साप्ताहिक संवाददाता
अभिनेत्री आँचल शर्मा स्कर्ट लगाउँदैमा भल्गर नहुने बताउँछिन् । दर्शकहरूले नै अभिनेत्रीहरूबाट थोरै ग्ल्यामर्सको अपेक्षा गर्ने कारणले आफूहरूले त्यस्ता पहिरन लगाउनुपरेको उनको भनाइ छ । ‘दर्शकले अभिनेत्रीहरूबाट थोरै ग्लामरको अपेक्षा गर्नुहुन्छ,’ उनले भनिन् । स्कर्टले केटाहरूलाई नराम्रो सिग्नल दिन्छ भन्नेमा आफू सहमत नभएको आँचलको तर्क छ ।
आँचल ‘त्यो हेर्ने व्यक्तिको नजरमा पनि भर पर्छ । के साडी लगाउने, कुर्ता लगाउनेहरू बलात्कारको सिकार भएका छैनन् ? यो सम्बन्धित व्यक्तिको मानसिकतामा भर पर्ने कुरा हो ।’ आँचललाई महिलाप्रधान चलचित्रमा काम गर्ने रहर छ ।
‘म सशक्त नारी पात्रका रूपमा दर्शकको मन जित्न चाहन्छु,’ उनले भनिन् । अहिले आफूलाई मन पर्ने स्क्रिप्ट नआएकाले धेरै स्क्रिप्ट रिजेक्ट गरिरहेको आँचलले जानकारी दिइन् । आफूलाई जुनसुकैको एक्टरसँग अभिनय गर्न सहज हुने दाबी गर्ने आँचलले चलचित्र ब्ल्याकमा दर्शकले आफ्नो हस्की स्वर सुन्न पाउने खुलासासमेत गरेकी छिन् ।