साप्ताहिक संवाददाता
फरक–फरक प्रकारका रोबोट । बीचमा भएका ब्लक उठाएर राख्नुपर्ने प्रतियोगिता । मेक्सिकोमा सम्पन्न रोबोट ओलम्पिकको दृश्य हो यो, जसमा टिम नेपालसमेत सहभागी थियो । पहिलो खेलमा टिम नेपालले टिम नर्वे र टिम अर्जेन्टिनासँग मिलेर ६ सय १३ अंक ल्यायो । विपक्षी टिम मोरक्को, टिम अंगोला र टिम फ्रान्सको समूहले १ सय अंक मात्र ल्याउन सके । विश्वका १ सय ८० देशले भाग लिएकोमा नेपाल २ नम्बरमा रहन सफल भयो ।
दोस्रो खेलमा टिम नेपालले टिम इरिट्रिया र टिम डोमिनिकासँग मिलेर टिम रिपब्लिक अफ कंगो, टिम लेसोथो तथा टिम नर्थ अमेरिकासँग प्रतिस्पर्धा गर्यो । उक्त खेलमा नेपालसहितको टिम पहिलो भयो ।
तेस्रो खेलमा टिम नेपालले टिम साइप्रस र टिम उरुग्वेसँग मिलेर २ सय ९१ अंक ल्यायो । यस पटक नेपाल सहभागी समूहले टिम चिली, टिम पोर्चुगल तथा टिम बर्मुडालाई हरायो । यस पटक नेपाल १५ औं नम्बरमा रह्यो ।
चौथो प्रतिस्पर्धामा भने टिम नेपालले कठिनाईको सामना गर्नुपर्यो । रोबोटमा भएको मोटर बिग्रिएर त्यसले काम गर्न सकेन । एक घण्टाको समयमा टिम नेपालले मोटर फिक्स गर्न सकेन । त्यसपछि पाँचौ हुँदै आठौ गेम सम्म पनि टिम नेपालले राम्रो गर्न सकेन । यद्यपि सातांै र आठौं गेममा मोटरको समस्या समाधान भयो, तर नेपालले पहिले जस्तो उत्साहपूर्ण जित हासिल गर्न सकेन ।
उक्त गेममा टिम रोमानिया, टिम युएसए र टिम सिंगापुरले क्रमश: स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । नेपाली खेलाडीहरूको समूह अर्थात् टिम नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रोबोट प्रतियोगितामा सहभागी भएको हो र यो नै टिम नेपालका लागि महत्वपूर्ण रह्यो ।
टिम नेपालका तर्फबाट पाँच जना सहभागी हुन पाउने भए पनि तीन जना खेलाडीले भिसा प्राप्त गर्न सकेनन् । यसकारण टिम नेपालमा दुई जना मात्र सहभागी थिए । यसले गर्दा पनि आफूहरूलाई प्रतिस्पर्धामा उत्रिन गार्हो भएको सजिन श्रेष्ठले बताए ।
मेक्सिकोमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक ‘फस्र्ट ग्लोबल च्यालेन्ज’ मा शिशिर विश्वकर्मा, पृथ्वी चौधरी, सजिन श्रेष्ठ र सार्थक सेनको टिम सहभागी हुने तयारी गरिएको भए पनि अन्तिममा सजिन श्रेष्ठ र शिशिर विश्वकर्मा मात्र सहभागी हुन पाए । टिम नेपाललाई रोबोटिक्स एसोसिएसन अफ नेपालका सचिव बिनोद कँडेलले निर्देशन गरेका थिए ।
गत साउन २९ देखि भाद्र २ गतेसम्म चलेको उक्त प्रतियोगितामा १ सय ८० राष्ट्रका प्रतिनिधिले भाग लिएका थिए । गत वर्षदेखि प्रारम्भ भएको यो प्रतिस्पर्धामा नेपाल पहिलो पटक सहभागी भएको हो ।
प्रतियोगितामा नेपालका लागि लाग्ने प्रवेश शुल्क करिब २० लाख मिनाहा गरिनुका साथै प्रतियोगीहरूका लागि जाने, आउने र बस्नेसम्पूर्ण खर्च आयोजकहरूले नै बेहोरेका थिए । त्यसैगरी रोबोट निर्माणका लागि आवश्यक किट समेत उपलब्ध गराइएको थियो । टिम नेपालका लागि यो नै मुख्य उपलब्धि भएको र पहिलो पटक यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु नै खुसीको कुरा भएको रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरुङले बताए । यो सहभागिताले आगामी दिनमा विशेष तयारीका साथ अघि बढ्न हौसला प्रदान गरेको उनको तर्क थियो ।