साप्ताहिक संवाददाता
चलचित्र मेरी मामु आजदेखि देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्र देशका ८० भन्दा बढी हलमा एकसाथ प्रदर्शन हुनेछ । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत–२ जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनले झन्डै २ करोडको लगानीमा यो चलचित्र निर्माण गरेका हुन् ।
मेरी मामु घोषणा भएको तीन महिनामै प्रदर्शनका लागि तयार भएको हो । काठमाडौं, ललितपुर, चितवन आदि स्थानमा छायांकन गरिएको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन । यो चलचित्रको सम्पादन बनिश शाह तथा भूपेन्द्र अधिकारीले गरेका हुन् । रोचक त के छ भने चलचित्र मेरी मामुकै लागि थाइल्यान्डबाट गोल्डेन रेटिभ जातको महँगो कुकुर ल्याइएको थियो ।
आमा र छोराबीचको सम्बन्धमा केन्द्रित चलचित्र मेरी मामु एउटा कलिलो उमेरको बालकको मनोविज्ञानमा आधारित भएको निर्देशक याम थापाले बताएका छन् । बच्चा र आमाबीचको दूरीका कारण उनीहरूमा देखिने समस्या इलेक्ट्रा कम्प्लेक्सलाई यो चलचित्रले उठान गरेको छ ।
निर्देशक : याम थापा कलाकार : आयुव सेन, सारुक ताम्राकार, कुसुम गुरुङ, क्रिजन गौतम, अश्लेषा ठकुरी आदि । संगीत : कल्याण सिंह