्राइज दिन्छु भन्दै सुरुमै थाहा दिने स्वभाव छ उहाँको ।’