साप्ताहिक संवाददाता
कुखुराको छाला नभएको मासुलाई स–साना टुक्रामा काट्ने । मासुको मात्रा अनुसार बेसार, नुन, धूलो खुर्सानी, मरिचको धूलो तथा एक चम्चा सोया सस हालेर मोल्ने अनि १५ मिनेट जति छोपेर राख्ने । सिलौटा वा ग्राइन्डरमा उसिनेको गोलभेंडा, अदुवा, लसुन तथा रातो खुर्सानी पिँध्ने ।
प्यान वा कराईमा थोरै तेल हालेर मोलेर राखिएको कुखुराको मासु हाली खौरो नहुन्जेल चलाउँदै पकाउने । खैरो भएपछि उक्त कुखुराको मासुलाई अर्को भाँडोमा खन्याउने । कुखुराको मासुमा पिँधेर राखेको मसलाको पेस्ट हाल्ने । कागतीको दुई चम्चा रस, मसिनो गरी छड्के काटिएको प्याज, मसिनो गरेर काटिएको धनियाँ, हरियो लसुन तथा हरियो खुर्सानी पनि मिसाइदिने । स्वादअनुसार नुन–खुर्सानीको धूलो तथा बेसार हाल्ने ।
अर्को प्यानमा तेल तताएर मेथी फुराउने अनि मासु झान्ने । यसरी झानेपछि चम्चाले राम्रोसँग चलाउने । यो परिकार निकै चटपटे हुन्छ । यसलाई यत्तिकै पनि खान सकिन्छ भने बियर वा ड्रिंक्समा स्न्याक्सका रूपमा समेत प्रयोग गर्न सकिन्छ ।