चितवन जिल्लाको रामपुर कृषि तथा पशु विज्ञान विषयको अध्ययनका लागि देशभर नै चिनिएको छ । रामपुरमा वि.सं. २०२९ सालदेखि कृषि क्याम्पस सञ्चालनमा आएको हो । यहाँ पहिले त्रिभुवन विश्व विद्यालयअन्तर्गतको केन्द्रीय कृषि क्याम्पस थियो । वि.सं. २०६७ मा कृषि तथा वन विश्व विद्यालय ऐन जारी भएपछि रामपुर क्याम्पसले कृषि तथा वन विश्वविद्यालयका रूपमा फड्को मार्यो । कृषि विश्वविद्यालयमा वि.सं. २०६९ सालदेखि अध्यापन प्रारम्भ भयो । रामपुरमा कृषि, पशु चिकित्सा तथा माछा विज्ञानमा स्नातकदेखि विद्यावारिधि (पिएचडी) सम्मको अध्ययन–अध्यापन हुन्छ ।
विज्ञान विषय लिएर १२ कक्षा उत्तीर्ण गरेकाहरूले कृषि, पशु चिकित्सा तथा माछा विज्ञान अध्ययन गर्न सक्छन् । कृषि तथा वन विश्व विद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकालका अनुसार रामपुरमा कृषिका लागि स्नातक तहमा १ सय ६५ जना भर्ना हुन पाउँछन् । त्यसैगरी पशु चिकित्सा विषयमा ५० जना तथा माछा विज्ञानमा १६ जना भर्ना हुनसक्ने ढकालले जानकारी दिए । ए र बी ग्रेडमा उत्तीर्ण भएकाहरू कृषिको प्रवेश परीक्षामा सामेल हुन सक्ने उनले बताए । प्रवेश परीक्षा पाँचवटा विषयमा हुन्छ । कक्षा १२ उत्तीर्ण भएर विश्व विद्यालयले लिने फिजिक्स, बायोलोजी, केमेस्ट्री, अंग्रेजी तथा गणित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरेकाहरू भर्ना योग्य ठहरिन्छन् ।
विश्व विद्यालयले दसैंलगत्तै प्रवेश परीक्षाको सूचना निकाल्छ । मंसिरको पहिलो हप्ताभित्र प्रवेश परीक्षा हुने उपकुलपति ढकालले जानकारी दिए । पशु चिकित्सामा स्नातक पुरा गर्न पाँच वर्ष लाग्छ । कृषि तथा माछाको कोर्स चार वर्षमा पूरा हुन्छ । नेपाल कृषि प्रधान देश हो । कृषिको विषयमा प्राविधिक ज्ञान दिन मात्र होइन, अनुशन्धान र अनुसन्धानबाट आएका कुरा किसानसमक्ष पुर्याउने उद्देश्यले कृषि विश्वविद्यालयको स्थापना भएको हो ।
कृषि पढ्नेहरूले पनि एक सेमेस्टर अर्थात् ६ महिना किसानको खेतमै बिताउने उनले बताए । पहिले पशु चिकित्सामा मात्र यो व्यवस्था थियो । कृषि विश्वविद्यालयले कृषि अध्ययनमा पनि यस्तो कामको सुरुवात गरेको छ । शिक्षा, अनुसन्धान तथा अनुशन्धानको प्रशार अर्थात अनुसन्धानबाट प्राप्त नतिजालाई किसानको खेत–गोठसम्म पुर्याउने तीनवटै काम गर्न कृषि विश्व विद्यालयले भूमिका खेल्ने गरेको छ ।
कृषिका लागि प्रतिसेमेस्टर (६ महिनाको) ४ हजार ५ सय रुपैयाँ शुल्क रहे पनि केही सिट बढी शुल्क तिरेर समेत पढ्न सकिन्छ । विद्यार्थीले माछा विज्ञान तथा कृषिमा स्नातक तहको कोर्स पूरा गर्दा थप १ लाख ७० हजार रुपैयाँ बुझाउनुपर्छ भने पशु चिकित्सा अध्ययनका लागि ३ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्छ ।
‘सबै कुराले कृषि विषय अध्ययनमा रुचि बढेको छ’ उपकुलपति ढकालले भने । यहाँ पढेर विदेश गएकाहरूले पनि धेरै राम्रो काम पाइरहेको उनले बताए । यहाँ पढाइ पूरा गरेकामध्ये २५ प्रतिशत देश बाहिर जाने गरेका छन् । ‘बाहिर गएकाहरूले पनि त्यहाँ आफुलाई अब्बल सावित गर्दै आएका छन् । हाम्रो शिक्षा विश्व स्तरकै छ । त्यसैले यहाँ भर्ना हुन चाहनेहरूको भीड लाग्छ,’ ढकालले भने । कृषिमा रामपुरमा १ सय ६५ जना भर्ना गरिए पनि अन्य चारवटा आंगिक क्याम्पस सुरु भएको र त्यहाँ ५०/५० जनाका दरले २ सय विद्यार्थी भर्ना हुनसक्ने ढकालले बताए ।