साप्ताहिक संवाददाता
एक जमाना थियो गाउँघरमा भर्खर–भर्खर टेलिभिजन भित्रिँदै थिए । अहिलेको जस्तो सूचना–प्रविधिको विकास नभएकाले टेलिभिजन महत्वपूर्ण सञ्चारसाधन मानिन्थ्यो । रेडियोले राज गरेको जमाना थियो । सुन्न मात्र पाइने सञ्चार साधन भएका बेला दृश्य समेत हेर्न पाइने टेलिभिजनको आगमन क्रान्तिकारी छलाङ थियो ।
टेलिभिजनमार्फत समाचारदेखि विभिन्न हास्य टेलिश्रृंखलाहरू प्रसारण हुन थाले । विशेष गरी नेपाल टेलिभिजनबाट प्रसारण हुने जिरे खुर्सानी, मेरी बास्सै आदि हास्य टेलिश्रृंखला प्रसारण हुँदा सर्वसधारणहरू एक ठाउँमा भेला भएर टिभी हेर्थे । केही वर्ष टेलिभिजनका पर्दामा हास्य कलाकारहरूले सर्वसाधारणलाई निकै हँसाए, सबैको मन–मनमा राज गरे ।
यद्यपि इन्टरनेटसम्मको व्यापक पहुँच र स्मार्टफोनहरूको उपलब्धताका कारण हास्य टेलिश्रृखलाको स्वर्णिम युग अहिले संकटपूर्ण अवस्थाबाट ग्रुजिरहेको छ । व्यस्त जीवनशैलीका बीच आफूले चाहेको समयमा इन्टरनेटमा हेर्न सकिने भएकाले अहिले मानिसहरू टेलिभिजनमा झुम्मिन छाडेका छन्, जसको सीधा असर हास्य टेलिसिरियलमाथि पनि परेको छ ।
परिणाम नै मान्नुपर्छ, युट्युबमा हास्य टेलिसिरियल हेर्नेहरूको संख्या क्रमश: उकालो लागिरहेको छ । दर्शकहरूको फेरिएको ट्रेन्डका कारण हास्य व्यंग्य कलाकारहरू पनि त्यही ट्रेन्डलाई पछ्याउन हास्य सिरियलहरू युट्युबमै अपलोड गर्न थालेका छन् । टेलिभिजनहरूबाट प्रसारण हुने विभिन्न हास्य सिरियल युट्युबमा अपलोड हुनेबित्तिकै ट्रेन्डिङमा पर्छन् । हास्य टेलिसिरियलको टेलिभिजन युग क्रमस: युट्युब युगमा परिणत हुँदै गएको छ ।
टेलिभिजनमा बन्द
टेलिभिजनको घट्दो टीआरसीका कारण हास्य सिरियलहरू धमाधम बन्द हुन थालेका छन् । मिडिया हबले निर्माण गरिरहेको चर्चित हास्य टेलिश्रृखला मेरी बास्सै, भद्रगोल, जिरे खुर्सानी, ब्रेकफेल आदि अहिले प्रसारणमा छैनन् । टेलिभिजनसँगको करारको म्याद सकिएको र समयको पैसा पनि महँगो भएका कारण तत्कालका लागि हास्य श्रृंखलाको प्रसारण बन्द गरिएको मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल बताउँछन् । ‘असार ३१ गतेदेखि हाम्रो करार सकियो । नेपाल टेलिभिजनसँग हामीले अघिल्ला वर्षहरूमा जति पैसामा कार्यक्रम प्रसारण गर्दै आएका थियौं त्यो पनि महँगो भएकाले तत्कालका लागि हास्य टेलिसिरियलको प्रसारण बन्द गरेका हौं, टेलिभिजनले मूल्यमा हेरफेर गर्यो भने तुरुन्त प्रसारण गछौं,’ उनले भने ।
युट्युबमा चल्दै
अहिले पहिलेजस्तो कुनै पनि कार्यक्रम हेर्न टेलिभिजन नै कुर्नुपर्ने अवस्था छैन, जसले गर्दा मिडिया हबले नेपाल टेलिभिजनमार्फत प्रसारण गर्ने सिरियल बन्द भए पनि मेरी बास्सै, जिरे खुर्सानी, ब्रेकफेल, भद्रगोल आदिका नयाँ श्रृंखलाहरू युट्युबमा निरन्तर अपलोड हुँदै आएका छन् । युट्युबमा अपलोड भएका ती भिडियोहरूले उत्कृष्ट भ्युज पाउँछन् । अपलोड भएको केही समयमै कुनै पनि हास्य सिरियल ट्रेन्डिङमा पर्छन् । यसैगरी हास्यकलाकारहरूले पनि आफ्नै युट्युब च्यानलमार्फत विभिन्न हास्य सिरियल निर्माण गरेर युट्युबमा अपलोड गर्दै आएका छन् ।
हास्य कलाकार विल्सनविक्रम राई तक्मे बूढाले तक्मेबूढा डटकम युट्युब च्यानलमार्फत फुर्के सर्ट कमेडी भिडियो बनाएर १५ भागजति अपलोड गरे । उनले अपलोड गरेका भिडियोले राम्रो भ्युज पाएका छन् । यस्तै, उनले द टेबल टकको तीन एपिसोड युट्युबमार्फत सार्वजनिक गरिसकेका छन् । युट्युबमा निरन्तरता दिन आफूले विभिन्न भिडियो अपलोड गरेको राई बताउँछन् । चलचित्रमा व्यस्त भएकाले युट्युबमा खुलेर लाग्न नपाएको तक्मे बूढाको गुनासो छ ।
हास्यकलाकार केदार घिमिरे माग्नेबूढा पनि आमा अग्निकुमारी मिडिया युट्युब च्यानलमार्फत विभिन्न हास्य सिरियल अपलोड गर्छन् । उनले हास्य सिरियल गडबडीको ५३ भाग अपलोड गरेका थिए । त्यसभन्दा अघि उनले खासखुस, पुर्पुरो आदि हास्य सिरियल अपलोड गरेको थिए । यस्ता थुप्रै कमेडि भिडियोले युट्युबमा राम्रो स्थान पाउँदै आएका छन् भने हास्य विधाकै प्रांक भिडियो पनि युट्युबमा बग्रेल्ती पाइन्छ ।