साप्ताहिक संवाददाता
काठमाडौं उपत्यकाको सार्वजनिक सवारी साधनका बारेमा जानकारी प्रदान गर्न एनसेलले रामलक्ष्मण इनोभेसन्ससँग सहकार्य गर्दै ‘लेट्ज गो’ नामक मोबाइल एप तयार पारेको छ । उक्त एपमार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बसहरू हाल कहाँ छन् र आफूले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफूलाई पायक पर्ने बिसौनीमा आइपुग्छ भन्ने जानकारी प्राप्त गर्न सक्छन् ।
सुरुवाती चरणमा यो एपले काठमाडौं उपत्यकाका १ सय ८ वटा रुटमा सञ्चालनमा रहेका ६ सयभन्दा बढी सार्वजनिक सवारी साधनका बारेमा जानकारी प्रदान गर्नेछ । सवारी साधनको जानकारी सम्बन्धित सवारी साधनमा जडान गरिएको जीपीएस ट्रयाकिङ प्रणालीका आधारमा प्राप्त हुने बताइएको छ । एप प्रयोगकर्ताले आफूलाई पायक पर्ने बस बिसौनीमा आफू सवार हुने रुटको बस नजिक आउँदा अलर्ट प्राप्त गर्ने सुविधा पनि आफैं राख्न सक्छन् ।